Comments Add Comment

डा. देवकोटा ! मर्न पाउँदैनौ ! बरु जीवनबुटी खाऊ


मृत्युशय्यामा तड्पिरहेका हजारौंलाई जीवनदान दिन सफल डा. उपेन्द्र देवकोटा आज आफैं मृत्युसँग पौंठाजोरी खेल्दै जन्मथलोको मातृस्नेहभावी जलले आफ्नो हृदयमात्र सर्साएनन् देशभक्तहरुमा स्वदेशको ममता सिँचन गरी देखाए । यो प्रसङ्गले वहाँप्रति हार्दिक नमन गर्न मन नपल्हाउने को होला र ?

डाक्टरसाहेब ! मातृभूमिको जलले तपाईंलाई अमृतको काम गर्नेछ । अब कुनै यमदूतको केही दया चल्नेछैन । कदाचित् यमलोकमा तपाईंका लागि ठाउँ बनाएरै आएका रहेछन् भने पनि मन नदुखाउनुहोस्, हामी जान तत्पर छौं । किनभने, यहाँ अरु धेरैको जीवन बचाउनै बाँकी छ, तपाईंका उत्तराधिकारीहरुलाई खुलस्त पारेर जिम्मेवारी सुम्पनै बाँकी छ ।

लोकगायक पुरुषोत्तम न्यौपानेले गाएका छन्– को बस्छ र धर्तीमा सधैं, बैना मार्छ मृत्युले जन्मँदै…

त्यस्तै तपाईं पनि जुगानुजुग रहिरहनुहोस्, यो त हाम्रो पनि धृष्टता ठहर्नेछ । तर अहिले यो अप्रत्यासित र असामयिक मृत्युवरण गर्ने छुट तपाईंलाई छैन ।

तपाईं कृत्रिम औषधीको सहारा भाँचिएर अपाङ्ग बनेको नठान्नुहोस् । आमाहरुको हियारा छिचोलेर सिस्नेधाराहरुबाट खसेको अमृतजलको औषधीय गुण समस्त धरामा प्रचार गर्न पनि तपाईं जिउनुपर्छ । विवशताको घुम्टोमा द्रव्यपिशाची मुना मनमा पलाउन नपाउँदै विदेश पलायन भएकाहरुलाई तपाईंको सुविधासम्पन्न अस्पतालको उपचारबाट जन्मभूमि फर्कने रहरले उँधोमुन्टो लगाएर सोच्न बाध्य पारेको छ । तपाईं त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थल पदार्पण गरी मातृभूमिलाई नमन गर्दै एक चिम्टी माटो उठाएर लगाएको मृतिकाविभूतिको तिलक सच्चा नेपालीको हृदयमा अमीट रहेको छ र अनुपम प्रेरणाको स्रोत बनेको छ । यसमा पनि ध्यान पुर्याउनु पर्नेछ तपाईंले ।

फेरि गोर्खाको पालुङटार नगरपालिका–४, बोहोरागाउँस्थित आफ्नो जन्मघरको पिँढीमा अडेसिएपछि तपाईंको अनुहारमा प्रकट भएका आत्मसन्तुष्टिका भावहरुबाट सारा धर्तीमा ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ को सन्देश फैलाउन पनि मर्न पाउनुहुन्न र मर्नुहुन्न डाक्टर ! हामी तपाईंको पछाडि लामवद्ध छौं ।

प्राकृतिकताबाट टाढिएर, मानवीय भाव स्खलित गरेर, भौतिकताको आडमा आध्यात्मिकता पन्छाएर, जन्मजनित सेवाभावलाई मेवाभावमा परिभाषित गरेर बिग्रिसक्न थालेको यो धर्तीमा विकृतिको रोगमा मल्हमपट्टि गर्नै पर्ने भैसकेको छ । यसका लागि कुनै सेलिब्रेटीबाट सन्देश प्रवाह गर्नु उपयुक्त ठानी चराचर जगत मातापिताले रचेको नाटक हो यो, तिमी आत्तिन जरुरी छैन डाक्टर ।

नत्र तिमीले के त्यस्तो गरेथ्यौ हाम्रो पिठिमपरी र किमोथेरापीले उल्टै क्यान्सर सेल बढायो ? अनि किन तिमेरले त्यसका प्रतिपादकलाई ठूलाठालु ठान्न लगाएका छौ त हामीजस्ता सोझासाझालाई ? के तिमीले दुनियाँलाई उपचार गर्दा त्यही ऐलोपेथी दबाइ नै हैन र प्रयोग गर्ने गरेको ? बेलायतको ऐयासी अस्पतालको सेवामा तुष्टि पाउन नसकेर स्वदेशमा फर्किन्छु भनी विमानस्थलमा पदार्पण गर्दा धर्तीमातालाई नमस्कार गरी एक चिम्टी माटो निधारमा घसेको बनावटी लेपन हो ? के तिम्रा नाउँमा सारा नेपालीले सट्टाजीवन दिन खोजेकोबाट कुनै ‘औरा’ नबनेको होला ? अनि त्यसको सुनुवाइ नगरेर यमराजलाई धर होला त ?

अहँ ! हामीलाई विश्वास छैन देवकोटा सर । हामीले उल्लेख गरेका यी व्यहोराहरु नक्कली हैनन् । यो त तिम्राउपर प्रकृतिले गरेको सजीव प्रयोग हो । नआत्तिऊ डाक्टर ! तिमी यति चाँडै हामीलाई छाडेर जानसक्ने छैनौ ।

बरु तिमीले शीरोधार्य गरी सम्मान गरेको हाम्रो मातृभूमिमा नभएको त्यहि समुद्र सतहबाट ७२ मिटरसम्मको भूभाग न हो । त्यसपछि सर्वोच्च शिखरसम्मको हिमाल, पहाड, तराईका हाम्रा भूभागमा नपाइने वनस्पति नै के छ र ? ‘नौषधं वर्तते मूलं’ भनेकै छ हाम्रो आदिशास्त्रले ।

जडीबुटी विज्ञहरुले सुझाइदेऊ, सिस्नेधाराको पानी जडिबुटी थिचेर, साँधेर कपडछान गरी खाऊ । अँ ! हिमालतिर ‘यार्सागुम्बा’लाई ‘जीवनबुटी’ पनि भनिन्छ, बिहान–बेलुका एकुन्टा खाने गर त ! त्यतातिर मानवजीवनमा जुनसुकै असञ्च भएपनि यार्सा खाएपछि सञ्च हुने भएकाले नामै जीवनबुटी राखेका छौं हामीले ।

मातृभूमि, जन्मथलो, छरछिमेक, बालसखा, बाल्यकालको हावापानी र माटोसँगको मिलापत्र मानव जीवनका सबैभन्दा बहुमूल्य निधि हुन् । यिनीहरुको विमोहमा पन्पिएको नेपालीपनमा कृत्रिम रुपमा प्रवेशिएर भौतिकताले मानमर्यादा, रीतिरिवाज, मूल्य मान्यतामा ल्याउँदै गरेको स्खलनलाई तिमीमार्फत् उपचार गर्न/गराउन आध्यात्मिकताले गरेको शक्ति प्रदर्शन हो ।

नआत्तिऊ डाक्टरसाहेब ! तिम्रा भावना, विचार, सेवा सच्चा थिए, जसको निरन्तरताको खातिर तिम्रै तन र मन मार्फत् उल्लेखित अमूल्य निधिहरुप्रति मोह जगाउन गरिएको प्राकृतिक खेल हो । र, हुन सक्छ, हामी सबैको चाहना र कामनाका बलले पनि तिमीलाई मर्न दिँदैन । बरु थाकेकै भए, सिस्नेधाराको पानीसँग जीबनबुटी खाऊ । नागका थान वरिपरिको पवित्र माटो लेपन गरी पिपलका फेदमा सुस्ताऊ । तर, हामीलाई छोडेर जान कसै पाउँदैनौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment