Comments Add Comment

बहसमा समावेशिताः बाहुन र दलितदेखि ‘चोर’को कवितासम्म !

एउटै मञ्चमा चैतन्य मिश्र, सीके लाल र कृष्ण भट्टचन

२२ चैत, काठमाडौं । युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खसआर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि नेपाली राजनीतिमा ठूलै तरंग आयो । परराष्ट्र मन्त्रालय मात्र होइन, प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले सार्वजनिक मञ्चमा उभिएरै ईयूलाई खबरदारी गरे ।

ईयूको प्रतिवेदनको अपवादबाहेक सबैले आलोचना गरे । कसलाई आरक्षण दिने र कसलाई नदिने नेपालको आन्तरिक मामिला हो र यो नेपालीहरु आफैं यो निर्धारण गर्न सक्छन् भन्ने आवाज जोठतोडका साथ उठ्यो ।

तर, ‘ईयू प्रकरण’ ले नयाँ संविधान जारी भएसँगै समाधान भएको मानिएको समावेशिताको मुद्दालाई फेरि बहसमा ल्याएको छ । बिहीबार नेपाल पर्यटन बोर्डको सभाहलमा भएको छलफल यसैको एउटा उदाहरण हो, जसको संयोग जुराएको थियो डा. रमेश सुनामको पुस्तक ‘समावेशिताको बहस’ पुस्तकले ।

बहसमा समाजशास्त्री चैतन्य मिश्र, कृष्ण भट्टचन, विश्लेषक सीके लाल, मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीका साथै एमाले सचिवसमेत रहेका श्रममन्त्री गोकर्ण विष्ट सहभागी भए ।

कार्यक्रममा समाजशास्त्रीहरुले खस आर्य, बाहुन र दलितको मात्रै कुरा गरेनन्, विक्रम सुब्बाद्वारा रचित चोरको कवितासमेत सुनाउन भ्याए ।

अब आरक्षितभित्र वर्गीयता हेनुपर्छः मिश्र


प्रा. मिश्रका अनुसार समावेशितासम्बन्धी अहिलेको व्यवस्थाहरुले धेरै नभए पनि अवसरका ढोकाहरु खोलेको छ । भन्छन्, ‘अहिले कसैका लागि जन्मिँदै प्राप्त हुने अवसर र कसैका लागि जन्मिँदै थोपरिने नकारात्मक अवस्थाबाट उन्मुक्ति हुन्छ भै भन्ने बाचा भएको छ । महसुस हुने कहिले हो थाहा छैन ।’

उनका अनुसार सबै नागरिक बराबर हो भन्ने आभाष शब्दमा दिन्छ । यसलाई प्राप्त गर्न लामै संघर्ष गर्नुपर्छ । ‘अहिले नै समावेशी प्रेमीहरु बहुमतमा छैनन् । तर, समावेशिता हुनुपर्छ भन्ने धेरै छन्’ उनले भनेका छन्, यसका लागि लामो संघर्ष हुन्छ, जुन चुनौतीपूर्ण पनि छ ।’

दलितपना, जुन दलित-गैरदलितमा पनि हुन्छ, त्यो अहिले स्थिर पोखरीजस्तो रहेको भन्दै उनले त्यसमा ढुंगा हान्नुपर्ने बताए । उनले अघि भने, चलाई राख्ने, हुँडली राख्ने गर्नुपर्छ, यो हाम्रा लागि चुनौती हो ।’

समावेशितालाई अर्थतन्त्रसँग पनि जोड्नुपर्ने उनको मत छ । भन्छन्, ‘सबैखालका असमानता अन्त्य गर्न अर्थतन्त्र कसरी विकसित हुन्छ, कति रोजगारी सिर्जना गर्छ भन्नेले ठूलो भूमिका खेल्छ ।’

उनले अघि भने, विदेशमा जाने श्रमिकहरु नभएको भए दलित र गैरदलितको असमानता अहिलेको भन्दा भयाबह हुन्थ्यो । आयआर्जन गरेका हुनाले जातहरु बीचको दुरी अलिकति घटेको छ ।’

समावेशिताको लाभ सम्वन्धीत समुदायको टाठाबाटाले मात्र लिने गर्छन् भन्ने मत पनि रहेको भन्दै प्रा मिश्रले भने, ‘म पनि त्यो हो भन्ठान्छु ।’

आरक्षण आरक्षितहरुको सीमान्तकृतहरुले पाउनु बनाउनुपर्ने मत राख्दै भन्छन्, त्यही समूहले पाउनुपर्छ तर, त्यसभित्र वर्गीयता अंगाल्नुपर्छ ।’

श्रममन्त्री गोकर्ण विष्टले आरक्षित समुदायभित्र वर्ग हेर्नुपर्ने मिश्रको मतमा आफ्नो समर्थन रहेको बताए । समावेशिताको मुद्दाको अगुवाइ राजनीतिक आन्दोलन नै गरेको भन्दै एमाले सचिव समेत रहेका उनले आरक्षण सँधैका लागि र उत्पीडन संरक्षण गर्ने माध्यम बन्न नहुने बताए ।

वर्ग होइन, वर्ण नै मुख्य होः सीके लाल


राजनीतिक विश्लेषक सीके लालले भने प्रा. मिश्रसँग फरक मत राख्दै वर्ग नभई वर्ण नै महत्वपूर्ण भएको बताए । तर, यो विचारमा राज्य (मन्त्री) सहमत भएको भन्दै उनले भने, ‘त्यसमा अरु कुनै कुरा राख्नुभयो भने प्रश्न उठाएको ठहर्छ । तपाईविरुद्ध राज्यसत्ता र ज्ञान लाग्छ ।’

उनले समावेशिताको लाभ टाठावाठाहरुले मात्र लिएको भन्दै प्रा. मिश्रको दाबीको खण्डन गरे । सम्भ्रान्तहरुले सकारात्मक विभेद कब्जा गरे भन्नु विडम्बना भएको भन्दै उनले भने, ‘स्वाभाविक हो नकारात्मक विभेद जोसँग भएको छ, सकारात्मक विदेभको फाइदा उसैलाई हुन्छ । विश्वविद्यालयको उपकुलपतिमा सकारात्मक विदेभको अवधारणा ल्याउने हो भने यसको फाइदा डा. रमेशलाई हुन्छ, मेरो गाउँको डोम चमारलाई हुँदैन, किनभने योग्यता पुगेको व्यक्ति भएन ।’

यदि आरक्षणमा सबैभन्दा कमजोरलाई लिने हो भने लक्षित समूह कार्यक्रम ल्याउनुपर्ने विश्लेषक लालको तर्क छ ।

समावेशिताले बर्बाद भयो भन्ने तर्क एक हदसम्म सही भएको भन्दै उनले भने, समावेशिता कमजोर भए पनि ठूलो बाँधमा सियोको प्वाल बनाएको छ । सियोको प्वालले पनि कालान्तरमा ठूलोठूलो बाँध भत्किन सक्छ । त्यसैले प्वाल टाल्न आफू नजिकहरु राख्न थालेका छन् ।’

साँचो अर्थमा समावेशी बनाउने हो भने जनसंख्याका अनुपातमा आधारमा हुने सुनिश्चित गर्नुपर्ने लालले बताए ।

बाहुनहरुको कमजोरी लोभ, क्षेत्रीहरुको क्रोध, वैश्यहरुको लाज र शुद्रको लाचारी भएको उनले सुनाए । उनले भने- ‘जसलाई अवर्ण (दलित) भनिएको छ, उनीहरुमा निलिप्तता कमजोरी हो । उनीहरु आफ्नो संसार आफैं बनाउँछन् । अम्बेडकरको भाषामा क्रोधको उदात्तता’ विश्लेषक लालले अघि भने, ‘अरे बाबा रिसाउनुस् न यार । यत्ति पनि रिसाउनुभएन भने कहाँ परिर्वतन हुन्छ ?’

नरिसाएसम्म आफ्नो समुदायलाई शिक्षित, संगठित र आन्दोलित बनाउन नसकिने उनले बताए । उनले वर्ण र वर्गलाई घालमेल गर्न नहुने मत राखे ।

चप्पल लगाएर आएका केपी ओली प्रधानमन्त्री नहुँदा पनि बालकोटमा घर ठड्याएर चारपांग्रे चढ्ने र २/४ जना सहयोगी राख्ने अवस्थामा पुगेको उदाहरण दिँदै उनले भने, ‘तर, मेरो गाउँको दलितले जति नै सम्पत्ति हासिल गरे पनि यो संविधानले जुन सम्मान बाहुनहरुलाई दिएको छ, त्यो पाइँदैन । वर्णले पुस्तौं पुस्ता लखेटिन्छ ।’

अघि भने, ‘वर्गको कुरा सबैको साझा हो । त्यसका लागि गरिबी निवारण र समृद्धिको कुरा होला तर, वर्णसँग मिक्समाक्स नगरौं ।’

भट्टचनले सुनाए ‘चोर’ को कविता

अर्का प्राध्यापक डा. कृष्ण भट्टचनले यो बहसलाई ‘दुम्सीको काँडा’ भएका बेला भएको बहस’ भनेका छन् ।

खसआर्यको आरक्षण खारेज गर्न ईयूको पर्यवेक्षण मिसनले सुझाव दिएपछि सुनामी आएका उनलेे बताए । सरकारले खसआर्यको सर्वोच्चतालाई राष्ट्रिय स्वार्थ मानेको भन्दै उनले भने, योे किताबले के गर्छ ? यो सुनामीलाई धक्का दिन्छ ? कि हामी आफैं बगाएर कथा मात्र बोकेर बस्छौं ?’

‘उहिले उहिले चोरहरु शासन गर्दैनथे’ भन्ने विक्रम सुब्बाको कवितालाई ‘अहिले अहिले चोरैचोरहरु शासन गर्छन्’ भनेर सुनाएका भट्टचनले समावेशिकरणका नाममा भइरहेको जालझेल धेरै दिन नटिक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment