Comments Add Comment

‘कृषि उत्पादनमा हैन, भण्डारण-प्रशोधनमा विदेशी लगानी भित्राऊ’

२९ फागुन, पोखरा । नेपालको हित र अनुकुल भएमात्र कृषिमा बैदेशिक लगानी भित्राउनुपर्ने सरोकारवालाहरुले बताएका छन् । त्यसरी भित्राउँदा पनि उत्पादनमा भन्दा पनि उत्पादन पश्चात गरिने भण्डारण, प्रशोधन, प्याकिङ, ग्रेडिङ लगायतमा लगानी भित्राउनुपर्ने उनीहरुको जोड थियो ।

मंगलबार भएको कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले कृषिमा वैदेशिक लगानी भित्राउनु आवश्यक जस्तै भएपनि त्यो प्रशोधन, बजारीकरण लगायतमा गरिनुपर्ने बताए । उत्पादनका प्राथमिक चरणमा वैदेशिक लगानी भित्राएमा कृषिमा आत्मनिर्भरता हटेर परनिर्भरतातर्फ जानसक्ने उनको चेतावनी छ । उनले देशको अर्थ व्यवस्थाको मेरुदण्ड मध्येको एक कृषिलाई रुपान्तरण गर्न नसके समृद्धिसमेत सम्भव नभएको ठोकुवा गरे ।

जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले स्थानिय श्रोत, साधन, सीप र श्रममा विदेशीको पहुँच नपुग्नेगरी वैदेशिक लगानी भित्राउनुपर्ने बताए । बैदेशिक लगानी भित्राउँदा नेपालको श्रम, सीप, श्रोत र साधन बिस्थापित हुन नहुने उनको भनाई थियो । साथै उनले समन्वय गर्ने जिम्मा कुनै एउटा निकायलाई नदिई स्थानिय तहलाई अधिकार दिदा दुर्घट्ना निम्तिने चेतावनी दिए । उनले स्थानिय तहलाई समन्वय गर्ने जिम्मा जिल्ला समन्वयलाई दिए त्यो उत्तम हुने र त्यसको लागि आफूहरु तयार रहेको बताए ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रविधीका लागि वैदेशिक लगानी भित्राउन सकिने बताए ।

कृषिका लागि लगानीमैत्री वातावरण बनाउन सके लगानीको समस्या नरहेको दाबी गर्दै उनले भने, ‘हाइड्रोपावर वा वैंकको शेयर खोल्दा त्यसको १० गुणा बढी आवेदन पर्छ, अब त्यसलाई कृषिमा तान्नुपर्छ, त्यसका लागि कृषिमा लगानीमैत्री र विश्वासिलो वातावरण बनाउनुपर्छ ।’

निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गर्नुपर्ने भन्दै उनले महानगर भित्रका जमिन बाँझो राख्न नदिने नीति महानगरले लिएको जानकारी दिए । जग्गा उपलब्ध गराउन, मानवीय श्रोत साधन तयार गर्नेदेखि उत्पादित सामग्रीको बजारीकरणको ज्ञारेन्टीसम्म महानगरले गर्ने तर, उत्पादनका लागि कृषक आफैं लाग्नुपर्ने बताए ।

प्रदेश नम्बर ४ का कृषि मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले स्थानीय र नेपालको हितमा भए वैदेशीक लगानी भित्राउने नत्र निशेध गर्ने नीति अवलम्वन गर्नुपर्ने बताए । वैदेशिक लगानी अत्यावश्यक नभइसकेको जिकिर गर्दै बरु सामुहिक र सहकारी खेतीमा जाने हो भने कृषि क्रान्ति गर्न सकिने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय किसान आयोगका सदस्य सचिव तेजबहादुर सुवेदीले उत्पादनका प्रारम्भिक चरणमा भन्दा उत्पादित सामग्रीको प्रशोधन र बजारीकरणमा बैदेशिक लगानी भित्राउन उपयुक्त हुने बताए ।

यद्यपि सुरक्षित लगानीको ज्ञारेन्टी र सहज वातावरण नभएसम्म वैदेशिक लगानी भित्राउन मुश्किल रहेको उनको निश्कर्ष थियो ।

अर्को कार्यपत्र प्रस्तुतकर्ता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका बासुदेव काफ्लेले थ्री ‘पी’ अर्थात -पव्लिक प्राइभेट पार्टनरसीप) नीति अवलम्वन गरेर स्वदेशी लगानीलाई नै आकषिर्त गर्नु अति उत्तम हुने बताए ।

कृषि विज्ञ बेनीबहादुर बस्नेतले वैदेशिक लगानी भित्राउन डराउन नहुने बताए । यद्यपि नेपाली क्षमता र विद्धताको प्रयोगमा पनि ध्यान दिइनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment