Comments Add Comment

किन नकारात्मक हुँदैछ नेपाली समाज ?

किरण गुरुङ

३० असार, पोखरा । ‘अर्बौंको घर छ । लाखौं घर भाडा उठ्छ । पाएसम्म कर छल्न पाए हुन्थ्यो भन्छन् । आय कर बुझाउँदैन । घर अगाडि सडकमा सानो खाल्डो पर्छ, त्यो केही हजारमा टाल्न सकिन्छ । तर, सरकारलाई गाली गर्न थाल्छ ।’

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङको भनाइ हो, यो । आफू केही नगर्ने तर, सरकारलाई गाली गरेर बस्ने प्रवृत्ति बढेको देखेर गम खाएका नेकपाका नेता समेत रहेका मन्त्री गुरुङ भन्छन्, ‘हामीले यो कस्तो समाजको निर्माण गरिरहेका छौं ।’

‘हामी दायित्व बुझ्दै बुझ्दैनौं । युरोप, अमेरिकाको कुरा गर्छाैं तर आफ्नै कर्तव्य बिर्सन्छौं ।’

अरुको विरोध गर्ने तर आफ्नो ठाउँबाट गर्नुपर्ने काम चाहिँ नगर्ने प्रवृत्ति किन यसरी मौलाउँदै छ ? अर्थमन्त्री किरण प्रश्न गर्छन् । अरु देश कसरी समृद्ध भए भन्ने अध्ययन गर्नुभन्दा कि अति आलोचना कि अति प्रशंसामा रमाइरहेको उनी बताउँछन् ।

भनिन्छ, संसारमा सबैभन्दा बढी आलोचना र आँसु बिक्छ । यो-त्यो नभनी नेपाली समाज अध्ययन गर्ने हो भने पनि आँसुको संवेदनामा मान्छे यसरी डुब्छ, सत्य के हो भन्ने नै खोज्दैन । कसैको विरोध र कडा आलोचना गर्‍यो, खिसीट्युरी गर्‍यो भने अधिकांश मान्छे खुसी हुन्छ । अर्को अति गालीमा उत्रिन्छ र त्यसमा आत्मसन्तुष्टि देख्छ । अर्थमन्त्री किरण गुरुङ शुक्रबार यस्तै भावमा डुबे ।

‘नेपाली समाज अध्ययन गर्न नपाउँदै युवा विदेसिन्छ र फर्किंदा अधिकांशले सिकेर आउने भनेको नगेटिभ कुरा हो जस्तो देखिन्छ,’ अर्थमन्त्री गुरुङले भने, ‘तपाईं सामाजिक सञ्जाल हेर्नुभयो भने अधिकांशले सरकारको आलोचना गर्ने, नेताको आलोचना गर्ने र जे कुरामा पनि नियोजित तथा अतिमा रमाउने प्रवृत्ति विकसित भइरहेको छ ।’ यस्तो खालको रोगले पार्टी, समाज र व्यक्ति कसैलाई पनि गतिलो बाटोमा नहिँडाउने उनको भनाइ छ ।

कर्मचारी आफ्नो काम गर्न छोडेर सरकारलाई गाली गर्छ, आफ्नो अफिसको चिन्ता नगरेर देशको चिन्ता गर्छ । पहिले आफूले गर्ने कामको चिन्ता गरौं, सबैले आफ्नो जिम्मेवारी पूरा गरे देश आफैं बन्छ

मानिसहरुमा रहेको यस्तो नकारात्मक सोच रहेसम्म समृद्धि हासिल हुन नसक्ने गुरुङको ठम्याइ छ । ‘हामी कसैको अपमान गर्छौं, कसैको खोइरो खन्छौं । सानो कुरालाई तिल र पहाड बनाउँछौं । त्यसैको सिको अर्कोले गर्छ,’ गुरुङले भने, ‘एउटाले अर्कोलाई खुइल्याउने प्रवृत्तिले कसैलाई फाइदा गर्दैन ।’

घरमा पाहुना बोलाउने अनि गाली गरेर पठाउने, पाहुना खान जाने र खान बोलाउनेलाई उल्टै गाली गरेर हिँड्ने प्रवृत्ति मौलाउँदै गइरहेको उनको भनाइ थियो ।

अन्नपूर्ण गाउँपालिकाको चौथो गाउँसभामा राजनीतिभन्दा समाजबारे धेरै बोलेका अर्थमन्त्री गुरुङले पहिले आफूले गर्न सक्ने काम गरेरमात्र अरुमाथि औंला उठाउन आग्रह गरे । ‘कर्मचारी आफ्नो काम गर्न छोडेर सरकारलाई गाली गर्छ, आफ्नो अफिसको चिन्ता नगरेर देशको चिन्ता गर्छ,’ गुरुङले भने, ‘पहिले आफूले गर्ने कामको चिन्ता गरौं, सबैले आफ्नो जिम्मेवारी पूरा गरे देश आफैं बन्छ ।’

हिजो निरंकुशता फाल्न र लोकतन्त्र प्राप्तिका निम्ति अपनाइएको शैली र संस्कार परिवर्तन हुनुपर्ने उनको भनाइ थियो ।

जसको देशका लागि कुनै रगत पसिना बगेको छैन उसैले नेतालाई गाली गर्दै ‘जनताको रगत पसिना चुस्यो’ भन्नु उपयुक्त नभएको गुरुङले बताए । ‘जसको रगत पसिना नै बगेको छैन उसले रगत पसिना चुसेको भन्न मिल्दैन । सरकारलाई तिर्नुपर्ने कर नतिर्ने, आफ्नो अन्य कर्तव्य भुलेर गाली गरेर बस्ने, अनि नेताले हाम्रो रगत पसिना चुस्यो भन्न पाइन्छ ?’ अर्थमन्त्री गुरुङले भने ।

सबै नागरिक करको दायरामा आउनुपर्ने भन्दै उनले कर तिर्न परे राज्यले लुट्यो भन्ने मानसिकता त्याग्न आग्रह गरे । ‘उद्योगीले तिर्ने कर भनेको उद्योगको हो, व्यवसायीले तिर्ने कर भनेको व्यवसायको हो । व्यक्तिले तिर्ने भनेको आफ्नो आयको कर हो ।’

एक पैसा कर नतिर्ने, आफ्नो जिम्मेवारीबाट भाग्ने व्यक्तिलाई अरुमाथि औंला ठड्याउने अधिकार नभएको उनको भनाइ छ । राजस्वबिना राज्यको ढुकुटी बढ्न नसक्ने र ढुकुटी बिना रोजगारी सिर्जना तथा देशको विकास हुन नसक्ने गुरुङले बताए । नेपालमा कर छल्न पाए खुसी हुने प्रवृत्ति रहेको उनले बताए । सकेसम्म सरकारलाई कर तिर्न नपरे हुन्थ्यो भन्ने तर देशले यस्तो गरेन उस्तो गरेन भन्न चाहिँ नछोड्ने काम भइरहेको उनको भनाइ छ ।

आफ्नो आय स्वयं घोषणा गरेर कर तिर भनेर सरकारले भनिरहेको तर आयको निश्चित रकम तिर्नुपर्छ भन्ने संस्कारको विकास नै नभएको उनले बताए । विकसित देशमा आयकर तिर्नेमात्रै सच्चा नागरिक भनेर चिनिने उनले बताए ।

विकसित देशहरुमा १८ वर्ष पुगिसकेपछि उत्पादनमा लाग्ने र कमाइबाट राज्यलाई कर बुझाउने उनी बताउँछन् । ‘समृद्ध देशहरुमा हाम्रोमा जस्तो बाआमाको सम्पत्ति भनेर मोज गरेर हिँड्ने हुँदैन । उत्पादनमा लाग्नुपर्छ र कमाइबाट देशलाई कर बुझाउनुपर्छ,’ अर्थमन्त्री गुरुङले भँछन्, ‘अनि त्यहाँ सामाजिक सुरक्षा, सेवा सुविधा, बालबच्चा, वृद्धवृद्धा सबैको व्यवस्था राज्यले गर्छ ।’

अर्थमन्त्री भनेकै पैसा वा धन बाँड्ने हो भन्ने सोच रहेको बताउँदै गुरुङले अर्थमन्त्री पैसा बाँड्ने व्यक्ति नभइ उठाउने व्यक्ति भएको बताए । राजस्व नउठाई पैसा बाँड्न नसकिने भएकाले पहिले राजस्व उठाउनतर्फ सरकारको ध्यान जाने गुरुङले बताए । कर तिर्‍यो भने बजेटको आकार ठूलो हुने र बजेटको आकार ठूलो भएमात्र विकास निर्माण हुन सक्ने उनले बताए । समृद्ध प्रदेश निर्माणका लागि प्रदेश सरकारले समन्यायिक हिसाबले बजेट ल्याएको गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment