Comments Add Comment

ओली र नारायणकाजीवीच बालुवाटारमा जुहारी !

'सुशीलालाई किन भेटेको ? तपाईको प्रवक्ता तपाई नै राख्नोस्'

१६ साउन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन ७ गते साँझ नेकपाको सचिवालय बैठक डाकिएको थियो । बैठकमा प्रधानमन्त्री केपी ओली र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठवीच भनाभन भयो । प्रचण्ड पनि केपी ओलीतिरै लागे ।

प्रधानमन्त्री ओली र प्रचण्डसँग भनाभन परिसकेपछि प्रवक्ता श्रेष्ठले ‘तपाईहरुको प्रवक्ता तपाईहरु नै राख्नोस्’ भन्दै त्यहीँ लिखित राजीनामा बुझाए ।

श्रेष्ठको राजीनामा अहिलेसम्म स्वीकृत हुन बाँकी छ ।

प्रधानमन्त्री ओली र प्रवक्ता श्रेष्ठवीच सुरुमा केही वैचारिक प्रश्नमा विवाद परेको थियो । तर, ओलीले जब सुशीला कार्की र डा. गोविन्द केसीसँग किन भेटेको भन्दै नारायणकाजीलाई प्रश्न गरे, त्यसपछि परिस्थितिले अर्को मोड लियो ।

जुहारीका केही ‘आइटम’

साउन ७ गते प्रवक्ता श्रेष्ठ गृहजिल्ला गोरखा गएका थिए । त्यहाँबाट उनी सिधै बालुवाटारमा बेलुका ५ बजे बोलाइएको सचिवालय बैठकमा सहभागी भए । बैठकको एजेण्डा थियो- डा. गोविन्द केसीको अनसनलाई कसरी सुल्झाउने ?

डा. केसीले जुम्लामा अनसन सुरु गरेदेखि नै नेकपाभित्र दुई धार देखिइसकेको थियो । प्रधानमन्त्री ओली डा. केसीका मागप्रति अनुदार थिए भने प्रवक्ता श्रेष्ठले चाहिँ उनका जायज मागलाई सरकारले सम्वोधन गर्नुपर्ने बताउँदै आएका थिए ।

बहसकै सिलसिलामा प्रधानमन्त्री ओलीले प्रवक्ता श्रेष्ठलाई प्रश्न गरे- ‘तपाईले सुशीला कार्की, कृष्ण पहाडी, गोविन्द केसीहरुलाई किन भेट्ने ?’

यही मेसोमा प्रवक्ता श्रेष्ठले डा. केसीलाई ‘सत्याग्रही’ भनेर मिडियालाई अन्तरवार्ता दिएको भन्दै साउन ७ गतेको बैठकमा प्रधानमन्त्रीले ‘फायर’ खोले ।

‘मेरो अलिकति ध्यानाकर्षण छ’ भन्दै प्रधानमन्त्री ओलीले बैठकमा प्रश्न उठाए- ‘केको सत्याग्रही ? त्यो (डा. केसी) हाम्रा विरुद्धमा योजनावद्ध ढंगले हामीलाई असफल बनाउन बसेकोलाई सत्याग्रही भन्ने ?’

जवाफमा प्रवक्ता श्रेष्ठले भने, ‘उनी सत्याग्रही नै हुन् । उनका कतिपय मुद्दासित म असहमत छु, उनको कार्यशैलीसँग पनि म असहमत छु । तर, हामीलाई कसैको योजनामा ढाल्न वा असफल बनाउनका लागि मात्रै उनी अनसन बसेका हुन् भन्नेसँग म सहमत छैन । उनी मुडी छन्, अरु कसैले प्रयोग गर्न खोजेको पनि बुझ्दैनन् । तर, उनी आफैं कसैको योजनाअनुसार स्वार्थवस अनसन बसेको भन्ने कुरा म मान्दिनँ । उनी सत्याग्रही नै हुन् । उनी कांग्रेसकै विरुद्धमा पनि अनसन बसेका थिए ।’

डा. केसीलाई निन्दा गरिसकेपछि प्रधानमन्त्री ओलीले माथेमा आयोगको प्रतिवेदनको आलोचना सुरु गरे । बैठकमा ओलीले भने, ‘त्यो माथेमा कार्यदलको प्रतिवेदन जनविरोधी हो, प्रतिक्रियावादी हो । केको त्यसमा सकारात्मक कुरा छ भनेर भनेको ?’

श्रेष्ठले ओलीलाई यसको पनि जवाफ दिए । बैठकमा उनले भने, ‘त्यो एकदम गलत कुरा हो । प्रतिवेदन एकदम सकारात्मक छ । त्यो प्रतिवेदनको मूल सार नवउदारवादको विरुद्धमा छ । बरु प्रतिवेदनको कुन अंश कार्यान्वयन गर्ने भन्नेबारे अहिलेको औचित्य र सान्दर्भिकतामा छलफल गर्न सकिन्छ । तर, त्यो सकारात्मक प्रतिवेदन हो ।’

प्रवक्ता श्रेष्ठले बहसमा झनै सक्रियता देखाउन थालेपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पनि झनै कडारुपमा प्रस्तुत भए । उनले भने, ‘त्रिशुलीमा फालहानेर कसैको माग पूरा गर्छ ? त्यस्ता त कति निस्किन्छन् कति !’

डा. केसीको अनसन तोडाउन भूमिका खेलिरहेका श्रेष्ठले सचिवालयका नेतासामू प्रधानमन्त्रीलाई भने- ‘यो त तपाईहरुले साह्रै मिनिमाइज्ड गर्नुभयो । कुरो त्यस्तो होइन । कति जना गोविन्द केसीहरु निस्केका छन् यहाँ ? त्यो कुरा सत्य होइन । बरु त्योभन्दा बढी सामाजिक यथार्थ बन्यो । गोविन्द केसीचाहिँ जोगी हुन्, उनीचाहिँ गरीब जनताका निम्ति लडिराखेका छन् । तर, कम्युनिष्ट सरकारले चाहिँ दमन गर्न लागिराखेको छ, गरीबहरुको विरुद्ध सरकार माफियाहरुको पक्षमा गयो भन्ने म्यासेज सम्प्रेषण भएको छ । यस्तो स्थितिमा हामीले सकारात्मक ढंगले यसलाई सम्वोधन गर्नुपर्छ ।’

श्रेष्ठले यसो भनिरहँदा ओलीले ‘कहाँ हुन्छ’ भनिरहेका थिए । बैठकमा सहभागी एक नेता भन्छन्- ‘यतिसम्म त वैचारिक बहस नै भइराखेको थियो, त्यसपछि थप झगडा भयो ।’

‘सुशीलालाई किन भेटेको ?’

बहसकै सिलसिलामा प्रधानमन्त्री ओलीले प्रवक्ता श्रेष्ठलाई प्रश्न गरे- ‘तपाईले सुशीला कार्की, कृष्ण पहाडी, गोविन्द केसीहरुलाई किन भेट्ने ?’

जवाफमा श्रेष्ठले भने, ‘यो भेटघाट पार्टी लाइनको विरुद्ध छ भने भन्नोस् । पार्टीको लाइन के हो भने गोविन्द केसीको जीवन रक्षा गर्ने, अनि वार्ताद्वारा समस्या समाधान गर्ने । यो पार्टीलाइन कार्यान्वयन गर्न सुझाव र पहलकदमी लिँदा कसरी पार्टीको लाइन विपरीत भयो ? यसरी भेटघाट गर्नु त राम्रो पो भो त ।’

सचिवालय बैठकमा श्रेष्ठले डा. केसीसँगको भेटको रिपोटिङ्ग गर्दै भने- ‘मैले गोविन्द केसीसँग पनि कुराकानी गरें । उहाँ दुईवटा कुरामा सहमत हुनुभो । एउटा, विधेयक फिर्ता हुनुपर्छ भन्ने अडान छाड्ने र समाधान खोज्ने । अर्कोचाहिँ राजनीतिक हस्तक्षेप गर्न खोजेको कसैलाई परेको छ भने डा. केसी मार्फत नै वक्तव्य दिलाउने । यो नागरिक आन्दोलन हो, कसैले पनि प्रयोग गर्न नखोज्नुहोला भनेर वक्तव्य दिन पनि केसी तयार हुनुभएको छ ।’

बैठकमा ओली र श्रेष्ठवीच भनाभन भइरहँदा अन्य नेताहरु प्रायः मौन जस्तै देखिएका थिए । प्रचण्डले भने सुशीला कार्कीहरुसँग भेट गर्न हुँदैनथ्यो भन्ने भाव व्यक्त गरेका थिए ।

अन्ततः बैठकमा श्रेष्ठले प्रचण्ड र ओलीलाई दुबैलाई लक्षित भने-‘तपाईहरुले यस्तो ढंगले सोच्ने हो भने त समाधानको कुनै पहलकदमी हुँदैन त ।’

तर, प्रवक्ताले यति भन्दा पनि अध्यक्षहरु सहमत नभएपछि उनले ‘तपाईहरुको प्रवक्ता तपाईहरुसँगै राख्नोस्’ भन्दै तत्कालै लिखित राजीनामा दिएको एक नेताले अनलाइनखबरलाई बताए ।

दुईवटा बैठक नारायणकाजीकै निम्ति !

डा. केसीले जुम्लामा सुरु गरेको अनसनलाई सुरुमा सरकारले वास्ता नगरेपछि पार्टीभित्रबाट प्रवक्ता श्रेष्ठले पहलकदमी लिएका थिए । डा. केसीको आन्दोलनका बारेमा श्रेष्ठले दुईचोटि सचिवालय बैठकको माग ओली र प्रचण्डसँग गरेका थिए ।

डा. केसी मुलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनु भएको मुल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मुल पक्ष सकारात्मक छ, हाम्रा पार्टीका नेता-कार्यकर्ताहरुले पनि बिनापुर्बाग्रह यसलाई आत्मसात् गरी बार्ताद्वारा ‘समस्या’को समाधान गर्नुपर्छ भन्दा तीव्र बिरोध गर्नेहरुलाई पनि अहिले धन्यवाद- श्रेष्ठ

पहिलो सचिवालय बैठक डा. केसीलाई काठमाडौं ल्याउनुभन्दा अघिल्लो रात बालुवाटारमै बसेको थियो । सो बैठकले दुईवटा निर्णय गरेको थियो । पहिलो- डा. केसीको जीवनरक्षा गर्ने र दोस्रो- केसीको मागलाई वार्ताद्वारा सम्वोधन गर्ने ।

नेकपाको सचिवालयले जीवनरक्षा गर्ने निर्णय गरेको भोलिपल्टै डा. केसीलाई जुम्लाबाट सेनाको हेलिकोप्टरमा हालेर काठमाडौं ल्याइयो ।

केसीलाई काठमाडौं ल्याएपछि श्रेष्ठले समस्याको समाधान खोज्न भन्दै विभिन्न पक्षसँग छलफल अघि बढाए । यस क्रममा उनले डा. महेश मास्के, डा. भगवान कोइराला, डा. अर्जुन कार्की, विश्वविद्यालयका भीसी एवं न्याम्सका पदाधिकारीहरुलाई प्रवक्ता प्रधानमन्त्री ओली र प्रचण्डसँग भेटसमेत गराए ।

साउन ६ गते बेलुका श्रेष्ठले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारकर्मी कृष्ण पहाडी र नागरिक अगुवा श्याम श्रेष्ठहरुसँग बेग्लाबेग्लै भेटघाट गरे । र, त्यसै साँझ उनले त्रिवि शिक्षण अस्पतालमा पुगेर अनसनरत डा. गोविन्द केसीसँग पनि भेट गरे ।

यसरी सघन छलफल गरिसकेपछि प्रवक्ता श्रेष्ठले साउन ७ गते अर्को सचिवालय बैठक बोलाउन ओली र प्रचण्डसँग माग गरे ।

तर, त्यो बैठक दुर्भाग्यवस श्रेष्ठको राजीनामा दिने बैठकमा परिणत भयो ।

श्रेष्ठको राजीनामापछि प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अघि सारे । प्रधानमन्त्रीकै सक्रियतामा वार्ता भयो र १० साउनमा डा. केसीका सबै माग पुरा गर्ने सहमति भयो ।

त्यसको भोलिपल्ट नेकपाका नेता श्रेष्ठले व्यंग्यामक ट्वीट गर्दै लेखेका छन्, ‘डा. केसी मुलतः सत्याग्रही हुनुहुन्छ र उहाँले उठाउनु भएको मुल मुद्दा सही छ, माथेमा प्रतिवेदनको मुल पक्ष सकारात्मक छ, हाम्रा पार्टीका नेता-कार्यकर्ताहरुले पनि बिनापुर्बाग्रह यसलाई आत्मसात् गरी बार्ताद्वारा ‘समस्या’को समाधान गर्नुपर्छ भन्दा तीव्र बिरोध गर्नेहरुलाई पनि अहिले धन्यवाद ।’

डा. केसीसँग सहमतिपछि पछि प्रधानमन्त्री ओली र प्रचण्ड दुबैले श्रेष्ठलाई राजीनामा फिर्ता लिन दबाव दिइरहेका छन् । श्रेष्ठ भने राजीनामा फिर्ता नलिने अडानमा छन् ।

नेकपाका एक सचिवालय सदस्य भन्छन्- ‘डा. गोविन्द केसीलाई हेर्ने विषयमै मतभेद भएकाले श्रेष्ठको राजीनामा आएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment