Comments Add Comment

रातभर ब्रुमरले बढार्नेछ काठमाडौंको धुलो !

१२ चैत, काठमाडौं । काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने आफ्नै बाचाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई लामो समय लखेटिरह्यो ।

चीनबाट ल्याएको ब्रुमरले भूइँको धुलो टिप्ने भन्दा बढी उडाएपछि झन आलोचना भयो ।

तर, पछिल्लो इटलीबाट पाँच वटा ब्रुमर आएपछि उनले राहतको सास फेरेका छन् । ब्रमुर उद्घाटन कार्यक्रममा मेयर शाक्यले ‘महानगरका लागि यो सानो काम भएपनि युद्ध नै जिते जस्तो भएको’ बताउनु पनि यसलाई पुष्टि गर्छ ।

राष्ट्रियसभा गृहमा आयोजित भब्य कार्यक्रममा मेयर शाक्यले रिटन काटे, नरिवल फुटाए । सिमसिमे पानीमा झिज्दै मेयर शाक्यले ब्रुमरमा पूजा गरे, धुप बत्ति गरे ।

कार्यक्रममा ‘खुसी आदान प्रदान गर्न’ भन्दै मेयरले काठमाडौं महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज पौडेललाई समेत बोलाएको थियो । उनकाअनुसार ब्रुमर किन्ने योजना पौडेलकै पालामा बनेकाले उनलाई बोलाइएको हो ।

ब्रुमरले रातभर बढार्ने छ काठमाडौंको धुलो

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले ब्रमरले कसरी काम गर्छ भन्ने सुनाए । उनका अनुसार अब रातभर ब्रमुरले काठमाडौंको धुलो बढार्नेछ ।

‘आज मात्र दिउँसो चलाइएको हो । भोलिबाट रातभर दैनिक ८ घन्टा ब्रमुरले धुलो बढार्छ’ मेयर शाक्यले भने । उनका अनुसा रातको समयमा अन्य सवारी साधन कम चल्न थालेपछि महानगरको ब्रमुरले सडक सफा गर्न थाल्नेछ ।

यो क्रम विहानीपखसम्म चल्नेछ । यसका लागि सबै व्यवस्था मिलाइएको उनले बताए ।

ब्रुमरका लागि काठमाडौंको सडक उपयुक्त छैन । उवडखावड तथा खाल्डाखुल्डी सडक छ । सडकमै निर्माण सामाग्री थुपार्नेहरु पनि कम छैनन् । ढलको व्यवस्था पनि राम्रो छैन । त्यसैले ब्रमुरले बढार्दैमा काठमाडौं सफा भइहाल्ने अवस्था छैन ।

महानगरका मेयर शाक्यकाअनुसार यसबारे पनि सम्बन्धित निकायसँग परामर्श भइसकेको छ । सडकका खाल्डाखुल्डी पुर्न र साइड लेन पिच गर्न सडक विभागलाई भनिएको छ भने मेलम्ची खानेपानीको पाइपका लागि सडक खनिएको ठाउँमा पनि अस्थायी रुपमा भएपनि कालोपेत्र गर्न भनिएको छ ।

यति मात्र होइन, धराहरा पुनर्निर्माण, बसपार्कमा काठमाडौं भ्यू टावर निर्माण तथा सार्वसाधारणले सडक छेउमा निर्माण सामाग्री थुपार्दा पनि धुलो आउने गरेको छ । उनले भने, ‘यसबारे मिडियाका साथीहरुले पनि लेखिदिनुप¥यो ।’

महानगरले ब्रमुरले सडक सफा गर्ने रुटहरु नै तोकेको छ । मुल सडक मात्र होइन, तीन मिटरसम्मका भित्री सडकहरुमा समेत ब्रुमरले धुलो बढार्नेछ ।

ब्रुमरले सडकमा भेटिएका प्लास्टिकका बोटलहरु पनि संकलन गर्नेछ भने ६० सेन्टिमिटर अग्लो सडक पेटीको धुलोहरु पनि संकलन गर्ने क्षमता राख्छ । ब्रुमरमा एउटा अगाडि, एउटा बीच भागमा र दुई वटा छेउमा ब्रस छन् भने ५०० मिठर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।

ब्रुमरमा जम्मा भएको फोहोर महानगरको टिपरमा अनलोड गरेर टेकु स्टेशनमा लगिनेछ ।

चालक विक्रेताको, इन्धन महानगरले दिने

महानगरपालिकाका अनुसार एउटा इटालियन ब्रमुरको मूल्य २ करोड १५ लाख १७ हजार ४३६ रुपैयाँ छ । तीन वर्षसम्म महानगरले तोकेको रुटमा सञ्चालन र सर्भिसिङको खर्च विक्रेताले नै व्यहोर्नेछ भने इन्धन महानगरले दिनेछ ।

महानगरले अब इटालियन ब्रुमर नै थप तीन वटा किन्ने योजना बनाएको मेयर शाक्यले बताए ।

चाइनिज ब्रुमर ग्यारेजमा थन्कियो

इटालियन ब्रमुर सडकमा गुड्दा चाइनिज ब्रमुर भने महानगरको ग्यारेजमा थन्किएको छ ।

चीन सरकारले दुई बटा ब्रुमर अनुदानमा दिएको थियो । तर, त्यसले धुलो बढार्न सकेन । साथै मर्मत सम्भारका लागि पाटपूर्जा समेत नपाएको महानगरको गुनासो छ ।

यो पनि पढ्नुहोस काठमाडौंमा यी हुन् ब्रुमरले सफा गर्ने सडक

ब्रुमरले कसरी काम गर्छ ? हेर्नुहोस् भिडियो

तस्वीर/भिडियो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment