
१५ वैशाख, काठमाडौं । लैनचौरमा रहेको ‘दिगु द्यःया देग’ (कुल देवताको घर) जीर्णोद्धार सकिएको छ ।
काठमाडौं महानगरपालिका–२६ ले उपभोक्ता समिति मार्फत जीर्णोद्धार सम्पन्न गराएको हो । वैशाख २०८१ देखि थालिएको जीर्णोद्धारको काम सकिएपछि वडाध्यक्ष ख्यामराज तिवारीले शिलापत्र अनावरण गरेका हुन् ।
‘यो कुलदेवता घर, महानगरपालिकाको वडा नम्बर १७ थँहिटी, क्वाबहालको लघःछे टोलका आदिवासी ज्यापु समुदायको हो । यसको लागत करिब २० लाख रुपैयाँ हो,’ तिवारीले भने, ‘मूल सडकको बीचमा रहेकाले कुनै समय सडक विस्तारका क्रममा यसलाई हटाएर देवता रहेको स्थानमा पनि सडक बनाउने योजना अगाडि सारिएको थियो ।’
परम्परादेखि मानी आएको देवस्थानलाई अन्यत्र सार्न नहुने, यसबाट अनिष्ट सिर्जना हुने भन्दै स्थानीय समुदायबाट विरोध भएपछि देवघर स्थानान्तरण हुनबाट रोकिएको थियो ।
पुनर्निर्माण क्रममा केशरमहलबाट नारायणहिटी पर्खाल हुँदै सोह्रखुट्टेतर्फ लाग्ने चोकबाट लैनचौर फुटबल ग्राउन्ड नजिकसम्म आइल्यान्ड निर्माण गरिएको छ ।
आइल्यान्डको मध्य भागमा देवघर बनाइएको छ । आइल्यान्डमा गमलामा फूल राखेर सजावट गरिएको छ । मन्दिर तले शैलीमा बनाइएको छ । देवस्थल भने सडक सतहभन्दा केही तल छ ।
देवघर शुभारम्भ गरिसकेपछि वडाध्यक्ष तिवारीले वडाबाट सम्पदा पुनर्निर्माणका लागि आधा दर्जन ठूला योजना कार्यान्वयनमा रहेको जानकारी दिए ।
‘ठमेलको गाःहिटी, भगवान बहाल, लैनचौरमा २ वटा ढंगेधारा, कपुरधारामा २ वटा ढुंगेधारा, गल्कोपाखामा एउटा ढुंगेधारा पुनर्निर्माण भइरहेका छन्,’ तिवारीले भने, ‘मौलिक र ऐतिहासिक यस्ता सम्पदा क्षेत्र र पर्यटकीय स्थान ठमेलको अभिन्न सम्बन्ध छ ।’
मन्दिर पुनर्निर्माण समिति अध्यक्ष महेन्द्रराज डंगोल भन्छन् ‘आदिवासी ज्यापु कुलका देवताको मन्दिर पुनर्निर्माणमा वडाले प्रदान गरेको तत्परताबाट समयमा पुनर्निर्माण सम्पन्न हुन सकेको हो । यसबाट परम्परादेखि चलिआएको मान्यता बचाउन ठुलो मद्दत पुगेको छ ।’
कार्यक्रममा ज्यापु संस्कृति विकास कोष अध्यक्ष मंगलकृष्ण सिंह, महागुथि नेपाः अध्यक्ष सत्यनारायण डंगोल, महागुथि नेपाः महानगर समिति अध्यक्ष पञ्चनारायण महर्जन, लघःछे नास पुच अध्यक्ष सुकुकाजी महर्जन सहित सरोकारवालाले प्राचीन र मौलिक स्थान बचाउन, संरक्षण र प्रवद्र्धन गर्न महानगरबाट निरन्तर सहयोग प्राप्त भइरहनुपर्ने बताए ।
शिलापत्र अनावरणअघि पुनर्निर्माण क्रममा भएको गल्तीप्रति क्षमापूजा गरिएको थियो ।
प्रतिक्रिया 4