२२ बैशाख, ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सोमबार विजयी सुरुवात गरेका छन् ।
यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ ।
सोमबार एकै दिन तीन फरक मैदानमा खेल खेलाइएको छ ।
वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको खेल सोमबार च्यासल मैदानमा खेलाईएको थियो ।
विहानको सो खेलमा ललितपुर महानगरपालिकाले बाग्मती गाउँपालिकालाई ७–३ गोल अन्तरले हराएको छ ।
ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले २–२ गोल गर्दा सनि ब्यन्जनकार, विशाल बानियाँ र नवीन कर्माचार्यले थप एक एक गोल गरे ।
यो खेलसँगै समूह ए बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले ३–३ अंक बटुलेका छन् भने बाग्मती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले कुनै अंक जोडेका छैन ।
सोमबारै एन्फा कम्पेल्स सम्पन्न खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० को फराकिलो अन्तरले हरायो ।
डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले २ गोल गरे भने अखिलेष कार्की, सरोज तामाङ र विराज मर्हजनले १–१ गोल गरे । यस खेल गोदावरी बहुउदेश्य रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात फेरी वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको आयोजकले जनाएको छ ।
अब काठमाडौं र चाँगुनारायणले मध्यपुर ठिमीसँग खेल्न बाँकी छ ।
गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले नै पराजित गर्यो ।
दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक गरे । यस्तै नवीन कर्माचार्यले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ ।
आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा पालिकाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । यस्तै अनुशासित टिमलाई ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिनेछ ।
प्रतिक्रिया 4