Comments Add Comment

कृषि र सिञ्चाई मन्त्री धेरै भएको जिल्लामै कृषिको बेहाल

सप्तरीमा डेढ प्रतिशतमात्रै रोपाईं

१५ असार, सप्तरी । शुक्रबार असार १५ गते देशको विभिन्न ठाउँमा धान दिवस मनाइएको छ । मन्त्रीदेखि विभिन्न ओहोदामा रहेका व्यक्तिहरुले धान दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाएका छन् ।

कोही हिलोमा पसेर धान रोपेका छन् भने कसैले धानको बेर्ना घाँटीमा झुण्डयाएका छन् । अत्यधिक धान उत्पादन हुने सप्तरी जिल्लामा भने धान दिवस कतै मनाइएन ।

यसअघि जिल्ला कृषि विकास कार्यालयले प्रत्येक बर्ष धान दिवस मनाउँदै आए पनि यस पटक मनाएनन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भगीरथ यादवले यो कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई दिइएकाले नमनाइएको बताए । उनले सुरुंगा नगरपालिकामा एक गैर सरकारी संस्थाले मनाएको दिवसमा आफूले सहभागिता जनाएको बताए ।

यसअघिका वर्षहरुमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरकारी अधिकारीहरु समेत धान दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका थिए । प्रदेशका कृषि मन्त्री सप्तरी जिल्लाकै भए पनि जिल्लामा सरकारीस्तरबाट धान दिवस सम्बन्धी कुनै कार्यक्रम आयोजना नगरिनु बिडम्बना हो ।

रोपाईंको अवस्था कहालीलाग्दो

सप्तरी जिल्लामा धान खेतीयोग्य ७० हजार हेक्टर जग्गा छ । धानको उत्पादन राम्रो भए यो जिल्लालाई खाद्यान्नका लागि परनिर्भर हुनुपर्ने अवस्था आउँदैन । तर यस पटक रोपाईंको अवस्था कहालीलाग्दो छ । असार १५ बितिसक्दा समेत जिल्लामा बर्ष नहुँदा अधिकांश खेत बाँझै रहेको छ । वर्षको अभावमा कृषकहरुले लगाएको बेर्ना समेत डढ्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याकलाई हेर्ने हो भने असार १५ गतेसम्म एक हजार हेक्टर जग्गामा मात्रै रोपाईं हुन सकेको छ । यो तथ्यांक कुल खेतीयोग्य जग्गामध्ये डेढ प्रतिशतमा भएको रोपाईं मात्र हो ।

यसअघिका वर्षहरुमा असार १५ सम्म कम्तीमा १२ प्रतिशतसम्म रोपाईं सकिसकेको हुन्थ्यो, जिल्ला कृषि विकास कार्यालयका प्रमुख यादवले भने, ‘तर यस पटक बर्ष नहुँदा खेत बाँझै रहने सम्भावना देखिन्छ ।’

उनले सिञ्चाईको व्यवस्था भएका ठाउँहरुमा मात्रै रोपाईं भएको सुनाए । जिल्लामा कोशी पम्प नहर, चन्द्र नहर भएका ठाउँहरुमा रोपाईं भएको छ । अधिकांस जग्गा आकाशे पानीकै भरमा रहेको उनले बताए । उनले धेरै ठाउँमा सिञ्चाईको अवस्था अझै नभएकाले कृषकहरु पीडित बन्ने गरेको बताए ।

धेरै कृषि मन्त्री र सिञ्चाई मन्त्री पाएको जिल्लाको हाल बेहाल

कृषिमा निर्भर रहेको सप्तरी जिल्लाले पटक पटक कृषि मन्त्री पाएका छन् । एक पटक सिञ्चाई मन्त्रीसमेत पाएको यो जिल्लाले अहिले पनि प्रदेशका कृषि मन्त्री पाएकै छन् । प्रदेश २ का वर्तमान कृषि मन्त्री शैलेन्द्र साह सप्तरीकै प्रदेश सांसद हुन् ।

वर्तमान समयमा प्रदेशका कृषि मन्त्री यही जिल्लाको भए पनि विगतमा तीन जना लगातार यही जिल्लाका कृषि मन्त्री बनिसकेका छन् । पहिलो संविधानसभाको निर्वाचनपछि बनेका सरकारहरुमा तीन जना कृषि मन्त्री बन्ने सौभाग्य प्राप्त गरे सप्तरीबाट । कृषि मन्त्री बन्ने तीनै जना मधेसवादी दलका थिए ।

शुरुमा जयप्रकाशप्रसाद गुप्ता बने । उनी सत्ता बाहिर आउँदा मृगेन्द्रकुमार सिंह र उनीलगत्तै नन्दन दत्त कृषि मन्त्री बनेका थिए । त्यसबेला यिनीहरु फोरम नेपालबाट सरकारमा सहभागी भएका थिए । २०७२ सालमा बनेको केपी ओली नेतृत्वको सरकारमा यसै जिल्लाका उमेश यादव सिञ्चाई मन्त्री बने । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सरकारमा गएका थिए ।

लगातार यत्रो कृषि मन्त्री र सिञ्चाई मन्त्री भएको सप्तरी जिल्लाका कृषकहरुले हालसम्म समस्या भोग्दै आएका छन् । पानी नपरे अधिकांस खेत बाँझै रहने समस्या अहिलेसम्म विद्यमान नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment