काठमाडौं । गएको केही वर्षदेखि नेपाली क्रिकेटमा सम्झनलायक दिनहरु आएका छन् । हार्न लागिएका खेल जितिएको छ, नयाँ खेलाडी उदाएका छन्, हरेक इनिङ रोमाञ्चकताले भरिएको छ, जसले एकदिवसीय मान्यता सार्थक बनिरहेको छ ।
यस्तोमा टिममा सामेल सबै खेलाडीको मेहनत र योगदान उत्तिकै छन् । तर केही खेलाडी छन् जसको खेल दर्शकको आँखाबाट ओझेल परेका छैनन् । इतिहाससम्म उनीहरुको भूमिकाको सम्मान रहिरहने छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा करण केसीले खेलेको विजयी पारी, अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी–२० लिगमा नेपालको नाम चम्काइरहेका सन्दीप लामिछाने, एकदिवसीय क्रिकेटसम्म टिमको कुशल नेतृत्व गरिरहेका कप्तान पारस खड्का, बलिङसहित ब्याटिङमा पनि अब्बल देखिएका सोमपाल कामी या अर्का भरपर्दा अलराउण्डर दिपेन्द्रसिंह ऐरी कसलाई नेपाली क्रिकेटको अब्बल खेलाडी मान्ने ?
नेपाली क्रिकेटले पछिल्लो समय पाएका उपलब्धीमा उनीहरु सबैको योगदान रहे पनि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ मा भने कुनै एक खेलाडी विजयी बन्ने छन् । त्यसका लागि आइतबार विभिन्न ३ विधाको मनोनयन सार्वजनिक गरिएको छ । जसमा दर्शकले पनि अनलाइन भोटिङ गरिरहेका छन् ।
वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र १९ वर्ष उदीयमान क्रिकेट खेलाडी विधामा ५–५ जनाको नाम सार्वजनिक गरिएको हो ।
विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली खेलाडीले गरेको प्रदर्शनको आधारमा उनीहरुलाई मनोनयन गरिएको योग्य खेलाडी छनोट प्राविधिक समितिले जानकारी दिएको छ ।
वर्ष क्रिकेट खेलाडी–पुरुष
पारस खड्का
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का सफल खेलाडीसँगै कुशल कप्तान पनि हुन् । सन् २००९ देखि नेपाली क्रिकेट टिमको नेतृत्व गरेका कप्तान पारसले नेपाललाई विश्वकप खेलाउनदेखि एकदिवसीय मान्यता दिलाउन ठूलो भूमिका खेलेका छन् । यूएईविरुद्धको एक दिवसीय र टी–२० क्रिकेट सिरिजको दुबै शृंखला जिताउन निकै राम्रो प्रदर्शन गरेका थिए ।
त्यस्तै, उनले यूएईविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको तेस्रो खेलमा शतक प्रहार गरेका थिए । यो सिरिजमा पारस प्लेयर अफ द सिरिज पनि घोषित भएका थिए । कप्तान पारसले यसअघि नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को फाइनलमा यूएईविरुद्ध नै शतकीय पारी खेलेका थिए ।
नेपाली क्रिकेटलाई यो स्थानसम्मको उचाईमा ल्याउन महत्वपूर्ण भूमिका खेलका कप्तान पारस वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्डमा मनोनयनमा परेका हुन् ।
दीपेन्द्रसिंह ऐरी
दीपेन्द्रसिंह ऐरी नेपाली क्रिकेट टिमका भरपर्दा अलराउण्डर हुन् । सन् २०१७ देखि नियमित राष्ट्रिय टिमबाट खेल्दै आएका दीपेन्द्रले नेपाललाई थुप्रै उपलब्धि दिलाएका छन् ।
सन् २०१८ मा जिम्बाब्वेमा सम्पन्न आईसीसी विश्वकप छनोटमा पपुवा न्युगिनीलाई नेपालले ६ विकेटले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।
यो खेलमा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिएका थिए । दीपेन्द्रले ४.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर चार विकेट लिएपछि पपुवा न्युगिनी ११४ रनमा समेटिएको थियो । यो खेलमा उनी बलिङमा मात्रै हैन ब्याटिङमा पनि चम्किए । उनले अविजित ५० रनको पारी खेल्दै नेपाललाई जित दिलाएका थिए ।
यूएईविरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा दीपेन्द्रले अविजित ४७ रन खेल्दै नेपाललाई चार विकेटको जित दिलाएका थिए ।
करण केसी
करण केसी राष्ट्रिय टिममा परेपनि आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अघि गुमगाम नाम जस्तै थियो । तर यो प्रतियोगिताले उनको जीवनमै नसोचेको परिवर्तन गर्यो ।
सन् २०१८ मा नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को क्यानडाविरुद्धको खेलमा करण एकाएक नायक सावित भए ।
कुनै एक बेला नेपाल क्यानडासँग पराजित नजिक थियो । १ सय ९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालको १४४ रन हुदा ९ विकेट पतन भइसकेको थियो । यो बेला क्रिजमा थिए करण केसी र सन्दीप लामिछाने ।
यो खेलमा असाधारण प्रदर्शन गर्दै ३१ बलमा चार छक्का र ३ चौका प्रहार गर्दै ४२ रन बनाउँदै करणले नेपाललाई एक विकेटको जित दिलाएका थिए । उनले नेपाललाई जित मात्रै हैन विश्वकपको छनोटमा पनि प्रवेश गराएका थिए ।
यो प्रतियोगितामा मात्रै हैन करणले त्यसपछिका विभिन्न प्रतियोगितामा नेपालका लागि राम्रो प्रदर्श गर्दै आएका छन् ।
सन्दीप लामिछाने
सन्दीप लामिछाने नेपालका त्यस्ता खेलाडी हुन् जसले विश्वका चर्चित फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेका छन् । अहिले उनी लाहोर कलन्दर्सबाट पाकिस्तान सुपर लिग खेलिरहेका छन् ।
सन् २०१६ आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिवियाविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका सन्दीप त्यसपछि नियमित सदस्य बनेका छन् । एकपछि अर्को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपले नेपाललाई ठूलो उपलब्धि दिलाएका छन् ।
उनले केही दिनअघि मात्रै यूएईसँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा शानदार प्रदर्शन गरेका थिए । नेपालले १४५ रनको विशाल जित हात पार्दा उनको पनि भूमिका महत्वपूर्ण थियो । सन्दीपले चार ओभर बलिङ गर्दै एक मेडनसहित २४ रन खर्चेर चार विकेट लिएका थिए ।
उनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा इन्डियन प्रिमियर लिग (आईपीएल) बाट व्यवसायिक क्लब यात्रा सुरु गरेका थिए । त्यसपछि उनको अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को छलाङ छ । बिगबास लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, क्यानडामा ग्लोबल टी–२० लिग लगायतका थुप्रै लिगहरुमा उनको प्रदर्शन दमदार रहेको छ ।
सोमपाल कामी
सोमपाल कामी नेपाली राष्ट्रिय टिमका नियमित अलराउण्डर खेलाडी हुन् । उनकै उत्कृष्ट पदर्शनमा नेपालले थुप्रै प्रतियोगितामा जित हात पारेका छन् ।
ती मध्ये एक हुन् यूएईविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेल । यो खेलमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिदा यूएई ९७ रनमै समेटिएको थियो भने नेपालले १४५ रनको शानदार जित हात पारेको थियो ।
यो खेलमा सोमपालले ६.३ ओभर बलिङ गर्दै एक मेडन राखेर ३३ रन खर्चिदै पाँच विकेट लिएका थिए ।
नेपालले एकदिवसीय मान्यता पाउँदा महत्वपूर्ण सदस्यका रुपमा रहेका सोमपाल जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न सक्छन् । उच्च फममा रहेका सोमपाल वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा परेका हुन् ।
वर्ष क्रिकेट खेलाडी– महिला
महिला वर्ष क्रिकेट खेलाडीको मनोनयन थाइल्यान्डमा करिब दुई महिनाअघि सम्पन्न थाइल्यान्ड महिला टी–२० स्माश क्रिकेट प्रतियोगितालाई मुख्य आधार मानि छनोट गरेको प्राविधिक समितिले जानकारी दिएको छ ।
मनोनयनमा इन्दु शर्मा, करुणा भण्डारी, सविना श्रेष्ठ बेलबासी, सरिता मगर र सीता रानामगर रहेका छन् ।
उदयीमान क्रिकेट खेलाडी
उदयीमान क्रिकेट खेलाडीमा पुरुषतर्फबाट चार जना खेलाडी पर्दा महिलाबाट एक जना खेलाडी पर्न सफल भएकी छिन् । उदयीमान खेलाडीमा सन्दीप जोरा, अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र रोहितकुमार पौडेल परेका हुन् ।
सन्दीप जोरा, अविनाश बोहरा, रोहित कुमार पौडेल र ललितनारायण राजवंशीले यूएईविरुद्धको सिरिजमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
२१ गते घोषणा
वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।
तीन विधाका योग्य खेलाडी छनोट गर्न मुख्य प्रशिक्षक जगत टमाटा, प्रशिक्षक विनोद दास, अम्पायर विनयकुमार झा र दुर्गानाथ सुवेदी खेलकुद पत्रकार मञ्चका प्रतिनिधिहरु सरिता श्रेष्ठ र सुवास हुमागाई र टेक्निकल कोअर्डिनेटर रमन शिवाकोटी रहेको एक प्राविधिक समिति गठन गरिएको थियो ।
प्रत्येक विधाको विजयी खेलाडीको नाम फागुन २१ गते आयोजित समारोहमा घोषणा गरिनने क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले जनाएको छ ।
 
                    










 २०७५ फागुन  १९ गते १९:२८
                        २०७५ फागुन  १९ गते १९:२८                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4