Comments Add Comment

सेयर कारोबार संख्यामा निरन्तर शिथिलताः खरिद–बिक्री एक प्रतिशतभन्दा कम

एकबाट अर्को व्यक्तिमै पुग्दैन कारोबार !


८ फागुन, काठमाडौं । नेपाली सेयर बजार ओरालो मात्र लागेको छैन, कारोबार संख्यामा समेत शिथिलता देखिन थालेको छ । गत साउनमा कुल सूचीकृत सेयरको एक दशमलव पाँच प्रतिशतभन्दा बढी कारोबार हुन थालेकामा हाल यो दर एक प्रतिशतभन्दा कममा खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार गत साउनमा दुई अर्ब ९८ करोड सेयर सूचीकृत भएकामा चार करोड ५७ कित्ता कारोबार भयो । यसको अर्थ  मासिक एक दशमलव पाँच प्रतिशत मात्र सेयर खरिद–बिक्री भयो ।

गत पुसमा भने तीन अर्ब ३७ करोड सेयर सूचीकृत रहेकामा दुई करोड २६ लाख कित्ता मात्र कारोबार भयो । र, कारोबार संख्या शून्य दशमलव ६७ मा झर्‍यो ।

‘कारोबार घटेको र बजार स्थिर भएको समयमा यस्तो गिरावट स्वाभाविकै हो,’ एक ब्रोकर भन्छन् । बैंकहरुमा देखिएको पुँजी अभावका कारण कर्जाको व्याजदरमा वृद्धि, ऋण लिन असहज अवस्था, निक्षेपको व्याजमा बढोत्तरी र बजारमा बढ्दो सेयर आपूर्ति चापले पनि बजार घट्दो क्रममा देखिँदै आएको हो ।

भदौयता ३८ करोड ६६ लाख कित्ता नयाँ सेयर बजारमा थपिएका छन् । यद्यपि, नयाँ सरकार गठनको आशाले बजारमा केही सकारात्मक प्रभाव देखिएको छ ।

दोस्रो व्यक्तिमै पुग्दैन कारोबार !

सेयर कारोबार अनुपातले एउटा कित्ता कति जनाको हातमा पर्‍यो भन्ने संकेत दिन्छ । नेपालको यस्तो अनुपात शून्य दशमलव ००५ मा सीमित छ ।

१६ खर्ब ७१ अर्ब रुपैयाँको बजारमा गत पुसको तथ्यांक केलाउँदा मासिक १० अर्ब रुपैयाँको सेयर कारोबार हुने गरेको छ । सिद्धान्ततः यसले एउटा व्यक्तिको स्वामित्वमा रहेको सेयर अर्कोको स्वामित्वमै पुग्न नसकेको अर्थ पनि दिन्छ ।

अल्पविकसित मानिने नेपाली सेयर बजारको हकमा यसको अर्थ हुन्छ, बजार निकै सानो आकारमा सीमित छ ।

हुन त, नेपाली बजारको आकार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ७० प्रतिशतबराबर छ । नेपालको कुल जीडीपी २३ खर्ब रुपैयाँको मान्ने गरिएको छ । तर, सेयर बजारमा कुल जनसंख्याको तीन दशमलव ४७ प्रतिशत मानिस मात्र संलग्न छन् ।

नेपाल सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार डिम्याट खाता खोल्ने सेयरधनी १० लाख छन् ।

 जीडीपीको ७० प्रतिशतको सेयर बजारमा कुल जनसंख्याको तीन दशमलव ४७ प्रतिशत मानिस मात्र संलग्न

यो अनुपातले बजार विकसित भइनसकेको संकेत पनि दिन्छ । नेपालका सन्दर्भमा पनि यसले यही कुरा स्थापित गर्छ । कुल कारोबार रकमलाई कुल बजार पुँजीकरणले भाग गरेर यस्तो अनुपात निकालिन्छ ।

यो अनुपातले सेयर बजार कति प्रभावकारी छ भन्ने जानकारी पनि दिन्छ । यो अनुपात जति धेरै भयो, उति राम्रो मानिन्छ । र, कुनै पनि मुलुकको सेयर र वित्तीय बजार कति सुदृढ छ भन्ने पनि संकेत गर्छ ।

यही अनुपातका आधारमा नेपाली सेयर बजार अन्य मुलुकसँग तुलनायोग्य देखिँदैन । बर्मुडा, केमन आइल्यान्ड, लक्जेमवर्गजस्ता मुलुकको यस्तो अनुपात एकभन्दा कम छ । तर, छ नेपालको भन्दा उच्च ।

यस्तै, विश्व बैंकको सन् २०१६ को तथ्यांकअनुसार चीनको यो अनुपात दुई सय ४९ छ, भारतको भने ५० मात्र । विश्व बैंकले नेपालको यस्तो दर उल्लेख गरेको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment