Comments Add Comment

भारतका ३ पूर्वराजदूत नेपालमा, राजनीतिज्ञदेखि पूर्वप्रशासकसम्मलाई किन भेटे ?

प्रधानमन्त्रीलाई चिकित्सकको सुझावः हात नमिलाउनू, १६ घन्टाभन्दा बढी काम नगर्नू

१५ वैशाख, काठमाडौं । आज शनिबार, राजधानीबाट प्रकाशित सबै अखबारहरुले उत्तर र दक्षिण कोरियाबीचको मिलनलाई मुख्य समाचार बनाएका छन् । ६५ वर्षदेखि तिक्त सम्बन्धमा रहेका दुई देशका उच्च नेतृत्वबीच शुक्रबार पहिलोपटक भेटवार्ता भएपछि यसलाई विश्वले नै अनौठो राजनीतिक परिघटनाका रुपमा लिएको छ ।

‘कोरियाली मिलन’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले दुई कोरियाबीच शान्तिपूर्ण वार्ता सफल हुनुका कारणबारे पनि चर्चा गरेको छ । टीपीएस सुविधा खारेजलाई कान्तिपुरले एंकर बनाएको छ ।

अमेरिकाले महाभूकम्पका कारण नेपाली आप्रवासीलाई प्रदान गर्दै आएको टीपीएस सुविधा बिहीबार खारेज भएको हो । अमेरिकाको यो निर्णयबाट झण्डै ९ हजार नेपाली प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ ।

किम–मुन मिलापलाई प्रमुख समाचार बनाएको नागरिकले पहिलो बजेट अधिवेशन वैशाख २३ गतेबाट शुरु हनेदेखि गाउँपालिका केन्द्र परिवर्तनको पछिल्लो प्रवृत्तिसम्मका खबरलाई पहिलो पृष्ठमा समेटेको छ ।

गोरखापत्र दैनिकमा स्थानीय तहले सरकारको व्यावहारिक रुप लिन नसकेकोलगायतका खबर छन् भने राजधानी दैनिकले एमाले–माओवादी घोषणापत्रबमाजेजिम नीति तथा कार्यक्रमको तयारीमा सरकार लागेको लेखेको छ ।

भारतका ३ पूर्वराजदूत नेपालमा, राजनीतिज्ञदेखि पूर्वप्रशासकसम्मलाई किन भेटे ?

भारतका ३ पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरु कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् ।

कान्तिपुर दैनिक आफ्नो खबरको अगाडि लेख्छ–पर्यटकका रुपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरु बताउँछन् ।

उनीहरु अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरुलाई भेट गरिरहेका छन् । उनीहरुले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ ।

कान्तिपुरका अनुसार पूर्वराजदूतहरु देव मुखर्जी, श्याम शरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरु शनिबार स्वदेश फर्कंदै छन् ।

संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरु गफिरहेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्रीलाई चिकित्सकको सुझावः हात नमिलाउनू, १६ घन्टाभन्दा बढी काम नगर्नू

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन चिकित्सकले सुझाव दिएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाव हामीले दिएका छौँ,’ उनले नयाँ पत्रिकासँग भनेका छन् ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिबेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाव दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए ।

चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउन सक्ने मात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् । हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।

चिकित्सकका अनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाब दिएका छन् ।

जता आफ्नो घरजग्गा, उतै गाउँपालिका केन्द्र

 

प्रतीकात्मक तस्वीर

सप्तरीको तिलाठीलाई २७ फागुन २०७० मा तिलाठी कोइलाडी गाउँपालिकाको केन्द्र तोकियो । ऐतिहासिक पृष्ठभूमि भएको र धेरैलाई पायक पर्ने तिलाठीलाई गाउँपालिकाको केन्द्र तोक्दा सबै पार्टी सहमत थिए । गाउँपालिका शान्त थियो ।

नागरिक दैनिकका अनुसार स्थानीय तहको निर्वाचनबाट राष्ट्रिय जनता पार्टी (राजपा) का सतिशकुमार सिंह गाउँपालिका अध्यक्ष बनेपछि उनले गाउँसभाको पहिलो बैठकबाट गाउँपालिकाको केन्द्र सार्ने निर्णय गरे । २१ माघ ०७४ को बैठकबाट उनले गाउँपालिकाको केन्द्र कोइलाडी तोके । जसका कारण दुई महिनायता तिलाठी–कोइलाडी गाउँपालिकाको कामकारबाही प्रभावित भएको छ ।
नागरिकका अनुसार जता आफ्नो घरजग्गा उतै केन्द्र तोक्ने प्रवृत्तिले स्थानीय तहमा समस्या आएको छ ।

गरिबको नाम, डोजर मालिकलाई दाम


अन्नपूर्ण पौसट दैनिकका अनुसार, सरकारले विपन्न नागरिकको आयआर्जनका लागि लागू गरेको कर्णाली रोजगार कार्यक्रम कालिकोटका स्थानीय तहले मनोमानी रुपमा सञ्चालन गर्न थालेका छन् ।

सरकारले कर्णालीका वेरोजगार तथा विपन्न नागरिकलाई लक्ष्य गरी आर्थिक वर्ष ०६३–६४ देखि सञ्चालन गर्दै आएको कार्यक्रमले विकास निर्माणमा स्थानीयलाई कामदार बनाउनुपर्ने स्पष्ट व्यवस्था छ । तर स्थानीय तहहरुले विकासको काममा डोजर लगाउन थालेका छन् ।

कर्णाली रोजगार कार्यक्रम निर्देशिकाले अति विपन्न, एकल महिला, निम्न वर्गका परिवारका सदस्यलाई कामदार छनोट गरी उनीहरुलाई ज्याला दिने व्यवस्था गरेको छ । जिल्लाका खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका, पचाल झरना गाउँपालिकालगायतका तहले कर्णाली रोजगारको बजेट सडकमा विनियोजन गरी डोरमार्फत सडक खन्न थालेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

निर्देशिकाले विपन्न बेरोजगार परिवारको सामाजिक सशक्तीकरण, आधारभूत पूर्वाधारमा पहुँच र आय आर्जनका माध्यमबाट जीवनस्तरमा सुधार गरी सामाजिक संरक्षणमा जोड दिएको भए पनि सडकमा खर्च गरिएको हो ।

बाँदर समात्न जंगलमा जनप्रतिनिधि


धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन् । बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको अन्नपूर्णमा समाचार छ ।

समाचार अनुसार चालू आर्थिक वर्षमा ५ लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरणको अभियान शुरु गरिएको छ ।

अन्नपूर्ण लेख्छ–बाँदर समात्न भाभरतबाट आएका तालिमप्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन् । वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीय टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ, क्षेत्रका जंगलमा बाँदर दोज्दै डुल्दै छन् ।

यी क्षेत्रका ४ सयभन्दा बढी बाँदर नियन्त्रण गरी स्थानान्तरण गरिसकिएको जानकारी वडाध्यक्ष श्रेष्ठले दिए ।

यी हुन् मोबाइल नबोक्ने ‘ठूला मान्छे’


एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ, म्यासेन्जरको च्याटिङमा व्यस्त भइरहेको हुन्छ । त्यसो भए, मोबाइल नबोक्दा दैनिक कार्यतालिका चल्न सम्भव नै छैन त ?
नयाँ पत्रिका दैनिकका अनुसार, समाजका केही नागरिक अगुवाको दैनिकी मोबाइलविना नै चलिरहेको छ । मोबाइलविना पनि नियमित र समयबद्ध दैनिक कार्यतालिका सञ्चालन सम्भव छ भन्ने उनीहरूको जीवन पद्दतिले देखाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा चारपटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलोपटक प्रधानमन्त्री भएका बेला नेपालमा सूचना, सञ्चार तथा प्रविधिको विकास भएको हो । तर, देउवा आफैँ भने निजी मोबाइल फोन प्रयोग गर्दैनन् । मोबाइल नबोके पनि उनले स्वकीय सचिव भानु देउवाको मोबाइलबाट कुराकानी गर्ने गरेका छन् । कांग्रेस सभापति देउवासँग कुराकानी गर्नुपर्ने भए वा भेटघाटका लागि समय मिलाउनुपरेमा भानु देउवाको मोबाइल टिपाउने गर्छन् । कांग्रेस नेताहरू मात्र होइन, अन्य दलका नेता तथा कूटनीतिक नियोगबाट कुराकानी गर्नुपर्ने भएमा पनि उनकै मोबाइल प्रयोग हुन्छ ।

शिक्षाविद् केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति र पूर्वराजदूत पनि हुन् । जापानका लागि नेपाली राजदूत माथेमा मोबाइलविना पनि निरन्तर सक्रिय छन् । त्रिविको उपकुलपति र राजदूतको जिम्मेवारीमा रहँदा पनि उनले मोबाइल बोकेनन् । माथेमाले प्रविधि विकासको असन्तुष्टिले मोबाइल नबोकेका भने होइनन् । अधिकांश मानिस फेसबुक, ट्विटर, भाइबरलगायतका सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । केही मानिस भने यी सबै चिजबाट टाढा हुन्छन् । शिक्षाविद् माथेमा इन्टरनेटबाट टाढा छैनन्, तर मोबाइल भने बोक्दैनन् । माथेमासँगको सम्पर्क माध्यम भनेको इमेल वा घरको ल्यान्डलाइन टेलिफोन हो । ‘जापानको राजदूत हुँदा मोेबाइल बोकिनँ, अहिले त झन् के बोक्नु भन्ने लाग्छ,’ माथेमाले नयाँ पत्रिकासँग भनेका छन्, ‘छोरीले एउटा मोबाइल किनिदिएकी छिन्, तर चलाउने गरेको छैन ।’

डा. सुन्दरमणि दीक्षित अधिकारकर्मीका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ पनि हुन् । पेसागत धर्म र नागरिक अगुवाइको नेतृत्वकर्ताको हैसियतले पनि उनी निरन्तर सम्पर्कमा रहनुपर्ने मानिस हुन् ।

सबैसँग सहज सम्बन्धका लागि दीक्षितले मोबाइल बोक्नुपर्ने हो । तर, उनले अहिलेसम्म मोबाइलविनै आफ्नो दैनिकी चलाउँदै आएको नयाँ पत्रिकाको सामग्रीमा उल्लेख छ ।

६२–६३ को जनआन्दोलनका वेला प्रखर वक्ताको छवि बनाएका अधिकारकर्मी कृष्ण पहाडी आन्दोलनको नेतृत्वकर्ता नै थिए । यस आधारमा भन्नुपर्दा पहाडीको सबैभन्दा बढी व्यक्तिसँग सम्पर्क र सम्बन्ध हुनुपर्ने हो । त्यसका लागि जति सकिन्छ त्यति धेरै सामाजिक सञ्जाल र मोबाइल प्रयोग हुनुपर्ने हो । तर, उनी मोबाइल, फेसबुक र ट्विटर प्रयोग गर्दैनन् ।

पूर्वसचिव विहारीकृष्ण श्रेष्ठ नेपालमा उपभोक्ता समूह र आमा समूहको अवधारणा ल्याएर चर्चामा आएका प्रशासक हुन् । नेपालमा विकेन्द्रीकरणको पहिलो ऐन ल्याउने श्रेय उनैलाई जान्छ । त्यति मात्र होइन, इलाका विभाजनको सुरुवाती अवधारणा पनि उनैले ल्याएका थिए । कुनै वेला उनी राजा वीरेन्द्रको प्रिय प्रशासकसमेत थिए । वीरेन्द्रका महत्वपूर्ण भाषण उनैले लेख्थे । तैपनि श्रेष्ठ मोबाइल प्रयोगकर्ता भने होइनन् ।

सत्यमोहन जोशी संस्कृतिविद् हुन् । उमेरले झन्डै शताब्दी टेक्न लागेका जोशी पछिल्लो पुस्ताको आकर्षण रहेको मोबाइलमा त्यति धेरै चासो राख्दैनन् । मोबाइलबाट उत्पन्न खराबी वा समस्याका कारण उनले मोबाइल नबोकेका भने होइनन् । अहिलेसम्म आफूले मोबाइलको आवश्यकता नै महसुुस नगरेको उनी बताउँछन् । सूचना तथा प्रविधिको विकासबारे उनको रुचि नै छ ।

हेराैं अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment