Comments Add Comment

उत्तर कोरियाले फिर्ता गर्‍यो ५५ अमेरिकी सैनिकको अस्तु

११ साउन काठमाडौं । उत्तर कोरियाले कोरियाली युद्धमा मारिएका ५५ अमेरिकी सैनिकको अस्तु अमेरिकालाई फिर्ता गरेको छ ।

यसले दशकौंसम्म पीडामा बाँचेका सैनिक परिवारलाई नयाँ आशा दिएको जनाइएको छ । यस कदमले वासिंङ्टनसँगको कुटनीतिक सम्बन्ध सुधारको लागि प्योङयाङ सचेत भएको संकेत दिएको छ ।

उत्तर कोरियाले फिर्ता गरेको अस्तुलाई दक्षिण कोरियास्थित अमेरिकी सैनिकको क्याम्पमा राखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जुनमा भएको सिङ्गापुर शिखर वार्ताको सम्झौताअनुसार उत्तरले सैनिकहरुको अस्तु अमेरिकालाई हस्तान्तरण गरेको हो ।

यसले दशकौंदेखि पीडामा बाँचेका ती सैनिकका परिवारहरुलाई केही मात्रामा भएपनि राहत मिलेको छ । हराएका एक सैनिककी छोरीले बीबीसीलाई भनेकी छिन्, ‘आफूले माया गर्ने मानिसलाई के भयो भन्ने थाहा नपाई बाँच्न धेरै कठिन हुन्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको यस कदमपछि किम जोङ उनलाई धन्यवाद दिँदै टि्वट गरेका छन् ।

उनले भनेका छन्, ‘अमेरिकी सैनिकको अस्तु उत्तर कोरियाबाट छिट्टै नै अमेरिका ल्याइने छ । धेरै वर्षपछि यो धेरै परिवारको लागि महत्वपूर्ण क्षण हुनेछन् । धन्यवाद किम जोङ उन ।’

सिङ्गापुर वार्तामा ट्रम्प र किमले कोरियन प्रायद्विपलाई पूरै निसस्त्रीकरण गर्ने सम्झौता गरेका थिए । तर, सम्झौतामा प्योङयाङले कसरी आफ्नो आणविक हतियारलाई नष्ट गर्ने भन्नेबारेमा विस्तृतमा नखुलाइएकोमा धेरैले आशंका व्यक्त गरेका थिए ।

यस्तैमा उसले अमेरिकी सैनिकको अस्तु फिर्ता गरेकाले केही सकारात्मक सन्देश दिएको छ । कोरियाली युद्ध सकिएको ६५ वर्षपछि उत्तरले मारिएका अमेरिकी सैनिकका अस्तु फिर्ता गरेको हो ।

‘एक भावनात्मक र सांकेतिक कदम’

उत्तर कोरियाले फिर्ता गरेको ५५ सैनिकको अस्तुको फरेन्सिक परीक्षण गरिनेछ । उनीहरु मारिएका अमेरिकी सैनिक हो कि होइन भनेर पुष्टि गरिने छ । यसको लागि वर्षौं लाग्ने अमेरिकाले जनाएको छ ।

साना काठका क्यास्केटहरु युएनको झण्डाले बेरिएका थिए र त्यसलाई सावधानीपूर्वक एक पछि अर्को गरेर विमानबाट निकालेर अमेरिकी क्याम्पको माटोमा राखिएको थियो ।

सयौं अमेरिकी सैनिकहरु र उनीहरुका परिवार वुसान बेस क्याम्पमा सलामीको लागि आएका थिए र त्यसको अन्तिम यात्रामा लागि लाइन बसेका थिए ।

समारोह अगाडि उनीहरुलाई इतिहासको महत्वपूर्ण क्षण हेरिरहेको बताइएको थियो । उनीहरु शान्तसँग उभिएर हेरिरहे ।
कोरियाली युद्धको बारेमा जानकार अमेरिकी र बेलायती अनुभवीहरुले यसलाई ‘भावनात्मक र सांकेतिक कदम’ भएको बताएका छन् ।

अमेरिकी सैनिकको अस्तु कसरी रह्यो उत्तर कोरियामा ?

कोरियाली युद्धमा दक्षिण कोरिया र राष्ट्रसंघको गठबन्धन सेनाको सहयोगको लागि तीन लाख २६ हजार भन्दा धेरै अमेरिकी सैनिकहरु कम्युनिष्ट उत्तर कोरियाको विरुद्धमा लडेका थिए ।

कोरियाली युद्ध सकिएपछि हजारौं अमेरिकी सैनिकहरु गणनामा आउनै सकेनन् अर्थात करिब ५ हजार ३ सय जति अहिलेको उत्तर कोरियामा हराए ।

हराएका अमेरिकी सैनिकहरु गठबन्धनको गणनामा नआएका ३३ हजार सैनिकमध्ये पर्छन् ।

हराएका सैनिकहरुको अस्तु युद्धबन्दी शिविरहरुमा रहेको मानिन्छ, धेरै युद्धवन्दीहरु १९५० को जाडोमा मरेका थिए । त्यस्तै लडाई भएका विभिन्न क्षेत्रहरुमा पनि १६ सय जति मारिएको हुनसक्ने बताइन्छ ।

युएनको अस्थायी चिहानहरुमा पनि धेरै सैनिकहरुको सामूहिक समाधी गरिएको थियो । चीन र उत्तर कोरियाले सन् १९५४ मा करिब ३ हजार मृत्यु भएका अमेरिकी सैनिकको अस्थिपञ्जर फिर्ता गरेका थिए तर, अझै धेरै बाँकी भए ।
नसशस्त्रीकरण क्षेत्रमा पनि एक हजार भन्दा धेरै सैनिकको शरीर भएको बताइन्छ ।

सन् १९९० र २००५ को बीचमा पटकपटक गरी उत्तर कोरियाले २२९ सैनिकको अस्तु अमेरिकालाई फिर्ता गरेको थियो तर उत्तरको आणविक महत्वाकांक्षा बढ्दै गएर दुई देशबीचको औपचारिक सम्बन्ध बिग्रिएपछि यस्तो कार्य रोकिएको थियो ।

अमेरिकी सैन्य विमानले दक्षिण कोरियाको वुसानस्थित अमेरिकी सैन्य बेसमा लगेको अस्तुलाई प्रारम्भिक परीक्षणपछि अगस्ट १ मा फिर्ता गर्ने समारोह राख्नेछ ।

अस्तुलाई फरेन्सिक परीक्षणको लागि अमेरिका लगिनेछ । परीक्षणपछि त्यसलाई सम्मानपूर्वक उनीहरुको परिवारलाई हस्तान्तरण गरिने हृवाइटहाउसले जनाएको छ ।

बीबीसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment