Comments Add Comment

एसईई परीक्षामा फुटबलर आदित्य

‘ग्रेड ‘बी’ आउने आशा

१४ काठमाडौं । नेपाली फुटबल टिम यो महिना कुवेतसँगको दुई मैत्रीपूर्ण खेल र एएफसी यू–२३ च्याम्पियनसिप छनोट फुटबलमा ब्यस्त बन्यो । राष्ट्रिय टिमका केही खेलाडीसहित यू–२३ टिम कतार उड्यो भने सिनियर टिम कुवेततर्फ ।

तर यी दुबै टिममा राष्ट्रिय फुटबल टिमका भरपर्दा डिफेन्डर आदित्य चौधरी भने थिएनन् । दुबै टिम जित्ने लक्ष्यसहित अभ्यासमा ब्यस्त हुँदा आदित्य पनि गृहजिल्ला सर्लाहीमा अभ्यासमा नै व्यस्त थिए । तर, फुटबल अभ्यासमा होइन, एसईईको परीक्षामा ।

गएको १० गतेबाट सुरु भएको एसईईको तीन वटा परीक्षा आदित्यले दिइसकेका छन् । अंग्रेजी, नेपाली र विज्ञानको परीक्षा सकाएका उनी भन्छन्, ‘अहिलेसम्म राम्रो भएको छ । नेपालीभन्दा बढी अंग्रेजी र विज्ञान विषयको परीक्षा राम्रो भएको छ ।’

‘कलम नछोएको पनि धेरै समय नै भएछ, परीक्षामा लगातार लेख्न गाह्रो त गाह्रै हुँदो रहेछ’ आदित्यले हाँस्दै सुनाए ।

अहिलेसम्म परीक्षा सकेको विषयमा राम्रै नतिजा आउने उनलाई लाग्छ । आदित्य भन्छन्, ‘५० को हारहारीमा अंक आउने अपेक्षा गरेको छु । धैरै अंकको अपेक्षा त छैन ।’

आदित्यले पहिलोपटक २०६८ सालमा एसएलसी दिएका हुन् । त्यसबेला अरु विषयमा राम्रै अंक ल्याए तर विज्ञानले डुबायो । त्यो डुबान अहिले तर्ने तरखरमा छन् उनी ।

बिहीबार (आज) विज्ञान विषयको परीक्षा दिएर फर्किएका उनले यसपटक आफू ढुक्क भएको सुनाए । उनी भन्छन्, ‘त्यसबेला मेरो विज्ञान विषय बिग्रिएको थियो । अँ.., २५ अंक ल्याएको थिएँ । यो पटक त राम्रो भएको छ । रिस फेरेको छु ।’

उनले त्यसबेला पूरक परीक्षा दिने अवसर पाए पनि नेपाली यू–१९ टिममा परेको कारण इरानमा सम्पन्न एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेल्नतर्फ लागे । त्यसले पढाइ रोकिएको थियो ।

बाँकी विषयमा कस्तो ?

नेपाली फुटबलमा राम्रो स्थान हासिल गरेका आदित्य एसईईका विषयमा पनि राम्रो गर्ने बताउँछन् । एभरेस्ट सेकेण्डरी एकेडेमीबाट एसईई दिइरहेका आदित्यको भोलि (शुक्रबार) सामाजिक विषयको परीक्षा छ ।

उनले भने ‘सबै राम्रो हुने अपेक्षा छ । आफूले जति लेख्न सक्यो त्यति हुने न हो । पढ्ने बेलामा पनि भाइहरुले साथ दिइरहेका छन् ।’

कति अंक ल्याएर पास हुने लक्ष्य बनाउनु भएको छ ? भन्ने हाम्रो प्रश्नमा आदित्यले भने, पास त भइन्छ नै । ग्रेड ‘बि’ सम्म आए म खुशी हुनेछु ।’

झण्डै सात वर्षपछि एसईई दिइरहेका आदित्यलाई यो पटक भने लेख्न निकै गाह्रो भएको स्वीकारे । ‘पढ्न चाहिँ अहिले पनि त्यति पढिएन । दुई महिनाको मात्रै तयारी हो । त्यही पनि राम्रै भएको छ’ उनले भने ।

एसएलसी र एसईईको फरक अनुभव

एसएलसीलाई फलामे ढोकाको रुपमा लिइन्थ्यो । त्यही फलामे ढोकाको रुपमा मानिने एसएलसी दिएको अनुभव आदित्यसँग पनि छ ।

एसएलसी र एसईईमा निकै फरक रहेको आदित्य बताउँछन् । ‘पहिले एसएलसी दिँदा खुबै डर हुन्थ्यो । कसरी लेख्ने, कस्तो प्रश्न आउने ? भन्ने डर हुन्थ्यो । अहिले त्यस्तो चाहिँ छैन । पास भइन्छ भन्ने नै छ’ आदित्यले भने ।

परीक्षा दिने कसरी सोचे ?

उनले लामो समयपछि किन एसईई परीक्षा दिए त ? खेलकै दौरानले गर्दा पढाइलाई निरन्तरता दिन नसकेका आदित्य भन्छन्, ‘खेल..खेल..खेल.., भन्ने थियो । अब पढाइ त्यस्तै भयो । फुटबललाई नै राम्रो गर्दै लान्छु भन्ने सोच थियो । तर पढ्नु पनि पर्छ नै ।’

उनको खेल्ने मात्र सोचमा परिवार भने पूरै सहमत थिएनन् । उनलाई खेलपछि के गर्छस् भन्ने प्रश्न तेर्सिन थाल्यो । हुन पनि एउटा खेलाडी सधैभरी खेल्न सक्दैनन् । घरको सल्लाह उनलाई ठीक लाग्यो र उनी एसईईको तयारीमा लागे ।

आदित्य भन्छन्, ‘फुटबल त ३०–३५ वर्षसम्म खेल्छु होला । खेल जीवन सकेपछि के गर्ने त भन्ने भयो । पछि केही सिप काम लाग्छ कि भनेर मैले परीक्षा तयारी गरेँ ।’

धेरै पढ्न खेलले साथ नदिए पनि १२ कक्षासम्म पास गर्ने अठोट उनमा बढेको छ । ‘११ र १२ सम्म पास गरेँ भने पछिको लागि पनि म ढुक्क हुन्छ’ आदित्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment