Comments Add Comment

कार्यवाहक प्रधानमन्त्रीदेखि राजदूतसम्मले लिए योगको आनन्द


७ असार, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे प्राङ्गणकाे स्टेज । स्टेजको पहिलो लहरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीलगायत लाम लागेका छन् । पछिल्ला लहर र स्टेज अगाडि मैदानमा उसैगरी सहभागीहरु पोजिसनमा छन् । केहीबेरमा सबै सहभागी थचक्क भुइँमा बस्छन् र योगका अनेक आसनमा लिन हुन्छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्राङ्गणमा बिहीबार बिहान देखिएको दृश्य हो, यो । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहीबार बिहान पतञ्जलि योगपीठले याेग कार्यक्रमकाे आयोजना गरेको थियाे । बिहानैदेखि वर्षा भए पनि त्यसकाे पर्बाह नगरी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीदेखि सर्वसाधारणसम्मले योगको आनन्द लिए ।

योगा आशनपछि बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताए ।

आम जीवन पद्धतिका रुपमा योगको महत्त्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि योग केन्द्र अपरिहार्य रहेको उनको भनाइ थियो ।

रक्षामन्त्रीसमेत रहेका पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताए ।

भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment