Comments Add Comment

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सरकारको निश्कर्ष

३० कराेड खर्चिनुपर्ने, विभिन्न मोडालिटी सिफारिस


२२ साउन, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको ७ सदस्यीय संयुक्त समितिले हेटौंडा कपडा उद्योगको स्थलगत रुपमै अध्ययन गरेर प्रतिवेदन तायर गरेको हो । नेपाली सेनालाई संलग्न गराएर उद्योग चलाउने योजना अनुरुप अध्ययन कार्यदल गठन भएको थियो । समितिमा सेनाका अधिकृत पनि सदस्य थिए ।

कार्यदलका एक सदस्यका अनुसार करिब ३० करोड खर्च गर्दा उद्योग फेरि सञ्चालनमा ल्याउन सकिने निश्कर्षसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइएको छ ।

प्रतिवेदनले उद्योग चलाउन विभिन्न मोडालिटी पनि प्रस्ताव गरेको छ । जसमा सेनाको एकल लगानीदेखि सरकारकोर सेनाको संयुक्त लगानीसम्मका मोडालिटी छन् । उद्योग चलाउने निर्णय गर्न अर्थमन्त्रालयले स्वीकृति दिनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएमा उद्योग सञ्चालनको तयारी सुरु हुनेछ ।

कार्यदलले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गरेको थियो । ‘उद्योगका मेही मेसिन अहिले पनि मर्मत गरेर चलाउन सकिने अवस्थामा भेटिए । धेरै मेसिन नयाँ ल्याउनुपर्छ,’ कार्यदलका एक सदस्यले भने ।

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले यसअघि नै अध्ययन प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका थिए । हालका अर्थमन्त्री पनि बन्द रहेका सरकारी उद्योग सम्भव भएसम्म सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ । २०३५/३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

नेपाली सेनाले दुई वर्ष अघि नै बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।

बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा पनि उद्योग चलाउन तयारी गरिएको थियो । तर, राजनीतिक अस्थिरताका कारण त्यो योजना तुहाइयो । पछि नवीन्ऽराज जोशी उद्योगमन्त्री हुँदा पनि यस्तै अध्ययन गर्न समिति बनाइएको थियो ।

कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो ।

तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई जागिर खुवाउने यो उद्योगमा पनि चरम राजनीतिकरण भएको थियो ।

कर्मचारीहरुको सेवासुविधा वृद्धिको माग पुरा गर्नु साटो बन्द गर्न उपयुक्त ठान्यो, सरकारले । जबकी, आन्दोलनका शृंखला शुरु हुनु अघिसम्म उद्योग नाफामा थियो ।

उक्त उद्योगका धेरै मेसिनहरु अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।

सेना आफैं पनि यसमा संलग्न हुन इच्छा देखाएकाले उद्योग चलाउन समस्या नहुने अपेक्षा सरकारको छ । यो उद्योग सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो दिएका छन् । उनले केही समयअघि प्रदेशसभा ३ को बैठकलाई संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका थिए ।

‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भनेका थिए ‘यसमा प्राइभेट सेक्टर -निजी क्षेत्र) पनि ल्याइन्छ ।’

उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताएका थिए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment