Comments Add Comment

प्रियंका र उष्मा सँगै बगे, उष्मा फर्केर आइनन्

भाग्यले बाँचेका विद्यार्थीलाई परीक्षा छुटेकोमा चिन्ता

१ जेठ, रामेछाप । कक्षा ११ को परीक्षा दिन विहानै घरबाट हिँडेकी छोरी फर्किने आशा मारिसकेका छन् घर परिवारले । परीक्षा दिन जानेक्रममा सोमबार रणजोर खोलाले बगाएका ७ जना विद्यार्थी मध्ये १८ वर्षीया उष्मा फुयाँलको अत्तोपत्तो छैन ।

उनी जीवितै फेला पर्ने आशा त अब कसैलाई छैन तर उनको चिनो चपेटो पनि कहीँ फेला नपर्दा परिवार थप पीडामा परेको छ । उष्मा भटौलीस्थित रुद्राक्षेश्वर मावि परीक्षाकेन्द्रमा परीक्षा दिनका लागि सोमबार विहानै घरबाट हिँडेकी थिइन् ।

‘अब जीवितै भेटिने सम्भावना त छैन, तै पनि हाम्रो हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गर्न समेत उनले लगाएका लुगाफाटो वा एउटा जुत्ताको तुनोसम्म भेटिएन । रणजोर खोला र तामाकोसी नदी किनारमा अहिले पनि खोजी गरिरहेका छौं, तर कतै पत्ता लाग्न सकेको छैन’, उष्माका ठूलोबुबा बुद्धिराज फुयाँलले भने ।

मन्थली माविकी छात्रा फुयाँलसँगै गएका अन्य ६ जनालाई पनि खोलाले बगाएको थियो । उनीसँग खोलाले बगाएका अन्य ६ जना छात्राहरुको भने निस्कन सफल भएका छन् । उनको भने अहिलेसम्म कुनै अत्तोपत्तो छैन । उष्माकी आमाको घटना भएदेखि होस ठेगानमा छैन ।

परिवारका अन्य सदस्य, आफन्तहरु, प्रहरी, सेना तथा स्थानीयले अहिले पनि खोजी कार्य जारी राखेका छन् ।

प्रियंका भन्छिन्-तलसम्मै बग्यौं

खोला तर्ने बेलामा उष्मासँगै ७ जना छात्रछात्राहरु रणजोर खोलामा पसेका थिए । उनीसँगै खोला तर्न पसेकी पि्रयङ्का श्रेष्ठका अनुसार उनीहरु खोलाको एउटा भंगालो तरेर अर्को भंगालो तर्न खोज्दा नसकेपछि फर्किएका थिए ।

खोलामा अकस्मात पानी बढेर भँगालोनै छोपिएपछि उनीहरु हात समातेर खोला तर्न लाग्दा सबैलाई बगाएको थियो । त्यही क्रममा उष्मा छुटेकी हुन् ।

त्यो क्षण सम्झिदै प्रियंका भन्छिन्-वारी फर्कन लाग्दा हामी सबैले एकले अर्काेको हात समातेका थियौं । अरु छेउछेउमा थिए । मैले उष्माको हात समातेको थिएँ । सबैलाई एकचोटी बगायो । छेउमा हुनेहरु खोलमै पार लागेछन् । उष्मा र मलाई खोलाको बीच धारले बगायो । त्यस पछि को कता को कता केही थाहा भएन ।’

खोला धमिलो थियो । धमिलो पानीले प्रियंकाको अनुहार पुरै लत्पतियो । उनी त्यतिन्जेल होसमै थिइन् । खोलाले जब तामकोसी नदीमा पुर्‍यायो, पिंयंकाको अनुहारको हिलो तामाकोशी पानीले पखाल्यो ।

प्रियंका भन्छिन् ‘त्यो बीचमा मैले एकजना केटी मान्छेको कपाल समात्न पुगेँ । सायद त्यो उष्मानै हुनुपर्छ । तर केहीबेरमा त्यो कता पुग्यो कता, म फेरि नदीमा बग्न लागेँ । केहीबेर बगेपछि मेरो हातले एउटा लौरो फेला पार्‍यो । मैले त्यही लौरो समातेर नदीमा खुट्टा टेकेँ । घाँटीसम्म पानी आयो । त्यस पछि म विस्तारै किनारा लागेँ ।’

उनी पाखा लाग्दा उनीसँग बगेकी उनकी साथी निशा शाह पनि नदीबाट किनारा लागेर ढंुगा समातेर बसिरहेकी थिइन् । उनले अझै पानी बढ्छ निस्कौं भनेर निशालाई पनि सँगै निकालेर बाहिर ल्याइन् । ‘यसरी हामी दुई त बच्यौं तर उष्मालाई बचाउन सकिएन’ टिलपिल आँशु पार्दै प्रियंकाले बताइन् ।

रणजोरको बाढीमा परेकामध्ये तीजना सामान्य घाइते भएका छन् । बगाएकामध्ये केहीको रणजोर खोला र केहीको तामाकोशी नदीबाट उद्दार गरिएको थियो । आइतबार राति १२ बजेपछि परेको भीषण वषर्ा पछि आएको बाढी पहिरोले अस्तव्यस्त भएको मन्थली बजारमा अहिले यातायातको साधन सञ्चालन हुन थालेका छन् ।

बजारमा ठाउँठाउँमा जम्मा भएका माटोको ढिस्कालाई एक्साभेटरले पन्छाएपछि यातायातका साधनहरु सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानीका कारण बजारमाथि खहरेहरुमा आएको बाढीले बसपार्क क्षेत्रका अधिकांश घरहरुमा पानी र लेदो माटो पसेको थियो ।

खहरेमा आएको बाढीले बगाएको माटो र गेगरले बसपार्कमा राखिएका गाडीहरु तथा घरको छेउमा राखिएको मोटरसाइकल तथा ट्रकहरु समेत पुरिएका थिए ।

उष्माको खोजी जारी

भीषण बर्षापछि रणजोर खोलमा आएको बाढीले बगाएर सोमबार विहान ६ बजेदेखि वेपत्ता भएकी मन्थली आकाशेकी १८ बर्षकी फुयालको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुले सोमबार दिनभर फुयाललाई बगाएको रणजोर खोलादेखि त्रिवेणीस्थित सुनकोशीसम्म खोजी गरिए पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार साँझ अबेरसम्म फुयाललाई बगाएको ठाउँ रणजोर खोलामा पुरिएको हुनसक्ने अनुमानले मन्थली नगरपालिकाको एस्काभेटर लगाएर खोजिए पनि फेला नपरेपछि मंगलबार बिहानैदेखि सुनकोशी र तामाकोशीमा खोजी कार्यलाई तिव्रता दिइएको छ ।

प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले वेपत्ता भएकी उष्मा फुयालको खोजी कार्यलाई तिव्रता दिन र घाइतेहरुको उचित औषध उपचारको प्रवन्ध गर्न मातहतको निकायलाई निर्देशनसमेत दिएका छन् ।

उनले अकल्पनीय वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिका बारेमा तत्काल यकिन गरी आवश्यक प्रवन्ध मिलाउन पनि निर्देशन दिएका छन् ।

बगेकै ठाउँबाट विद्यार्थीहरुले खबर गरे

खोलाले बगाउँदा पनि बगेकै ठाउँबाट छात्राहरुले आफन्तलाई मोवाइलबाट खबर गरेका थिए । खोलाले बगाएकी प्रमिला कठायतले आफूलाई खोलाले बगाउँदा बगाउँदै उनका बुबा पवन कठायतलाई फोन गरेकी थिइन् ।

‘बुबा बुबा हामीलाई खोलाले बगायो भनेर छोरीले आत्तिदै फोन गरी । त्यसपछि उसको बुबा दौडिदै जाँदा त्यस्तो भइसकेछ । बग्दाबग्दै कसरी फोन गर्न भ्याई अचम्मै लाग्यो’, प्रमिलाकी आमा उमा कठायतले बताइन् ।

खोलाले चुर्लुम्मै डुबाएपछि बुबालाई फोन गर्न भ्याएको भए पनि त्यसपछि कसरी पाखा लागियो त्यसबारे आफूलाई कुनै थाहा नभएको प्रमिलाले बताइन् ।

पुनः परीक्षाको माग

अरु त सामान्य भएको छ, तर मेरो एक वर्षको पढाई छुट्यो भनेर छोरी चिन्तामा छे । यिनीहरुको छुटेको विषयको परीक्षा दिने व्यवस्था मिलाई दिए हुन्थ्यो ।

व्यवस्थापन संकायमा अध्ययनरत खोलाले बगाएको ६ जना विद्यार्थीहरुले परीक्षा दिन पाएनन् । विद्यार्थी र उनीहरुका अभिभावकलाई अब उनीहरुको छुटेको परीक्षा के हुन्छ भन्ने चिन्ता परेको छ ।

खोलाले बगाएर घाइते भएकी निशा साहका बुबा रामजीवन साहका अनुसार अन्य अवस्था सामान्य भए पनि परीक्षा छुटेको कारण निशा निक्कै चिन्तित छिन् ।

‘अरु त सामान्य भएको छ, तर मेरो एक वर्षको पढाई छुट्यो भनेर छोरी चिन्तामा छे । यिनीहरुको छुटेको विषयको परीक्षा दिने व्यवस्था मिलाई दिए हुन्थ्यो’, उनले भने ।

निशा र उनका अभिभावकको मात्र हैन परीक्षा छुटेका सबै विद्यार्थी र उनीहरुको अभिभावको पुन परीक्षा लिइदिनु पर्ने माग रहेको छ । यस बारेमा उनीहरुले विद्यालयमा कुरा गरेको बताएका छन् ।

स्थिति सामान्य बन्दै

बाढीले क्षति पुर्‍याएको मन्थली बजारको स्थिति सामान्य बन्दै गएको छ । बसपार्क क्षेत्रमा बाढीले थुपारेको सडकको माटो किनारा लगाइएको छ । स्थानीयले पनि घरभित्र पसेको माटो र लेदो हटाएका छन् । तर बाढीले सडकमा ल्याएको लेदो सुकेर धुलो बनेपछि सडक र सडक किनारका घरहरु धुलाम्य भएका छन् ।

धुलोका कारण सडकमा सर्वसाधारण निस्कन सक्ने अवस्था छैन । धुलो कम गर्नका लागि मन्थली नगरपालिकाले दमकलले पानी हाले पनि केही क्षणमानै सुकेर उत्तिकै धुलो उडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment