Comments Add Comment

फोहोर बन्दै सगरमाथा, धरौटीले काम गरेन

७ असार, काठमाडौं । दशकौंदेखिको व्यवसायिक पर्वतारोहणले सर्वोच्च शिखर सगरमाथालाई विश्वकै सबैभन्दा उच्च स्थानको फोहोरको थुप्रोको रुपमा परिणत गरेको छ ।

बढ्दो सङ्ख्याका खर्चालु आरोहीहरुले हिमालमा छोड्ने आफ्नो पाइलामा खासै ध्यान नदिनाले यस्तो समस्या निम्तिएको हो ।

फ्लोरोसेन्ट टेन्ट, आरोहणको लागि आवश्यक उपकरण, खाली ग्यास क्यानिस्टर र मानिसका मलमूत्रसमेतले ८,८४८ मिटर अग्लो हिमाल चढ्ने रुटलाई धेरै फोहोर बनाएको छ ।

‘यो देख्दा नराम्रो लाग्छ, आँखा बिझाउँछ,’ १७ पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेम्बा दोर्जे शेर्पा भन्छन्, ‘हिमालले धेरै फोहोर बोकेको छ ।’

प्रत्येक वर्ष आरोहीको सङ्ख्या बढ्दै गइरहेको छ । यो वर्ष मात्रै ६०० भन्दा धेरैले सगरमाथाको सफल आरोहण गरिसकेका छन्, तर समस्या झनै खराब भएको छ ।

६५ वर्षर्अघि एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो आरोहण गर्दादेखि थुप्रिएर हिउँले ढाकिएका फोहोरहरु पनि जलवायु परिवर्तनको कारण हिमनदीहरु पग्लिएपछि अहिले सतहमा देखिँदैछन् ।

यसबीचमा सगरमाथाको फोहोर हटाउने प्रयासहरु नभएका भने होइनन् । पाँच वर्षअघि नेपाल सरकारले आरोहणमा जाने प्रत्येक दलले ४ हजार डलर धरौटी राख्ने र यदि प्रत्येक आरोहीले आठ किलो फोहोर बोकेर ल्याए भने मात्रै उक्त रकम फिर्ता पाउने नियम लागु गर्‍यो ।

हिमालको तिब्बती रुटमा पनि उनीहरुलाई त्यति नै मात्राको फोहोर ल्याउन भनिन्छ र यदि उनीहरुले ल्याएनन् भने प्रतिकिलो सय डलरको दरले जरिवाना तिराइन्छ ।

सगरमाथा प्रदुषण नियन्त्रण समितिका अनुसार सन् २०१७ मा मात्रै नेपाली पर्वतारोहीहरुले झण्डै २५ टन नसड्ने फोहोर र १५ टन मानव फोहोर सगरमाथाबाट बोकेर तल ल्याएका थिए ।

यो सिजन पोहोरभन्दा धेरै फोहोर तल झारिएको छ तर, यो सगरमाथामा थुपि्रने फोहोरको सानो हिस्सामात्रै हो । किनभने आधा जति आरोहीहरुले मात्रै नियमानुसार ल्याउनुपर्ने परिमाणको फोहोर तल बोकेर ल्याउँछन् ।

आरोहण अनुभवको लागि २० हजारदेखि १ लाख डलरसम्म खर्च गर्ने आरोहीहरुले बरु त्यसको सट्टा समुन्द्रमा एक थोपा पानी जस्तो थोरै लाग्ने आफ्नो धरौटी रकम गुमाउन तयार हुन्छन् ।

पेम्बा भन्छन्, ‘त्यसैले धेरैले ध्यान दिँदैनन् । केही सरकारी अधिकारीहरुले सानो रकम घुस लिएर यस कुरामा आँखा चिम्लनाले पनि समस्या बढदै गएको छ ।’

‘हिमाललाई सफा राख्न उच्च शिविरहरुमा पर्याप्त निगरानी छैन,’ उनले भने ।

अनुभवहीन आरोहीहरु

पछिल्लो दुई दशकमा सगरमाथा आरोहण उद्योग अत्याधिक छिटो बढेको छ ।

यसले भिडभाडको चिन्ता बढाएको छ भने अनुभवहीन पर्वतारोहीहरुलाई कम मूल्यमा एक्सपिडिसन गराउने कम्पनीहरुले तान्न सक्ने डर छ ।
दुई दशकदेखि जुम्ल्याहा भाइ बिलिको साथ सगरमाथा आरोहण गर्दै आएका डामिएन बेनेगासका अनुसार अनुभवहिनले नै फोहोरको समस्या बढाउन पनि भूमिका खेलेका छन् ।

स्थानीय शेर्पा जातीका उच्च हिमाली गाइड र कामदारहरुले टेन्ट, अक्सिजन सिलिण्डरहरु, डोरीहरु जस्ता सामानहरु बोकेर हिमालमा लैजान्छन् र आरोहण सकिएपछि त्यसलाई तल झार्छन् ।

पहिले धेरैजसो आरोहीहरुले आफ्नो व्यक्तिगत किट जस्तैः थप कपडाहरु, खानेकुरा, स्लिपिङ ब्यागको साथै सप्लिमेन्टल अक्सिजन पनि लैजाने गर्थे । तर, आजकाल धेरै पर्वतारोहीहरु आफ्नो सामान बोक्न सक्दैनन् र सबै थोक शेर्पाहरुलाई बोकाउँछन् ।

‘उनीहरुले पहिले क्लाइन्टको सामान बोक्न पर्छ, त्यसैले सबै फोहोरहरु बोकेर तल ल्याउन सक्दैनन्’ बेनेगासले भने ।

‘एक्पिडिसन अपरेटरहरुले सबै ग्राहकहरुलाई निश्चिन्त बनाउन जरुरी छ,’ उनले भने, ‘उनीहरुको किट र फोहोरहरुलाई माथि पुर्‍याउन र तल झार्न धेरै गाइड र भरियाहरुलाई काममा लगाउनुपर्छ ।’

कच्चा फोहोर

सगरमाथाको प्रदुषणको बारेमा वातावरणविदहरु चिन्तित भएका छन् र प्रदुषणले तल उपत्यकामा आउने पानीको स्रोतमा पनि असर गरेको उनीहरुले बताएका छन् ।

अहिले आधार शिविरबाट मलमूत्र लगायतका कच्चा फोहोरहरु करिब एक घन्टाको दूरीमा रहेको नजिकैको गाउँमा बोकेर लगिन्छ र त्यसलाई खाडल खनेर पुरिन्छ ।

तर, वर्षायामको समयमा फोहोर त्यहाँबाट बगेर तल पुग्ने गरेको अमेरिकी इन्जिनियर ग्यारी पोर्टरले बताए ।

ग्यारीको टिमले आधारशिविर नजिकै बायोग्यास प्लान्ट राख्ने विचार गरेका छन्, जसले आरोहीहरुको दिशापिसाबलाई उपयोगी मल बनाउने छ ।

नेपाल माउन्टेनियरिङ एसोसियसनका अध्यक्ष आङछिरिङ शेर्पाले भने अर्को समाधानको बाटो सुझाएका छन् । उनले सगरमाथाको फोहोरमैला व्यवस्थापन गर्न विशेष संकलन टिम नै बनाउनुपर्ने आवश्यकता औल्याए ।

उनको एक्स्पिडिसन अपरेटर एसिएन ट्रेकिङले एक दशकदेखि इको एभरेष्ट एक्सपिडिसन सञ्चालन गरिरहेको छ । त्यसक्रममा उसले १८ टनभन्दा धेरै फोहोर सगरमाथाबाट तल झारेको छ ।

त्यस्तै चीनको सरकारी ग्लोबल टाइम्सका अनुसार उत्तरी क्षेत्रबाट अघिल्लो महिना ३० बलिया सफाइ टिमले साँढे ८ टन फोहोर ल्याएका छन् ।

आङछिरिङ भन्छन्, ‘यो सजिलो काम होइन, सरकारले सगरमाथाको सफाई गर्न आरोही दलहरुलाई प्रोत्साहित गरेर नियमहरु कडाइका साथ लागू गर्नुपर्छ ।’

(एएफपीले तयार पारेकाे यो सामाग्री हामीले  पाकिस्तानी पत्रिका डन बाट साभार गरेका हाैं) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment