Comments Add Comment

महिला साफ : बलियो मानिएको नेपाल कहाँ चुक्यो ?

प्रशिक्षक भन्छन् – हाम्रै कारणले हार्‍यौं

८ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना यसपटक पनि अधुरै रह्यो । एकपटक सेमिफाइनलमा भारतसँग हारेको नेपाल अहिलेसहित चार पटक त फाइनलमा नै पराजित भइसक्यो । हरेक पटकको विजेता भने उही भारत ।

साफ फाइनलमा भिड्नुअघि भारतसँगको पछिल्लो दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा बराबरी गरेर बलियो मनोबलमा रहेको भनिएको नेपाल कसरी कमजोर बन्न पुग्यो त ?

प्रशिक्षक हरि खड्का भन्छन्, ‘हामी आफ्नै कारण हा¥यौं ।’

समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले हराएको नेपालले सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराएको थियो ।

भारतविरुद्धको डरको भूत हराएको बताइरहेका खड्का मात्र होइन, नेपाली खेलाडी पनि उच्च मनोबलमा थिए । तर, आत्मविश्वासी प्रशिक्षक र खेलाडीसँगै लाखौँ समर्थकको सपना भने पूरा हुन पाएन ।

खेलको सुरुवाती समयमै नेपालले बल आफ्नो पकडमा राखेर भारतमाथि दबाव बनाएको पनि थियो । तर सुरुवाती समयमै गोल ननिस्किदा अग्रता बनाउन चुक्यो । भारतले २३ औं मिनेटमा अग्रता लिएको १० मिनेटपछि बराबरी गोल गरेको नेपाल खेलमा फर्किने अनुमान गरिएको थियो ।

तर, दोस्रो हाफ नेपालले पूरै दबावमा खेल्यो । पहिलो गोल खानुमा पनि भारतको बलियो पक्षभन्दा नेपालकै सानो कमजोरी देखियो ।

किपर एञ्जिला तुम्बाप्पो सुब्बा निकै अगाडि बढेको अवस्थामा करिब ३० यार्ड टाढाबाट भारतकी डालिमाले फ्रिकिकबाटै गोल गरेकी थिइन् । गोलकिपर गोललाइनमा नै भएको भए त्यो कठीन बल थिएन ।

६३ औं मिनेटमा भारतको दोस्रो गोल खेलको ‘टर्निङ पोइन्ट’ बन्यो । मिस पासपछि डिफेन्स लाइनमा देखिएको कमजोरीले खाएको दोस्रो गोलले नै खेलाडी निराश बन्न पुगे । उनीहरु पूरा दबावमा परेका थिए ।

नेपालको डिफेन्स लाइन मात्रै होइन, फरवार्ड लाइन पनि चल्न सकेन । यस्तो लाग्थ्यो पहिलो हाफमा नै ठूलो एरिया कभर गरिरहेका खेलाडी दोस्रो हाफमा स्टामिना गुमाइसकेका थिए ।

घरेलु मैदानमा उचाल्न चुकेपछि प्रशिक्षक खड्काले आफ्ना खेलाडीले योजनाअनुसार खेल्न नसकेको स्वीकार गरे । प्रशिक्षक खड्काले भने, ‘हाम्रै गल्तीको कारण दोस्रो गोल खान पुग्यौँ । हाम्रो सेट बिग्रिएर खेल बिग्रियो । सामान्य बल थियो । पास दिनुपर्ने थियो तर डिफेन्सले सकेन ।’

प्रशिक्षक खड्काले आफ्ना विंगरहरु चल्न नसकेको कारण गोल ननिस्किएको बताए । उनले भने, ‘दोस्रो हाफमा राम्रो खेल्न सकिएन । विंगरहरु हाम्रो मुख्य हतियारको रुपमा थिए तर, उनीहरु चल्न सकेन ।’

भारतकी प्रशिक्षक मायमोल रोक्कीले युवा टिमले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जित्न ठूलो कुरा भएको बताइन् । उनले भनिन्, ‘पहिलो हाफमा केही दबावमा खेल्यौं तर, ब्रेकमा ब्रिफिङ ग¥यौँ र खेल सुध्रियो ।’

उनले थपिन्, ‘हाम्रो युवा टिमले फाइनलको दबाव कसरी थेग्छ भन्ने मलाई डर थियो तर केटीहरुले राम्रो खेले ।’

प्रतियोगितामा नेपाली समर्थकका लागि नेपालकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता हुनुबाहेक खुशी मनाउने अरु कारण मिलेन । सावित्रासँगै भारतकी इन्दुमतिले पनि सर्वाधिक चार गोल नै गरेकी थिइन् । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीको अवार्ड भारतकी डालिमा छिब्बरले जितिन् ।

यसपटक पनि भारतलाई पराजित गर्दै साफको उपाधि जित्ने नेपालको सपना मात्रै अधुरो भएन, भारतको कीर्तिमान बे्रक गर्न पनि असफल भयो । पाँचौ पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको भारतले अहिलेसम्म साफ च्याम्पियनसिपमा कुनै पनि खेलमा पराजित भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment