Comments Add Comment

काठमाडौंले फालेको फोहोरमा बालबालिकाको खुशी !

दुई विश्वयात्रीले ल्याए कागती गाउँमा परिवर्तन

१९ चैत, नुवाकोट । पाउरोटी बेच्नेजस्तो टिनको बाकस जोडिएको मोटरसाइकल । एकजना सेतो छाला भएका युवक अनि अर्को कालो वर्णका । बिगारेर मिलाएको जस्तो लवाइ । भाषा नबुझ्नेसँग पनि गफिन्छन् उनीहरु ।

विश्वयात्रामा निस्केका यी दुई यात्रीको सोच छ- जहाँ जे सकिन्छ । त्यही गर्ने । विश्वभर शान्ति र एकताका लागि खुसी बाँड्ने । मानिसमा आशा जगाउने, बाँच्न प्रेरणा दिने ।

एक हुन्, २७ वर्षे क्यानडाका बेन रिड हवेल्स । र, अर्का २८ वर्षका भारतका प्रशान्त कुमार ।

अरुको परवाह गर्न आफू बेपरवाह हिँडिदिन सक्ने खुबी उनीहरूमा मिल्छ । अर्को मिलेको शोख छ, ‘मोटरसाइकल’ । यसैले त वर्षौंको यात्रा तय गर्न निस्किएका छन् यी दुबै यात्रीहरु ।

तीन वर्षअघि भारतका भेटिएका उनीहरू गएको १७ दिनदेखि नेपालमा छन् । उनीहरूको विश्व यात्रा मोटरसाइकलमा घुम्नुमा सीमित छैन । ‘वसुधैव कुटुम्बकम’ अर्थात् विश्व एक परिवारको मर्म अनुरुप मानिसहरूलाई एकअर्कामा जोड्दै छन् । यसैले उनीहरूले यात्राको नाम राखेका छन्, ‘वसुधैव राइड’ ।

यसरी भेटिए कागती गाउँमा

नुवाकोटको कागती गाउँ । काठमाडौंको फोहोर लगेर मिल्काउने ओखरपौवा नजिकै । राजधानीबाट झण्डै १५ किलोमिटर भित्र राजधानीका ‘सुग्घरी’ले मिल्काएको फोहोरमा केही दिन हराए उनीहरू । काम नलाग्ने ठानिएको वस्तुमा काम देखे । साना-साना ढुंगा र माटोको खेलमा हराएका बालबालिकालाई रमाउने भिन्न मेसो मिलाइदिए यी दुई ‘फिरन्ते’हरुले  ।

प्रायः काठमाडौंका बोर्डिङ स्कूलमा मात्र देखिने खेलमाध्यम गाउँको भत्कन लागेको विद्यालयमा पुर्‍याइदिए उनीहरुले । त्यो पनि काम नलाग्ने भनिएका वस्तुलाई काम लगाएर । बिगि्रएका टायर, साना फलामका टुक्रा, काठ, टिनको बाकस प्रयोग गरेर उनीहरूले ‘श्री भवानी माध्यमिक विद्यालय’मा ‘प्ले ग्राउण्ड’ बनाइदिएका छन् ।

उनीहरूका साथमा काठमाडौंबाट जोडिए केही युवा । उनीहरूमध्ये एक हुन्- रोमस शिवाकोटी । ‘सानो-सानो खुसी बाँडिरहेका छन् । यिनीहरूको ‘प्यासन’ राम्रो छ । अरुका लागि केही गर्ने सोच देखेर सहयोग गर्न मन लाग्यो । यहाँ प्रयोग भएको प्राय सामान रिसाइकलमा जाने सामन नै हो । के सामानले भन्दा पनि के गरे भन्ने मुख्य हुन्छ । १०/१२ दिन हामी पनि खटेर काम गर्‍यौँ । अहिले बच्चाहरू खुसी भएर खेलिरहेका छन्’ कागती गाउँमै भेटिएका उनले भने ।

कोही पिङमा छन् । कोही सुरुङमार्गजस्तोबाट निस्किरहेका छन् । चिप्लेटी र चाकाचुलीमा रमाउने पनि उत्तिकै छन् । यी सबै खेल यिनीहरूले खेल्न पाएको दुई दिन भयो । यसैले होला ‘पहिले को ?’ भन्ने मेसो मिलाउन ४ सय विद्यार्थी रहेको स्कूलमा निकै सकस थियो ।

विसं २०१८ सालमा सुरू भएको विद्यालय भए पनि ‘श्री भवानी’मा खेल्न मिल्ने मैदानसम्म छैन । यसैले साँघुरो भिरालो मैदानको एक छेउमा बेन र प्रशान्तको पहलमा बनाइएको खेल सामग्रीमा बालबालिका झुम्मिएका छन् ।

‘स्कूलमा बल त थ्यो, तर बल खेल्न त नौ कक्षा पुगेपछि मात्र दिन्छ । हामी त पहिला रबर मात्र खेल्थ्यौं । अहिले खेल्ने कुरा धेरै पाइयो’ ५ कक्षामा पढ्ने राम बलामीले खुसी सुनाए ।

रामजस्तै अरू पनि ढुंगा जम्मा पारेर खेल्थे, माटोमा चिप्लिन्थे कि त रबरको चुंगीमा रमाउँथे ।

‘पैसा नहुँदैमा बालबालिकाले खुसी हुन नपाउनु हुँदैन । यो उमेरमा यिनीहरू खेले भने अरू कुरामा पनि राम्रो बन्ने छन् । यसैले काम नलाग्ने चिज खोजेर प्रशान्तको आइडियामा यस्तो बन्यो । अहिले खुसी लागेको छ’ बेनले भने, ‘यी बच्चाहरूले खेलेको हेरिरहँदा म आफैं खेलिरहे जस्तो लागेको छ । यसले फोहोरबाट केसम्म गर्न सकिन्छ भन्ने देखाएको छ । राम्रो खेल्ने अधिकार सबै बालबालिकामा हुन्छ र त्यो सम्भव पनि छ ।’

‘हामीले गरेका काम मध्येको यो सबैभन्दा सन्तुष्टि दिएको काम हो । बनाउँदै गर्दा जे सोचिएको थियो, त्योभन्दा ठूलो सफलता मिल्यो । खेलिरहेका हरेक बालबालिकाको अनुहारमा जुन मुस्कान देखिएको छ, त्यसमा हाम्रो कामको सफलता देखिन्छ । म यी बालबालिकाको अनुहारमा फूलेको मुस्कानमा जीवन देख्छु,’ प्रशान्तले भने ।

उनी भारतमा फोहोरको पुनः प्रयोग गरेर नयाँ नयाँ चिज बनाउन प्रख्यात छन् । उनले फोहोर भनेर फालिएका चिजबाट साना नानीको अनुहारमा खुसी फुलाउन सक्नु ठूलो कुरा लागेको बताए । ‘फोहोरलाई फोहोर नभई कच्चा पदार्थको रुपमा हेर्न सकियो भने आइडिया त जति पनि आउँछ । यसको एउटा नमूना मात्रै हो यो’ उनले भने ।

यो बनाउन कति खर्च भयो त ? एकीन यति नै खर्च भयो भन्ने हिसाब छैन । किनकि काम नलाग्ने वस्तुको प्रयोग र श्रमदानमा काम भयो ।

‘विद्यालयले उहाँहरूलाई २५ हजार रुपैयाँ दिएको हो । त्यतिले त के हुन्छ र । खाल्डोमा प्रयोग गर्न केही गिटी बालुवा र सिमेन्ट भने प्रयोग भएको छ । वेल्डिङको काममा त्यो रकमले सहयोग भयो’ विद्यालयका प्रधानाध्यापक खडानन्द खप्तडीले बताए, ‘बालबालिका रमाएर खेलिरहेका छन् । खेल सामाग्रीको महत्व उनीहरूमा निकै हुन्छ । खुसी लागेको छ । बिहानैदेखि सबै यहीँ झुम्मिन्छन् । व्यवस्थापन गर्न भने अप्ठेरो छ ।’

यसभन्दा पहिले

तीन वर्षअघि भारत बिहारका प्रशान्त आफ्नै काममा व्यस्त थिए । फोहोरबाट केही नयाँ बनाउने उनको रुचि हो । पढाइले डिजाइन इन्जिनियर पनि । उनले कसरी पढ्ने ? कसरी पढाउने ? हरेक क्षेत्रमा दक्ष व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर विभिन्न क्षेत्रमा अनौपचारिक शिक्षा दिँदै हिँड्ने बेनलाई भेटे । उनीहरूको परिचय भयो ।

कुराकानी र भेटघाटसँगै तय भयो-मोटरसाइकलमा भारतदेखि स्कटल्याण्ड जाने । ‘भारत प्रशान्तको घर र मेरो आमाको घर स्कटल्याण्ड भएकाले हामीले यही स्थान रोज्यौँ’ बेनले भने ।

उनीहरूको यात्राको मुख्य उद्देश्य तय भयो- आशा । मानिसहरूमा आश जगाउने । सबैतिर नकरात्मक कुरा हाबी भइरहेकाले केही सकारात्मक सन्देश दिन चाहेको उनीहरुको भनाइ छ ।

कागती गाउँमा काम गर्नुअघि उनीहरुले भिन्नाभिन्नै तीनवटा क्षेत्रमा यस्तै काम गरिसकेका छन् । भारत बिहारको बाढी प्रभावित क्षेत्रमा कम खर्चमा राम्रो र बलियो घर बनाए ।

राजस्थानमा रक्सीको बोतल र माटो प्रयोग गरेर सामुदायिक केन्द्रको भवन बनाए । मुम्बईको एक सामुदायिक विद्यालयमा इकोसिस्टम, फोहोरको पुनः प्रयोग र शान्तिका लागि सिकाइमा आधारित रहेर कक्षा पनि लिए ।

६० हजार किलोमिटर मोटरसाइकलमा

बेन र प्रशान्त मोटरसाइकलमा विभिन्न २५ देशको यात्रा गर्दै छन् । उनीहरूको यात्रा दुई वर्षमा झण्डै ६० हजार किलोमिटर पुग्ने तय भएको छ । गएको वर्ष माघमा सुरु भएको यात्रामा एक वर्ष उनीहरु भारतमै रहे ।

बाँकी एक वर्षमा उनीहरू नेपालबाट स्कटल्याण्ड पुग्ने छन् । ‘बिहार पोजेक्टले गर्दा भारतमा धेरै समय लाग्यो । त्यहाँ गरेको काम पनि ठूलो छ । अब यसरी नै सहजरुपमा यात्रा बढाउने छौँ’ प्रशान्तले भने ।

यात्रामा उनीहरू मानवीय पक्षसँग जोडिने छन् । ‘मानिसहरूमा खुसी बाँड्ने र राम्रो कामका लागि आश जगाउने काम पनि साथसाथै गर्ने छौँ’ बेनले भने । धेरै सामान बोकेर हिँड्न सम्भव नहुने र कति ठाउँमा अप्ठेरो बाटो हुँदा समस्या रहने उनीहरुको अनुभव छ ।

मानिसहरूको सहयोग अहिलेसम्म सबै ठाउँमा पाएका उनीहरुले बताए । ‘नेपालमा पाएको आतिथ्य त भारतमा भन्दा राम्रो लाग्यो । धेरै कुरामा उता र यता फरक पाइनँ, तर यहाँका मान्छे मनदेखि स्वागत गर्छन्, निकै माया गर्छन्’ प्रशान्तले भने ।

उनीहरुले यात्राका लागि सबैतिर सहयोग पाएका छन् । भारत पुनेमा गीत गाएर पनि उनीहरुले रकम संकलन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment