Comments Add Comment

संस्मरणः मोदी बसको भाँपुँ-भाँपुँ


फेरि सर्‍यो समय !

स्वयम्भूबाट बेलुकाको चार बजे छुट्ने भनेको गाडी पाँच बजे जाने भो । पाँचपछि छ, सात भएर आठ बजेसम्म समय सरिरहृयो ।

‘यो मोदी बस यस्तै हो ।’

बनारस जान बसेका सबै यसै भन्न थाले ।

अझै दिग्दार मान्न थाले । पट्यार लागेर हैरानै भइसक्यो । समय सरेको छ, छ !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सँगसँगै उद्घाटन गरेथे- नेपाल भारत मैत्री बस सेवा । ती गाडी बनारस र दिल्ली चल्छन् ।

सबैले ती मोटरका नाम राखेका रहेछन्- मोदी बस ।

त्यै मोदी बसमा म पनि बनारस गइरहेथेँ । पुसको जाडो । नयाँ ठाउँको छुवाइले मनमा तातो भने बढेकै थियो ।

बल्ल-बल्ल रातिको नौ बजे गाडी हुइँकियो । बेपत्तैले बेगिएको मोदी बसले बिहानको झिसमिसेमा सुनौली सिमानामा पुगेर विश्राम लियो ।

‘यो धूलो के साह्रो !’

मैले बाहिरको सेताम्मे देखेर भनेको थिएँ ।

‘होइन नि । यो त पाठ हो ।’

हेर, मेरो शुद्धि !

भयंकर कुइरो लागेको थियो । त्यै चिसो, त्यै कुइरीमण्डल र त्यै धुम्मधाम्ममा हामी ओरालियौं । अनि झोला जँचाएर भारत टेक्यौं ।

बस हुइँकिए लगत्तै फेरि रोकिएर हाम्रा परिचय-पत्र हेरिए ।

‘अनि अघि भन्सारमा सबै जाँचेको थियो । हैन र !’

‘त्यो त सुरक्षाको हो नि !’

गाडी गुड्यो ।

‘यो चैँ केको त ?’

‘केन्द्र सरकारको ।’

चालक बोल्छन् ।

गाडी दुई मिनेट गुडेपछि फेरि रोकियो । अनि अर्कै पोशाकमा प्रहरी आएर जाँचे ।

‘यी चैँ को परे ?’

‘यी प्रान्तिय सरकारका भन्सारका कर्मचारी ।’

गाडी गुड्यो ।

फेरि पाँच मिनेटपछि गाडी रोकियो । प्रहरी पसेर धमाधम सोधपुछ गर्न थाले ।

‘किन जाँचेका यिनले ?’

‘यी सीमा बल हुन् ।’

गाडी हुइँकियो ।

यस्तै तीन मिनेट पनि पूरा भएको थिएन । गाडी रोकियो । तीन जना जुँगामुठे गाडीमा पसेर हाम्रा झोला खोतलखातल गर्न थाले ।

‘फेरि जाँच पड्ताल भयो त !’

‘यी अन्तःशुल्कका कर्मचारी हुन् रे ।’

गाडी गुड्यो । अनि झोला मिलाउन नपाई तीन-चार जना युवा पसे ।

‘परिचय पत्र हात-हातमा राख्नुहोला ।’

खलासीले हिन्दी र नेपाली मिसाएर भन्यो ।

‘फेरि केको सोधपुछ नि ?’

‘गुप्तचर विभागका कर्मचारी हुन् ।’

निकै कडा सोधपुछ भयो । मेरो नागरिकताको फोटो र अहिलेको अनुहार मिल्दैनथ्यो । जाँचकीले निकै ख्याउँ-ख्याउँ गर्‍यो ।

बल्ल गाडी गुड्यो ।

साह्रै झिँजो लाग्यो ।

‘त्यसरी त पर्यटक के आउलान् र खै ?’

दिक्क लाग्यो ।

उखुबारी र तोरीबारी आउने र जाने भइरहे । ठूला-ठूला फाँटसँग आँखा जुधाउन नपाउँदै रेलका लमतन्न लिक आउँथे ।

बाटामा गोरखपुर टुप्लुकियो ।

मोदी बसको टाउकामा एम्बुलेन्सको जस्तो जोडिएको रहेछ । सामुन्ने कुनै गाडी देखियो कि ऊ गजबले कराउँथ्यो । भारतमा यस्तो प्रचलन अनौठो लाग्यो ।

एक घन्टाभन्दा बढी लाग्यो गोरखपुर छिचोल्न । बाहिर रिङरोड जानुपर्ने । खोइ कताबाट शहरको घन्चमन्चमा फँसेर निस्कन महाभारतै भो ।

मोदी बसको भाँपुँ-भाँपुँ खुब बज्थ्यो । उसको अनौठो आवाजले बाटो किनारकाहरु हेर्थे- अनौठो मानेर । इण्डिया न पर्‍यो- बाटो नै किन छोड्थे र ।

गोरखपुरको गन्जागोल कति ठूलो । गोरु गाडा, चना चटपटे, पान पसल, रेलका डिब्बा, उखुका लाक्रा सबै सडक किनारमै । पुराना ट्याम्पु, माछा तार्नेहरु, जाल बेच्नेहरु, पानीपुरीका ठेला, धोती मोलमोलाइ गर्ने- सबै सडक मिचेर बसेका छन् ।

महामुस्किलले डेढ घण्टापछि बल्लतल्ल गाडी निस्कियो । मुखमा चिटचिट पसिना, मुख हेर्दा- अत्तालिएको लाग्थ्यो चालकको ।

सोधेँ पनि- ‘कसरी बाटो बिराइयो ?’

‘हिजो फर्किंदा शहर पसेर जा भनेथ्यो मुर्दार पुलिसले । उसको आदेश मानेको, यी हैरान पाइयो ।’

भाँपुँ-भाँपुँ बजाएर ओठ नि चलायो चालकले ।

माथिको नीलो, हरियो, रातो र सेतो झिलिक-मिलिक बत्ती नि बलिरहेकै छ गाडीको । बत्ती र आवाज एकसाथ आउँदा- निकै ठूलाठालुको गाडी देखियो- यो मोदी बस ।

मेरो छेउमा छिन्- बनारसकै विद्यार्थी । आमा तिब्बतबाट रातारात भागेर काठमाडौं छिरेकी रहिछिन् । आशीकी आमाजस्तै आनीहरु थिए बसैभरि ।

‘सकियो त गोरखपुर !’

ठूलाठूला राजमार्ग देख्दा सोध्छु ।

तीन तल्लेसम्म छन् सडकहरु । बनिरहेका छन् बेस्सरी । विशाल-विशाल लम्बे-लम्बे सडकहरु । बाटाजस्तै अग्ला न अग्ला ट्रक छन् जताततै । फेरि औधी लामा पनि ।

दिउँसो भएको छ ।

खाना खान भनेर होटेलमा छिरेको ।

‘रोटी पो खाऊँ कि ?’

मैले ड्राइभरलाई सोधेँ ।

‘मसँग आउनुस्- नेपाली रुपियाँ भए पनि काम चल्छ ।’

भारु नसाटेको हैरानी मैले सुनाएथेँ ।

पछि लागेँ । उनले कसो-कसो सानो सिँढी भएर भर्‍याङ उकाले । एउटा भुडेवाल बसिरहेथ्यो ।

‘सुनौलीमा साट्न भ्याउनु भएन सरले ।’

चालकले दाह्रीवालालाई भने ।

‘आइडी चाहियो ।’

मैले नागरिकता दिएँ । उनले फोटो कपी गरे ।

अनि तीन हजार भारु दिए ।

बाहिर आउँदा खानेहरुको लस्कर थियो । धेरै त आनीहरु नै थिए । लहरै उभिएर हात-हातमा परिचयपत्र बोकेर उभिएका थिए ।

‘नेपाली, भारतीय, तिब्बती र कुइरे छन् यहाँ । खाद्य सुरक्षा निकायले रेकर्ड राख्ने गर्दो रहेछ ।’

खलासी बताइरहेका छन् ।

मैले पनि परिचयपत्र देखाएँ ।

‘हिमाञ्चल प्रदेशका जस्ता छौ नि ?’

‘कि तिब्बती हो ?’

टोकन काट्न बसेको मान्छेले मलाई सोध्यो र मेरो परिचयपत्र हेर्‍यो ।

खाना खान ढिलो भयो । हामी धेरै थियौं । बान लगाएर पकाउनु परेछ । म र अन्य चार आनीहरुको भागमा खाना आइपुग्यो ढिलो ।

मोदी बस करायो- भाँपुँभाँपुँ ।

झ्यालबाट करायो चालक- ‘बनारस पुग्दा आधा रात हुन्छ । तपाईंहरु त पुग्नु हुन्छ । म चैँ कहिले र्फकनु नि ?’

‘चाँडो-चाँडो खानु ।’

‘दही पिउनुस्- तन्दुरी खल्तीमा हाल्नुस् ।’

आदेशै आयो चालकको ।

हतार-हतार खाएँ । रोटीले दनासो दर्फराएछ । तन्दुरीमा धारले ओठका कुनाकानीमा घोचेछ पनि ।

गाडी जोडले बेगियो । खाएको त हामीले थियौं । मोटर पो बत्तियो जोडले ।

उस्तै छ मोदी बसको भाँपुँ-भाँपुँ ।

अब झन् बेगवान भयो । आठ लेनको बाटो बनिरहे पनि मुस्किलले दुईटा गाडी पास हुन्थे । भत्केका घर, ढुंगाका रास, बालुवाका उरुङखात, उग्राइरहेका गाईगोरु, पराल भरिएका बयल गाडीले बाटोको गति छेकिन्थ्यो बेला-बेलामा ।

‘आठ लेनको बाटो बनुन्जेलमा मरिसकेको हुन्छु म । यो गाडीको धनीको नातिले त्यतिन्जेलमा चन्द्रमामा ट्रक कुदाइरहेको हुन्छ ।’

चालकले दिग्दारी पोख्यो र बजायो हर्न- भाँपुँभाँपुँ !!!

‘तीन वर्ष भो । यै छ ताल मोदी बसको ।’

खलासी पनि थप्छ ।

‘बत्ती बाल्यो, हर्न ठोक्यो- त्यै छ ताल ।’

चालकले पनि थपे ।

गाडी कुदिरहेछ । घाम निकै तल आइपुगेछ । आजमगढ छिचोल्नै निकै घण्टा लाग्यो । बस्ती, बाली र सुनसान संसार ।

मैले सुरुदेखि सुनेको, जानेको र पढेको नाम- बनारस । तर बाटबाटामा सूचनापाटीमा छ- वाराणसी । केही अल्मलियो जिब्रो । आँखाले शुद्ध पारी पढ्न खोज्यो- बनारस कि वाराणसी !

बेलुकाको आठ बज्दा मोदी बस पुग्यो सारनाथ ।

यही हो बनारस ?

एकछिन अल्मलिएँ ।

सारनाथको तिब्बती मन्दिर निरको आनन्द गेष्ट हाउसमा पुगेर कोठा बुक गरेँ ।

‘केबाट आएको ?’

गेष्ट हाउसको मोटेले झटारो हान्यो ।

‘कस्तो केबाट ?’

मैले उसैलाई सोधेँ ।

‘रेल, मोटर, जहाज ?’

‘ए, मोदी बसबाट ।’

‘टिकट देखाऊ त !’

उसले प्रमाण खोज्यो ।

मैले धेरैबेर झोलामा यताउता खोजेँ । भेटिनँ । सबै खल्ती छामेँ । झोला छामेँ । कोट, हाते झोला कतै पनि टुप्लुकिएन- बसको टिकट ।

‘आधार कार्ड छ ?’

उसले कड्केर सोध्यो ।

‘मेरो चैँ नागरिकता हो- आधार कार्ड भने नि, जे भने नि ।’

उसले घुरेर हेर्‍यो ।

‘यो हुँदैन । अङ्ग्रेजी र देवनागरी दुवैमा लेखिएको हुनुपर्छ ।

ऊ कड्कियो ।

‘मसँग यै छ । अहिले भर्खर त्यस्तो नागरिकता दिन थालिएको छ । सबै बूढाहरुका हातमा यै नागरिकता छ ।’

मैले जाडोले कक्रिएको कानमा गलबन्दी कस्दै भनेँ ।

‘यो आइडी म मान्दिनँ । यसलाई दिल्लीको एम्बेसी गएर प्रमाणित गरेर ल्याऊ ।’

उसले आदेश दियो ।

यतिञ्जेल रातको दस बजिसकेको थियो ।

मैले नागरिकता खल्तीमा हालेर अर्को गेष्ट हाउस खोज्न लागेँ मूलगन्ध कुटीतिर । कुइरोले ड्याम्म ढाकेको थियो बनारसको गुजुमुजे शहरलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment