Comments Add Comment

बीमा विधेयक : शब्द चयनमै त्रुटी भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

'सर्भेयर'लाई मध्यस्तकर्ता लेखिएकोमा आपत्ति


१५ साउन, काठमाडौं । बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शब्द चयनमा नै त्रुटी पाइएको छ । क्षति मूल्यांकनकर्तालाई मध्यस्थकर्ता भनेर विधेयकमा उल्लेख गरिएको छ ।

क्षति मूल्यांकनकर्तालाई मध्यस्थकर्ता भनेर विधेयकमा उल्लेख हुनु अत्यन्तै गम्भीर त्रुटी भएको सरोकारवालाहरुले बताएका छन् ।

सर्भेयर हुनुपर्ने ठाउँमा मध्यस्थकर्ता लेखेर गम्भीर त्रुटी गरिएको भन्दै बीमा सर्भेयर संघ नेपालले आपत्ति जनाएको छ

संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्तकर्ता शब्द राखिनु गलत भएको बताएका छन् । सर्भेयरलाई कुनै कोणबाट मध्यस्थकर्ता भन्न नमिल्ने र सर्भेयरहरुको काम दुई पक्षलाई मिलाउनेसमेत नभएको अध्यक्ष जोशीले बताए ।

सर्भेयरलाई पेशाबाट विस्थापित गर्ने गरी विधेयक ल्याइएको भन्दै अध्यक्ष जोशीले विज्ञसँग छलफल गरी बीमा विधेयकका केही महलहरु संशोधन गर्नुपर्ने बताएका छन् । शब्द चयनमा भएको गल्तीबारे सर्भेयर संघले अर्थमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको छ । अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी बीमा सर्भेयरका विषयमा भएको विधेयकका केही महलहरु संशोधन गर्न संघले आग्रह गरेको हो ।

अर्थमन्त्रीसँगको भेटमा संघका पदाधिकारीहरुले क्षति मूल्यांकन कम, बढी वा गलत भए सम्पूर्ण क्षतिपूर्ति तिर्नु पर्ने व्यवस्था, कैद सजाय तथा जरिवानाका विषयमा लचकता अपनाउन आग्रह गरेका थिए ।

सजायको विषयमा चुपचाप बसेका अर्थमन्त्रीले ‘मध्यस्थकर्ता’ भन्ने शब्द चयनमा भने पुनर्विचार हुनसक्ने संकेत भेटमा सहभागी संघका एक सदस्यले अनलाइनखबरलाई बताए ।

बीमा विज्ञ भन्छन्- शब्द चयन गलत भएकै हो

सर्भेयरको हुनुपर्नेमा मध्यस्थकर्ता शब्द चयन हुनु गलत भएको बीमा बिज्ञ डा. रवीन्द्र घिमिरे बताउछन् । सर्भेयर हुनुपर्नेमा मध्यस्थकर्ता प्रयोग हुँदा त्यसले गलत सन्देश जान सक्ने उनको भनाइ छ ।

‘सर्भेयरले क्षतिपूर्व र क्षतिपश्चात भ्यालुएसन गरेर विवरण बुझाउने हो’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘मध्यस्थकर्ता भनेपछि दुई पक्षलाई मिलाउने अर्थ लाग्छ, यसमा यो शब्द चयन हुनु साह्रै गलत हो ।’

सर्भेयरहरु प्राविधिक भएका कारण बीमा विधेयकमा उल्लेख गरिएको ‘मध्यस्थकर्ता’ भन्ने शब्द हटाएर अर्को कुनै शब्द राख्नु पर्ने उनको सुझाव छ । अन्तर्राष्ट्रिय अभ्यास हेरेर प्राविधिक, सर्भेयर, लसएसेसर, इन्भेटिकेटर, भ्यालुएयटरलगायतका शब्द प्रयोग हुनुपर्ने उनी बताउँछन् ।

बीमा समितिका पूर्वअध्यक्ष डा. फत्तबहादुर केसीले समेत सर्भेयरको ठाउँमा मध्यस्थकर्ता प्रयोग हुनु गलत भएको बताएका छन् ।

‘कार्य व्यस्तताका कारण मैले नयाँ बीमा विधेयक अध्ययन गर्न पाएको छैन, सर्भेयरको ठाउँमा मध्यस्थकर्ता प्रयोग गरियो भन्ने सुने’ पूर्वअध्यक्ष केसीले भने, ‘सर्भेयरहरु भनेको कामको प्रकृतिअनुसार क्षति मूल्यांकन गर्ने हुन्, उनीहरुलाई मध्यस्थकर्ता भन्नु गलत हो ।’

उक्त विधयेक अर्थमन्त्री डा. युवराज खतिवडाले गत आइतबार प्रतिनिधिसभामा प्रस्तुत गरेका थिए । विधयेकमा शब्द चयनका साथै कतिपय व्यवस्थाहरु समयसापेक्ष नभएको बीमा विज्ञहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment