Comments Add Comment

कर्णालीका मुख्यमन्त्री भन्छनः राम्रा कुर्सी छैनन्, चौरमै बसेर योजना बनाइरहेका छाैं

कर्मचारी छैनन् कसरी प्रदेश बन्छ ?

३० फागुन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अभावै अभावका बीच काम गरिरहेको बताएका छन् ।

प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी समेत नहुँदा पनि काम गरिरहेको मुख्यमन्त्री शाहीले बताएका छन् ।

कर्णाली प्रदेशमा कार्यालयको व्यवस्था र कुर्सीको व्यवस्था नभएपनि जनताको विकासको लागि आफूहरु दत्तचित्त भएर अहिले लागिपरेको शाहीले सुनाए । ‘ठूला र राम्रा कुर्सीमा बसेर पनि योजना बनाउने होइन, योजना त हामी चौरमा बसेरपनि गर्छौं ‘ मुख्यमन्त्री शाहीले भने ।

आफूहरु अहिलेपनि क्षेत्रीय कार्यालयको भवनमा बसिरहेको उनले बताए । ‘पर्याप्त भवन छैनन्, जीसीसीको हलमा सभा चलाइरहेका छौं’ मुख्यमन्त्री शाहीले भने, ‘भित्र सांसदपनि सँगै, पत्रकार पनि सँगै र दर्शक पनि सँगै हुन्छौं, एउटा सानो कोठा छ, हामी भित्र निर्णय गर्दा जे-जे भन्छौं, पत्रकार पनि त्यही भन्नुहुन्छ ।’

कणर्ाली प्रदेशमा २१५ कर्मचारी दरबन्दी रहेपनि अहिलेसम्म ११० जनामात्रै पुगेका भन्दै मुख्यमन्त्री शाहीले भने,’ कर्मचारी प्रदेशमा जानै चाहँदैनन्, अरु त परै जाओस्, सचिव पनि पुगेका छैनन् । विकास निर्माणमा सबैभन्दा महत्वपूर्ण मानिएको भौतिक पूर्वाधार मन्त्रालयमा त सुव्बा पुगेका थिए । उनी पनि अहिले काठमाडौं नै फर्किएका छन्, तर हामीले काम रोकेका छैनौं, आउनुपर्ने अरु कर्मचारी कता छन्, थाहा छैन ?’

रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्री शाहीले काम गर्ने कर्मचारी नै नहुँदा कसरी प्रदेश बन्छ भन्दै केन्द्र सरकारलाई प्रश्न समेत गरेका छन् ।

‘यसको लागि बरु संविधान संशोधन गर्नुपर्छ, प्रदेशलाई अधिकारसम्पन्न गराउनुपर्छ, कर्मचारीहरु प्रदेशमा जान मान्दैनन्, उहाँहरुलाई घटुवा भएको र अपमानित भएको महशुस गर्नुभएको छ, प्रदेश सांसद पनि निरुत्साहित हुनुभएको छ, प्रदेशको मुख्यमन्त्रीको तल बसेर सचिवहरु काम गर्न मानिरहेका छैनन् ।’

कर्मचारी नहुँदा पनि आफूहरुले कुनै काम नरोकेको मुख्यमन्त्री शाहीले सुनाए । ‘म लगायत मन्त्रीहरु विहान ११ बजेदेखि राति १२, १ बजेसम्म काम गर्छौं,’ उनले भने, ‘हामी अहिले प्रदेशको विकास र समृद्धि हासिल गर्नको लागि गुरुयोजनाहरु बनाइरहेका छौं, छिट्टै मास्टर प्लान सार्वजनिक गर्छौं ।’

५२ प्रतिशत जनता अहिलेपनि गरीबीको रेखामुनी रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा ठूला चुनौती रहेको भन्दै चुनौतीको सामना सहित प्रदेश समृद्ध बनाउन लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment