Comments Add Comment

धनगढीलाई नमूना शहर बनाउन छलफल


१ साउन, कैलाली । धनगढी उपमहानगरपालिकामा भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन) निर्माणका विषयमा न्यूआईटी भेन्चरका प्रतिनिधि र स्मार्ट सिटी समन्वय समितिबीच छलफल भएको छ ।

न्यूआईटी भेन्चर गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टलगायतका व्यक्तिहरुको कम्पनी हो । धनगढीलाई स्मार्टसिटी बनाउने कार्यअन्तर्गत मोडेल टाउन निर्माण गरिन थालेको धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए ।

‘मोडेल टाउन मात्रै निर्माण गर्न सके त्यसले धनगढीमा भारतीय ग्राहकहरुलाई आकर्षण गर्ने छ’, उनले भने ।

आईटी भेन्चरले धनगढीमा झण्डै एक अर्ब २० करोडको लगानीमा मोडेल टाउन निर्माण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । हामी सबै प्रक्रियाको अन्तिम चरणमा छौं, आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीले भने, ‘यो सार्वजनिक निजी साझेदारीको अवधारणामा निर्माण हुनेछ । यसका लागि २ महिनाभित्र शेयर खुला गरिने छ । आईटी भेन्चर जापानमा रहेका प्रवासी नेपालीहरुको कम्पनी हो ।

आईटी भेन्चरका प्रतिनिधि कमल अधिकारीका अनुसार यो झण्डै २ बिगाहाको क्षेत्रफलमा निर्माण गरिने छ । यो टाउन ९ तले र ७ तले ९ वटा भवनमा निर्माण गरिने छ जहाँ ९ तले भवनको माथि धनगढी नगर हेर्न सकिने भ्यूटावर समेत निर्माण गरिने छ । पहिलो ९ तले भवनमा ब्रान्डेड सोरुम, होटेल, फिटनेस सेन्टर र भ्यूटावर हुनेछ भने दोस्रो ७ तले भवनमा परम्परागत प्रविधि, विज्ञान ल्याव, आवश्यकीय कार्यालय र सेमिनार हल निर्माण गरिने आईटी भेन्चरका प्रतिनिधि अधिकारीले बताए ।

मोडेल टाउनको निर्माण २ वर्षभित्र सम्पन्न गरिसक्ने आईटी भेन्चरको योजना छ । धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप मोडेल टाउन निर्माण गरिन थालेको हो । निर्माण स्थलका बारेमा छलफल भइरहेको बताउँदै आईटी अधिकारीले भने, ‘विभिन्न ठाउँमा माटो परिक्षणको नमूना लिएका छौं । केही दिनमै टुङ्गो लगाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment