Comments Add Comment

नेकपाको ब्यानरमा वेपत्ता योद्धा दिवस मनाइँदै


७ जेठ, काठमाडौं । तत्कालीन माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता योद्धा दिवस आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मनाउँदै छ ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि नेकपाको ब्यानरमा मनाउन लागिएको यो पहिलो दिवस हो । दिवसको अवसरमा दिउँसो एक बजे पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कार्यक्रममा बोलाइएको छ । तर ओली सहभागी हुने–नहुने टुंगो लागिसकेको छैन ।

नेकपाका नेता प्रह्लाद बुढाथोकीले भने, ‘कार्यक्रममा प्रधानमन्त्रीले आउने कोशिस गर्छु भन्नु भएको छ । यदि भ्याउनु भएन भने अरु कोही वरिष्ठ नेता आउनुहुन्छ ।’

२०५६ जेठ ७ गते नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने, मिलन नेपाली, नविन गौतम र कमला शर्मालाई काठमाडौंको टेबहालबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएर वेपत्ता पारेको दिनलाई स्मरण गर्दै माओवादीहरुले वेपत्ता योद्धा दिवस मनाउने गरेका छन् ।

माओवादी जनयुद्धको क्रममा माओवादीहरु एक हजार बढी वेपत्ता भएका छन् । उनीहरुको अवस्था सरकारले सार्वजनिक गर्न सकेको छैन । यसैगरी १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु भएकाका परिवारलाई १० लाख र वेपत्ता परिवारलाई ५ लाख रुपैयाँ दिने निर्णय यसअघिका सरकारले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment