Comments Add Comment

विकट चेपाङ बस्तीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर


९ वैशाख, मकवानपुर । गाउँबाट दिन नै माया मारेर उपचारको लागि भण्डारा वा लोथर पुग्नुपर्ने मकवानपुरका पश्चिम क्षेत्रको विकट गाउँका चेपाङ समुदाय गाउँमै स्वास्थ्य सुविधा पाउँदा दंग परेका छन् ।

भौगोलिक विकटता तथा आर्थिक अवस्था नाजुक भएका कारण उपयुक्त स्वास्थ्य सुविधा नपाएका उनीहरु विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर गाउँमै पाएपछि उनीहरु खुसी भएका हुन् ।

‘निकै फाइदा भएको छ, गाउँमै स्वास्थ्य सुबिधा पाउँदा हामी खुसी छौं,’ स्थानीय रिमा लामाले भनिन्, ‘उपचारका लागि पैसा नभएर गाउँमै बस्नुपर्ने बाध्यता थियो ।’

आर्थिक अवस्था नाजुक भएकै कारण गाउँमा रहेका बिपन्न परिवार स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्नका लागि मकवानपुरको सुनाचुरीमा रहेको नेपाली सेनाको १ नम्बर जगदल गणले शनिबार शिविर सञ्चालन गरेको थियो ।

बिभिन्न रोगका बिशेषज्ञ आठ डाक्टरसहित अत्याधुनिक मेसिन गाउँ पु¥याएर सञ्चालन गरिएको शिविरबाट मकवानपुर र चितवनका चेपाङ तथा तामाङ समुदायका बिपन्न परिवारले लाभ लिएका छन् ।

नयाँ मेडिकल कलेजका विषेशज्ञ डाक्टरसहित ३६ जनाको चिकित्सक टोलीले चेपाङ गाउँमा सेवा दिएको थियो । सेवाबाट गाउँलेले पूर्णरुपमा राहत र खुसी महशुस गरेको राक्सिराङ गाउँपालिका– ६ काँकडाका अध्यक्ष सिंहलाल चेपाङले बताए ।

नयाँमेडिकल कलेज भरतपुरको सहकार्यमा सेनाले सञ्चालन गरेको शिबिरमा अल्ट्रासाउण्डसहित स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नसा, नाक, कान, घाँटी रोग, मुटु र छाला रोगका बिशेषज्ञ डाक्टरहरुले सेवा दिएका थिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको काँकडाको सिलिङगेसहित ६, ७, ८ नम्बर वडा र चितवनको राप्ती नगरपालिका ११ को थाकटार, कोराकसहितका गाउँका चेपाङ तथा तामाङहरुले निःशुल्क औषधिसहितको स्वास्थ्य सेवा लिएका थिए ।

शिविरबाट ३ देखि ७६ वर्ष उमेर समूहले सेवा लिएको र स्थानीयबासिन्दा पनि हर्षित रहेको गणपती रामचन्द्र थापाले बताए ।

नेपाली सेनाले यसअघि काँकडाको डुङथलीमा निःशुल्क स्वास्थ्य उपचार दिएको थियो । यस बर्ष काँकडाको खकन्टारमा सञ्चालन गरेको शिबिरबाट ६ सय ५० जनाले स्वास्थ्य सेवा लिएको बताइएको छ । शिबिर सञ्चालनका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुरेश थापाको नेतृत्वमा ३६ जनाको टोली विकट गाउँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment