Comments Add Comment

रोल्पाको नयाँ परिचय : अर्गानिक स्याउ उत्पादन केन्द्र !

२६ साउन, दाङ । रोल्पा जिल्लालाई चिनाइरहन पर्दैन । १० वर्षे सशस्त्र जनयुद्धको उद्गम स्थल यसको सबैभन्दा चल्तीको र सजिलो परिचय बनेको छ आजभोलि । अब रोल्पाको परिचय यसमा मात्र सीमित छैन । रोल्पासँग अर्को परिचय पनि थपिएको छ, त्यो हो अर्गानिक स्याउ उत्पादनको केन्द्र ।

हामीहरु स्याउ भन्दाबित्तिकै जुम्ला वा मुस्ताङलाई सम्झिन्छौं तर त्योभन्दा झण्डै दुई हजार मिटर कम उचाइको रोल्पा जिल्लामा पनि अर्गानिक स्वादिलो स्याउ फल्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ । रोल्पाको गंगादेव गाउँपालिकाको जिनावाङमा प्रशस्त अर्गानिक स्याउ उत्पादन हुन्छ । जिनावाङलाई पश्चिम नेपालको स्याउको केन्द्र भन्दा पनि हुन्छ । यो गाउँ अर्गानिक स्याउ मात्र होइन तरकारी उत्पादनको पनि पकेट क्षेत्र हो ।

यहाँको ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ । कृषिमा लागेकामध्ये ठूलो हिस्साले स्याउ खेति गरिरहेको छ । जिनावाङ, बडाढुंगा, मनिमारे, झ्याम, नाउला, नाउली, मंगरा, जलेखर्क, बडामेला, सिस्नेगैरा, छेलोफाल्ने, कुहेपानी स्याउको पकेट क्षेत्र मानिन्छन् ।

स्थानीय अगुवा किसान रामबहादुर खत्रीका अनुसार यहाँ झण्डै दुई लाख स्याउका बोट छन् । गाउँका चार सय किसानले स्याउ खेति गरेका छन् । प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना स्याउ पकेट क्षेत्र जिनावाङका संयोजकसमेत रहेका खत्रीका अनुसार यो वर्ष स्याउका आठ हजार विरुवा अनुदानमा बाँडिएको थियो । हरेक किसानले कम्तीमा तीन सयदेखि बढीमा एक हजार बोटसम्म स्याउ लगाएका छन् ।

अर्गानिकलाई बजारको समस्या

फलफूलमा प्रख्यात मानिने स्याउ नेपाली बजारमा प्रशस्त बिक्री हुने गर्दछ । तर, स्याउ बजारको अधिकांश हिस्सा भारत र चीनले ओगट्ने भएकाले नेपाली उत्पादन ओझेलमा छ । स्थानीय केही ब्यापारीले स्याउ संकलन गरेर बाहिरी जिल्लामा पुर्‍याउने गरेका छन् ।

स्याउ ब्यापारी लेखराज डाँगीले आफूले यहाँको स्याउ खरिद गरेर बुटवल, पोखरासम्म पुर्‍याउने गरेको बताउँछन् । सल्यान बागचौर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य समेत रहेका डाँगीले रोल्पाको स्याउ शुद्ध अर्गानिक रहेको बताए ।

भारतमा लामो समय स्याउको ब्यापार गरेको अनुभव संगालेका डाँगीले भने, ‘भारतमा स्याउ फल्न सुरु भएदेखि नटिपुन्जेलसम्म बोट र फलमा बिभिन्न किसिमका केमिकल हालेको देखेको छु । तर जिनावाङको जस्तो शुद्ध अर्गानिक स्याउ मैले अन्त देखेको छैन ।’

आफैले मूल्य तोक्न नपाउने समस्या

जिनावाङका किसानले पाँचदेखि एक सय क्विन्टलसम्म स्याउ उत्पादन गर्दछन् । यस वर्ष मात्रै ५० गाडी स्याउ बाहिरिने किसानको अनुमान छ । तर बिडम्बना, न यहाँको उचित प्रचारप्रसार छ, न अर्गानिक स्याउ प्रवर्द्धनमा सरकारको ध्यान पुगेको छ ।

किसानलाई स्याउ भण्डारण गर्ने ठाउँको समेत अभाव छ । किसानहरु स्याउ टिपेर गाईगोठमा राख्न बाध्य छन् । भण्डारण मात्र होइन बिक्री गर्दा पनि आफूले मूल्य तोकेर बिक्री गर्न पाउँदैनन् किसानहरु ।

किसानले वर्षभरि आफ्नै सन्तानलाई जत्तिकै माया गरेर स्याउको स्याहारसुसार गर्छन् तर बिक्री गर्ने बेला बिचौलियाहरु आएर मूल्य तोक्छन् र आफै लैजान्छन् । अर्का किसान रामबहादुर खत्री भन्छन्, ‘यसरी आफूले उत्पादन गरेको बस्तुको मूल्य अरुले तोक्दा कति दुःख लाग्दो हो तर पनि हामी सहेर बिचौलियाकै मूल्यमा बिक्री गर्न बाध्य छौं ।’

गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्री भने स्याउको भण्डारणका लागि आवश्यक पहल थाल्ने बताउँछन् । उनले जिनावाङको स्याउमा सरकारको ध्यान जान नसकेको स्वीकार गर्दै स्थानीय सरकारले सहयोगी संस्था खोजेर कोल्डस्टोरको ब्यवस्था गर्ने आश्वासन दिए ।

किसान निराश

बिडम्बना नै भन्नुपर्छ अर्गानिक स्याउ फल्ने रोल्पाको न उचित प्रचारप्रसार छ, न यहाँको स्याउ खेती प्रवर्द्धनमा सरकारको ध्यान पुगेको छ । त्यसैले स्याउ खेति गर्ने केही किसानमा निराश देखिन्छन् । विकास र अवसरमा ठगिँदै आएका रोल्पाका तल्लो तहका किसानहरु स्याउको बजारमा पनि ठगिएको गुनासो गर्दछन् ।

स्थानीय ईन्द्रबहादुर केसी भन्छन्, ‘कृषि पेशाको भविष्य उज्वल देखेर अन्य ब्यवसाय छाडेर स्याउ खेतिमा आकर्षित भएँ । तर पनि सरकारबाट पाउने सेवा सुविधा नपाउँदा कहिलेकाहिँ दिक्क लाग्छ ।’

हरेक गाउँपालिकमा एक जना कृषि प्राविधिक रहने भनिए पनि आफ्नो गाउँमा प्राविधिक नआएको उनको भनाइ छ । ‘विद्यार्थी भएको ठाउँमा शिक्षक जान्छन्, विरामी भएको ठाउँमा डाक्टर जान्छन् तर कृषि प्राविधिक फार्ममै आएर सेवा दिँदैनन्,’ उनले भने, ‘सबै रोगको उपचार अनुमानका भरमा गर्नुपर्ने बाध्यता छ ।’

सदरमुकामलाई नै थाहा छैन जिनावाङको स्याउ

 

राप्ती लोकमार्गको बागचौरदेखि ३ किलोमिटर कालोपत्रे र १० किलोमिटर कच्ची सल्यानको भूभाग हिँडेपछि रोल्पाको गंगादेव गाउँपालिका सुरु हुन्छ । सल्यानको सिमानादेखि ५ किलोमिटर कच्ची सडक भएर पुग्न सकिन्छ रोल्पाको स्याउ फल्ने गाउँमा ।

 

दाङ, प्युठान र सल्यानको छिमेकी जिल्ला हो रोल्पा । नजिकको बजार भनेकै दाङ हो । तर दाङको छिमेकी जिल्ला भए पनि सल्यानको बाटो भएर यहाँ पुग्नुपर्ने बाध्यता छ । दाङबाट सीधै सडक जाने भए पनि भर्खरै खानेको नयाँ बाटोमा गाडी चल्न सम्भव छैन ।

यहाँका मानिसहरु केही वर्ष पहिलेसम्म स्याउ डोकोमा बोकेर एकदिनको पैदल बाटो हिँडेर सल्यानको कालाखेत, थारमारे र खरिबोट बजार लगेर बिक्री गर्थे । तर, पश्चिम रोल्पाको जिनावाङमा उत्पादन भएको स्याउ जिल्ला सदरमुकाम लिवाङ र पूर्वी रोल्पासम्म पनि पुग्ने गरेको छैन । जिल्लाले समेत थाहा पाउन नसकेको जिनावाङ राष्ट्रियस्तरको प्रचारप्रसारको पर्खाइमा छ ।

सम्भावना

यातायातको असुविधा नै यहाँको मुख्य समस्या हो । अर्गानिक कृषि उत्पादनलाई व्यवस्थित ढंगबाट उपयोग गरी पर्यटकलाई आकर्षण गर्न सकियोे भने यहाँ प्रशस्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । पर्यटकलाई बारीमै पुर्‍याएर आफै स्याउ टिपेर खाने ब्यवस्था मिलाउने हो भने यहाँ कृषि पर्यटनको भविष्य उज्ज्वल छ ।

लोकतन्त्रयता सरकार सञ्चालनको उच्च तहमा सबैभन्दा बढी यही रोल्पा जिल्लाकै नेताहरु पुगे पनि यहाँका किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्

दुर्गम गाउँमा गरिबी घटाउन पनि कृषिलाई पर्यटन उद्योगसँग जोड्नुपर्ने हुन्छ, त्यसका लागि जिनावाङको स्याउबारी प्रमुख सम्भाव्यता बोकेको ठाउँ हुनसक्छ । विशेषज्ञ र प्राविधिकबाट कृषि उत्प्रेरणा जगाएर अगाडि बढ्ने हो भने यो गाउँ राष्ट्रियस्तरमै प्रख्यात हुनसक्छ । तर, त्यसका लागि यो क्षेत्रमा विकासका आवश्यक पूर्वाधार निर्माणमा ढिला गर्नु हुँदैन ।

यहाँ पुग्ने कच्ची बाटो स्तरोन्नति गरेर कालोपत्रे गर्नु आवश्यक छ भने दाङबाट छोटो दूरीमा पुग्न सकिने कपुरकोट-झ्यामको निर्माणाधीन सडकलाई पूर्णता दिनु आवश्यक छ । भर्खरै मात्रै जिल्ला सदरमुकाम जोड्न शहिद मार्गको घर्तीगाउँदेखि ओत हुँदै सडक बाटो बनेको भए पनि वर्षातको समयमा यातायातको साधन चल्न सक्दैनन् ।

डाँगी, ओली, खत्रीलगायत क्षेत्री जातिको बाहुल्यता रहेको यो गाउँका बासिन्दाले युद्धकालमा सरकारी पक्षबाट ठूलो ज्यादति भोगेका थिए । मनिमारेजस्तो फलफूल तथा तरकारी उत्पादनमा पकेट क्षेत्र मानिने र राजनीतिक इतिहासका दृष्टिले पनि महत्वपूर्ण रहेको ऐतिहासिक गाउँ उपेक्षामा पर्दै गएको भान स्थानीयलाई परेको छ ।

२०६० सालको युद्धविरामको समयमा माओवादी जनमुक्ति सेनाको डिभिजन घोषणा कार्यक्रममा मनिमारेमा सरकारी सेनाले हवाइ हमला गरेपछि तत्कालीन डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’सहितका कमाण्डरहरुको ज्यान गएको थियो, जुन ठाउँमा अहिले बनभोजस्थल बनाइएको छ । त्यतिबेला नेपाली सेनाले आगो लगाइदिएर गाउँ पूरै जलाइदिएको थियो । त्यसैले यहाँ युद्ध पर्यटनको पनि प्रशस्त सम्भावना छ ।

तर लोकतन्त्रयता सरकार सञ्चालनको उच्च तहमा सबैभन्दा बढी यही रोल्पा जिल्लाकै नेताहरु पुगे पनि यहाँका किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment