Comments Add Comment

म प्रधानमन्त्री भएको भए शिक्षामा संकटकाल लगाउँथेः मोहन मैनाली

मैले बालेको बिजुली कुलेखानीबाट धपाइएका मान्छेहरुको आँसु हो

२६ साउन, पोखरा । लेखक मोहन मैनाली शनिबार पोखरामा पाठकहरुको कठघरामा उभिए । र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले उनको तेस्रो किताब देखेको देश चर्चा गर्ने चाँजो मिलाएको थियो । मैनालीको किताब ‘देखेको देश’ माथिको मुख्य प्रश्नकर्ता थिए- साहित्यकार तथा रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल ।

भुजेलले पोखरेली पाठकसामु देखेको देशकेन्द्रित समसामयिक विषयमा मैनालीसँग विशेष बहस गरे । मैनालीसँग भुजेलले गरेको कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छ ।

देखेको देश किन लेख्नुपर्‍यो ? त्यो हुटहुटी केले जगायो ?

हामीलाई असर पार्ने यतिबिधि कुरा झन् हामीले त्यसको बारेमा जान्नै पर्ने रहेछ । जस्तो अहिले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलले केही मान्छेको उठीबास गराउँदै छ । त्यो कुरा हामीले आफुलाई नपरीकन पनि जान्नै पर्ने रहेछ । देशमा विकासले उठीबास लाउनेहरुकाबारे हामीले के गरेका छौं ? केही मान्छेले फाइदा पाउँदा उठीवास हुने मान्छेले फाइदा पाउनु पर्दैन ? मैले कुलेखानीका विषयमा पनि यो कुरा लेखेको छु ।

बिजुली पाएका बेलामा जहिले पनि के सम्झन्छु भने मैले बालेको यो बिजुली कुलेखानीबाट धपाइएका मान्छेहरुको आँसु बालेको हुँ । हामीले आफूलाई नपरिकन पनि केके कुरा भएका छन् भनेर हुर्नुपर्छ । त्यो आफूलाई पनि पर्न सक्छ । त्यसै कारणले मैले देखेको देश लेखेको चाहिँ हामी आफु बसेको ठाउँ, हामीले असर पार्ने कुराहरु केके छन् ? भनेर लेखेको हुँ । अरु र आफूलाई असर पार्ने कुराहरु जानेन भने जीवन सहज हुँदैन । हामीले अरु धेरै कुरा जान्छु पर्छ तर आफुले जानेको जति चाहिँ लेख्नुपर्छ भनेर लेखेको हुँ ।

अघिल्ला दुई पुस्तकहरु पढ्दा तपाईं अलि बढी तटस्थ देखिनुहुन्छ । यो पुस्तकमा चाहिँ अलि बढी कसैसँग नजिक भएर आˆनो धारणा अभिव्यक्त गर्न थाल्नुभएको हो ?

मैले पहिलेका किताबमा सकेसम्म तटस्थ हुन खाजेको थिएँ । तर, हिजो अस्ति एउटा अचम्मको कुरा आयो । ०६९ सालमा निस्केको उपल्लो थलोको कुरा आयो । त्यसमा तँ तटस्थ भइनस् है भनियो । जस्तो चीनमा सांस्कृतिक क्रान्तिताका मठमन्दिर भत्किए भन्ने तैंले त्यहाँ आतंक शब्द राखिस् । आतंक नभनेको भए पनि सांस्कृतिक आन्दोलनताका मठमन्दिर भत्काए भन्दा आतंक भन्ने आफैं आउँछ । त्यो शब्द नराखिकनै पनि आˆनो कुरा भन्न सक्थिस् भन्ने आयो । मैले कोसिस गर्दा गर्दै पनि यी कुरा आए ।

पोखरा भएको लिटरेचर फेस्टिभलमा केदारभक्त माथेमाले झोंक चल्छ भन्नुभएको थियो । मलाई पनि सायद यस्तो पो हुने पर्ने, मेरो समाजमा उल्टाउल्टा भइराख्याछ भनेर कतिकति रिस उठेको हो कि । केदारभक्त माथेमा सरलाई त्यो उमेरमा त रीस उठ्छ, झोंक चल्छ भने मलाई पनि हुँदो हो । अझैं यसमा शरदचन्द्र वस्ती सरले छुच्चो कुरा त नराख है भनेर हटाइदिनु भयो । उमेरसँगै मलाई पनि रिस उठ्दै जान थालेको हो कि भन्ने लाग्छ । मैले समाज हिंसात्मक हुँदै गयो पनि भनेको छु । बेलाबेला म आफैं पनि त्यस्तो हुँदै गएको हुँ कि भन्ने पनि लाग्छ ।

एक करोड वर्षअघिको नेपाल भन्ने लेखमा कल्पना जस्तो गरी लेख्नुभएको छ । पत्रकारले कल्पना गरेर लेख्नुपर्ने थियो र ?

यो कल्पना होइन, ˆयाक्ट हो । यो सतप्रतिशत विज्ञानसम्मत कुरा हो । किनभने एक करोड वर्षअघिको नेपाल प्रकृतिले लेखेर राखेको रहेछ । यहाँ चट्टानमा लेखिएको छ रे । जस्तै कालिगण्डकीको शालिगराम । यो मैले पुष्टी गरेको होइन, त्यो मैले पढ्न जान्दिनँ । जुन आम मान्छेले बुझ्दैनन् । मिडियालाई पछिल्लो चलनचल्तीको शब्दमा दलाल भन्ने गरिन्छ, जग्गा दलाल होइन, इन्फरमेसनको दलाल । अरुले लेखेको कुरा आफूले आम मान्छेले बुझ्ने गरी यो जनताले जान्नु पर्दछ भनेर बिचौलियाको, माध्यमको काम गरेको हुँ । मेरो अहिलेको पेशा फ्याक्ट चेकरको हो । मैले यो कुरा लेख्दा अपुरो हुनसक्छ तर ९० प्रतिशत मान्दा हुन्छ भनेको छु ।

देखेको देशको दोस्रो र तेस्रो च्याप्टरमा टोनिहृयागनको नेपाल परिचय र डा. हर्क गुरुङको मैले देखेको नेपाल विषय विविधबीचको अभाव पूर्ति गरेजस्तो देखिन्छ । फरक फरक दुई ठाउँबाट जहाजमा काठमाडौं आउँदा देखेको पहाड र हिमालको दृश्यलाई मनछुने हिसाबले लेख्नुभएको छ । पहाड र हिमालको बजारीकरणमा हामी कहाँनेर चुकेछौं त ?

‘पहाडको पानी और र पहाडकी जवानी कभि पहाडको काम नहीँ आती’ यो भारतका लेखक हरिशचन्द्र उपाध्यायले लेख्नुभएको हो । मैले अघिल्लो किताबमा उल्लेख पनि गरेको छु । मैले उहाँलाई काठमाडौं फिल्म फेस्टिभलमा भयों । तपाईले यस्तो लेख्नुभएको थियो भनेर सोधें । उहाँले यो मलाई पिथौरागणको ट्याक्सी ड्राइभरले भनेको हो भन्नुभाथ्यो । अर्थात आम मान्छेले जे बुझेको छ त्यही नै हो ।

अहिले पनि हामीले पानीको कति सदुपयोग गरेको छौं । हाम्रो एकदमै कम पानी उपयोगमा आएको छ । लोडसेडिङ भोन्नु नपर्ला अहिले तर लोडसेडिङ हटाउनलाई भारतबाट ल्याउनु परेको छ ।

जबकि हिमालय रेन्जको ८ सय किलोमिटर जति अर्थात एक तिहाई खण्ड हामीकहाँ छ । हामीले त्यसको उपयोग गर्न सकेका छैनौं । हिमाल चड्नका लागि सगरमाथा होला । अरु हिमालमा छैन । हिमालबाट आउने राजस्व हेर्‍यो भने पनि थाहा हुन्छ ।

जुम्लाबाट काठमाडौं जहाजमा आउँदा देखिएको चिथोरिएका पहाडहरुको उल्लेख गर्नुभएको छ । त्यहाँ बाटो खन्न हुन्थेन, यसले बिगार्‍यो भन्नुभएको छ र अर्को आर्टिकलमा तेह्रथुमको मुख्य समस्या नै बाटो हो, बाटो पुगेन भन्नुभएको छ । जुम्लामा स्याउ आपूर्ति गर्न बाटो खन्दा बिगारे भन्ने र तेह्रथुममा बाटो नै भएन भन्नु आˆनै कुरा बाझिएन ?

मैले तेह्रथुममा बाटो बनेन भनेको छु र अन्त बाटो खनियो भनेको छु । खन्नु भनेको बनाउनु होइन । एक चोटी म तेह्रथुम पुगें । मसँगै दुई सांसद पनि थिए, हाम्रै क्षेत्रको । एक ठाउँमा हामी कफी खान पस्यौं । जाडोको महिना थियो उहाँहरु सँगै म पनि भित्र पसें । त्यहाँ एकजना मान्छेले हात पाइन्ट लगाउन पाउँ भनिरहेका थिए । पाइन्ट लगाउन पाउँ भनेर अहिलेको संविधानमा लेखिएको छैन । तर, संविधान बनाउने मान्छेसँग एकजना मान्छेले पाइन्ट लगाउन पाउँ भनिरहेको छ । उसले भन्दै थियो, ‘म आˆनो नेतालाई भेट्न कट्टु लगाएर आएको छु ।’

खास कुरा के रहेछ भने, बाटो खनिएर, दुईचार पटक ट्याक्टर पनि हिँडेछ । अनि घुँडाघुँडा हिलो आउने भएर पाइन्ट त लगाउनै नमिल्ने भएछ । हामीले बाटो बनाउँछु पाइन्ट लगाउन पाउँ भन्ने गरी बाटो नबनाऔं भन्ने मेरो कुरा हो । बाटोले रोक्नुभएन हामीलाई ।

हाम्रोजस्तो पहाडी देशलाई कस्तो बाटो बनाउने भनेर पाल्पा, गोरखा र धादिङ परीक्षण गर्‍यौं । यो बाटो ठिक छ भनेर गरेको काम पछि त्यो प्रविधि अपनाएनौं । ल बाटो चाहियो भनेपछि स्काभेटर लग्यो, सर्भे गर्ने उसैले, अरु सबै काम उसैले गर्ने । खुट्टा हेरेर ल यत्तिमा त घुम्छ भनेपछि स्काभेटर चलाइदिने । बाटो बनाउँदा केके गर्नुपर्छ त्यो नगरिकन खनिएको बाटोको बिरोधी हुँ म ।

केही मान्छेलाई ठग्नका लागि खनिएको छ । धेरै ठाउँमा पहिलो बाटोकै कारणले गएको छ । हिजोमात्रै भोजपुरका एक जना साथीले भन्नुभएको थियो, हाम्रो त स्मार्ट र बहुउपयोगी बाटो बन्यो । बर्खामा खेत र हिउँद लागेपछि बाटो । बाटो बनाउँदै हुनुहुन्छ कि बिगार्दै हुनुहुन्छ भन्ने मेरो प्रश्न हो ।

कर्णालीका विषयमा पनि लेख्नुभा’छ । अरुले धेरैले पनि कर्णाली लेखेका छन् । यहाँले मार्सी चामलका विषयमा पनि लेख्नुभाछ । अहिले मार्सी चामलको चर्चा पनि छ । कर्णालीको आफ्नो आत्मनिर्भर हुने कुरा के रहेछ ?

मार्सी चामल त यसो शीर राख्ने कुरामात्रै हो । त्यत्रो अग्लो ठाउँमा फलेको मार्सी चामलले कसैलाई खान पुग्ने पनि होइन । मान राख्ने कुरा हो । संसारका कुनै साइन्टिसले र कुनै किसानले नफलाएको अल्टिच्युट ३ हजार ५० मिटरमा पनि धान फलाउने तागत छ, हामीकहाँ भनेर गर्व गर्ने कुरा मात्र हो । बिहान बेलुका भात खान पुग्ने कुरा होइन । त्यो धान फलाएर पुग्ने ठाउँ होइन । कर्णालीमा खतीयोग्य जमिनै कम छ । त्यहाँ पर्यटन होला, जडिबुटी हो र पशुपाल नै हो भन्ने लाग्न मेरो हिसाबमा ।

कुनै पूर्वाधार वा ठूला योजना बनाउन विस्थापित हुने कुरा स्वभाविक पनि मानिन्छ । मान्छे विस्थापित नगरिकन, एक ठाउँबाट अर्को ठाउँ नसारीकन विकास कसरी सम्भव होला ?

मैले किताब लेखिसकेपछि अजय दीक्षितको किताब पढेको थिएँ । त्यसमा उहाँले भारतको सन्दर्भमा कुरा गर्नुभएको छ । त्यमा उहाँले विभिन्न मान्छेको कोर्ट गर्नुभएको छ । त्यसमध्ये एक अमिर खान रहेछन् । त्यसमा उनले भनेका छन्, ‘किसानलाई उठाउँछौ भने किसानलाई जग्गा नै देऊ, पैसा नदेऊ ।’ उसले गर्न जानेको कृषि हो त्यो गर्न पाएन भने सिद्धिन्छ भनेका रहेछन् । मैले पत्रकारिता गर्छुभन्दा मेरो बुबाले भन्नुहुन्थ्यो, ‘किसानका छोराछोरी र गड्यौला माटोमै बस्नुपर्छ है नत्र माटोबाट बाहिर निस्कियो भने चराले पनि खान्छ कमिलाले पनि खान्छ ।’

अहिले कुनै आयोजनाका कारण जसलाई उठीबास लगायौं भने त्यो मान्छेका लागि बाँच्नका लागि चाहिने कुराहरु दिनुपर्छ । हामीलेमात्रै भनेको होइन, संसारकै साहु भनेर चिनिएको विश्व बैंकले के भन्छ भने, ‘कसैलाई उठाउने हो भनेदेखि जुन ठाउँमा लगिएको हुन्छ त्यहाँ जीवन पहिलेको भन्दा राम्रो हुनुपर्छ ।’ यति कुरा गरेदेखि पुग्छ । हामीले जहाँबाट ल्याएर बिजुली बाल्छौं, त्यहाँको जनतालाई सधैंभरि लोडसेडिङमा पार्नु हुँदैन ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसक्नुभएका एकजनाले अध्ययन गरेर के लेख्नुभएको छ भने ‘अहिले हामीले जसरी मुआब्जा बाँडेका छौं त्यसले त्यो मान्छेलाई फाइदा गर्दैन ।’ जो मान्छे विकासको पूर्वाधारबाट विस्थापित भएको छ, उसले दुःख पाएको छ । जस्तो चितवन निकुञ्जका लागि पदमपुरमा उठाएर नयाँ बस्ती बनायौं, धेरै हदसम्म त्यो ठीक छ । त्यसमा थप्ने कुरा भनेको सांस्कृतिक कुरा रहेछ । त्यस्ता उठाइएका मान्छेले के भन्छन् भने, हाम्रा लागि घाम र जुनको प्रकाश फेरिएन अरु सबै फेरियो ।

तीन हजारमाथि उचाईमा राराको वरिपरि बस्ने मान्छेलाई तल बाँके चियापानीमा ल्याइयो । नाम छ चिसापानी तर त्यहाँका मान्छेलाई कालापानी पो हो त । जसले त्यो विकास निर्माणबाट फाइदा लिन्छौं उसले त्यहाँबाट विस्थापित हुने मान्छेका लागि त केही गर्नुपर्छ नि, जसको सर्वस्व गुमेको छ ।

सपनामा देखेको रेल-वे र विपनामा हराएको सडक शीर्षकमा यहाँले भूराजनीतिक प्रभावका विषयमा लेख्नुभएको छ । पोखरा-सुर्खेत सडकखण्ड र धनकुटा जाने सडकखण्ड ४० वर्षसम्म गर्भमै तुहेको भन्नुभएको छ । भूराजनीतिकै प्रभावले हामी सानातिना सडक पनि स्वविवेकले बनाउन नसक्ने अवस्थामा छौं ?

भूराजनीतिक दबाब त छ तर हामी कभि नहीं सुध्रेंगे भनेजस्तै काम गर्ने चामै नभएको हो कि जस्तो लाग्छ । यही हामीमा चाहाना हुन्थ्यो भने धेरै गर्न सक्थ्यौं । पूर्व-पश्चिम राजमार्ग त्यस्तै भूराजनीतिक चपेटामा परेको थियो तर बन्दो रहेछ त । यो चाहिँ हामीले बनाउँछौं भन्ने आँटै छैन । आफू मस्त सुतेर अर्काको मुख हेर्छौं र भन्छौं यसले पनि बनाइदिएन, उसले पनि बनाइदिएन ।

एकजना मान्छे सधैं भगवानसँग गएर आफूलाई चिठ्ठा पारिदिन पुकार्दोरहेछ । भगवानले सधैं धाएको धायै गरेपछि भनेछन्, ‘चिठ्ठा पार्न पहिले चिठ्ठा त किन ।’ हामी चिठ्ठा नै नलिई चिठ्ठा पार्दे भन्ने मानसिकताका छौं । यसलाई हटायौं भने भूराजनीति सार्न सक्छौं ।

हाम्रा राजनीतिक पार्टी र हाम्रो प्रशासन पनि यही समाजको बाइप्रोडक्ट नै होलान् । समाजले जस्तो सिकायो त्यस्तै हुन्छ । हाम्रो समाजको मानसिकता चाहिँ कता जाँदैछ ।

एउटा भनाइ छ, आफुजस्तो छ त्यो मान्छेले त्यस्तैलाई छान्छ । धेरै बदमास छ भने मदमास छान्छ, सज्जन छ भने सज्जन नै छान्छ । यस हिसाबले हामीले छान्दा नै गलत पनि छानिरहेका छौं । चिनिया एउटा भनाइ छ, मैले किताबमा लेखेको पनि छु । सरकारमा भद्र मान्छे पुग्यो भने फटाहाहरु त्यहाँबाट भाग्छन् र सरकारमा फटाहा मान्छे पुगे भने सज्जन मान्छेहरु त्यहाँबाट भाग्छन् अनि फटाहाहरुले राज गर्छन् । यो दुबैतिरबाट प्रयास हुन जरुरी छ ।

मनाङबाट सांसदसमेत जितेका दीपक मनाङले यो देशमा डन कोही छ भने त्यो सबैभन्दा ठूलो डन सरकार भनेका थिए । यहाँले पनि कर उठाउने सन्दर्भमा त्यही भन्नुभाछ । कर उठाउने कुरामा किन धेरै विरोध गर्नुभएको ?

राज्य डन हो । किनभने बन्दुक बोक्ने र चलाउने अधिकार उसलाईमात्रै छ । बन्दुक र शक्तिमाथि एकाधिकार भएको निकाय भनेको राज्य हो । त्यसैले सरकार डन नै हो ।
त्यो विशेष अधिकार लिएबापत उसको दायित्व पनि सँगै आउँछ । मैले करको विषयमा किन कुरा गरेको हुँ भने मैले तिरेको कर कहाँ खर्च गर्ने, कसरी खर्च गर्ने भन्ने त्यो निकायले ध्यान पुर्‍याउनुपर्छ । मैले तिरेको कर कसको उपचारमा खर्च गर्ने ? मैले तिरेको कर गाउँको सुत्केरी मान्छे, गाउँको निर्धा निमुखालाई सिटामोल किन्न खर्च हुन्छ भने मैले विरोध गर्न हुँदैन । तर त्यो कहाँ खर्च भइरहेको छ । सुजाता कोइराला विदेशमा गएर उपचार गर्न, केपी ओली विदेशमा उपचार गर्न वा अरुअरु । यसको लिस्ट लामो हुन्छ । उहाँहरु त आफैं गर्न सक्ने मान्छे हो नि ।

अहिले जति बजेट विनियोजन भएको छ, त्यो हामीले नै तिरेको करबाट सञ्चालन गर्न पुग्दैन । देशको अर्थतन्त्र नै परनिर्भर भएर चलिरहेको छ । कर, तिर्न त प्रोत्साहित गर्न सकियो भने पो लोककल्याणकारी राज्य स्थापना होला त ?

मैले तिरेको कर जथाभावी खर्च भएको छैन भन्ने प्रत्याभूति गराउने काम राज्यको हो । हिजोअस्ति भुटानी पूर्व प्रधानमन्त्रीको ट्वीट आयो, ‘मैले प्रधानमन्त्री छोड्दा यो गाडी फिर्ता गरें । यो गाडी मैले १० वर्ष चढेको थिएँ लिडर हुँदा’ भनेर । अनि हाम्रो छोडेपछि पनि राखिराख्नुपर्ने ?

मेरो राष्ट्रपतिले, पूर्वप्रधानमन्त्रीले १० ठाउँमा एउटै लगाएको फोटो देखें भनेदेखि मलाई कर तिर्न उत्प्रेरणा दिन्छ, शासकहरु साधारण जीवन पो बिताउँदा रहेछन् भनेर । म त्यता जान खोज्दिनँ । मेरा केही सीमा छन् । प्रजातन्त्रमा, लोकतन्त्रमा कोही पनि मान्छे स्वेच्छाचारी हुँदैन । म त आˆनोतर्फबाट कराउनेमात्रै हो । मलाई लाग्दैन, म फेर्न सक्छु मेरो काम त लेख्ने, बोलिदिने हो भनिदिने हो । कहिलेकाहीँ सुन्छन् पनि कहिले सुन्दैनन् । मैले चेन्ज गर्छु भनेर लाग्ने होइन । भोली न्यायाधीस राम्रा भएनन् मै न्याय दिन्छु भन्न हुँदैन् ।

म कर तिर्दिन्न भनेर कचकच गर्न चाहिँ पाइँदैन । मेरो जोडचाहिँ त्यसलाई कसरी खर्च गर्ने भन्ने हो । हामीले तिरेको करमध्येको कति प्रतिशत असारमा बगेको पानीमा खर्च गरिन्छ । अर्को आर्थिक सहायता चन्दा पुरस्कारमा जानुभएन । मैले तिरेको त निमुखाकोमा पो जानुपर्‍यो त । अटलबिहारी बाजपेयीले भनेको सुनेको थिएँ, ‘सरकारले सेवा सुविधा त्यसलाई पुर्‍याउनुपर्‍यो, जो सार्वजनिक सेवा सुविधा लिने लाममा सबैभन्दा पछाडि छन् ।’ यहाँ त नजिकै बसेर कमरेड दाइ भने भनें आर्थिक सहायता पाउने भयो ।

मैले धेरैलाई उपचार खर्च भनेर दिएको छैन । किनभने, उसका काठमाडौंमा दुईवटा घर थिए, म डेरामा बस्थें । ऊ घर बेचेर मेरो हैसियतमा आओस् न, बल्ल म आर्थिक सहयोग गर्छु । सरकारले पनि त्यस्तोमा ध्यान दिनुपर्‍यो नि त ।

राजनीतिक दलहरुले आफूले गरेको आम्दानी-खर्च सार्वजनिक गर्नुपर्छ भनेर भन्न नसक्नुका भित्री कारण के होलान् ?

यो प्रश्नको जवाफ जसबाट आउँछ नि म उसको अग्लो शालिक बनाएर राख्ने थिएँ, पछि । शालिक राख्ने ठाउँ कतै त छैन मनमा चाहिँ राख्थें । मैले किताबमा पनि लेखेका छु । २०४७ सालमा शरदचन्द्र वस्ती सरले हरेक वर्ष राजनीतिक दलले प्रकाशित गर्नुपर्छ भनेर लेख्नुभएको थियो । त्यसपछि एकजना नेपाली कांग्रेसको नेता उहाँलाई भेट्न आउनुभयो रे । हामी कार्यसमितिबाट यो कुरा पारित गछौं उहाँले भन्नुभएछ । फेरि अर्को नेता आउनुभएछ र के नचाहिने कुरा गरेर मान्छे उचालेको भनेर भन्नुभयो रे । त्यही किन उचालेको भन्ने मान्छेले चुनाव जिन्नुभयो ।

त्यसैले हाम्रो राजनीतिक दलहरु बाटो देखाउने भएनन् । म जनताको पैसाबाट चल्छु र जनताको हितमा काम गर्छु भन्न केले रोकेको छ ? मैले बुझेको छैन । धेरै मान्छेले बुझेका छैनन् ।

जब चुनाव आउँछ, भारतमा त्यसको ठूलो प्रभाव देखिन्छ । नेपाली मिडियामा पनि त्यसको असर देखिन्छ । राजनीतिक दलले गर्ने खर्च नेपाली मिडिया कत्तिको प्रभावित हुन्छ ?

पत्रकारितामा चाहिँ आएको छैन । त्यो पैसा मिडियामा थोरैमात्रै आएको छ । तर, दाइ र कमरेड भन्नेले चाहिँ असर पारेको छ । भारतमाजस्तो कमजोर चाहिँ नेपालमा छैन ।

देशमा उद्योगधन्दा बढ्न अनि मिडियामा विज्ञापन पनि बढ्ने होला । जब मिडिया आफैं कमजोर छ भने त्यहाँ राजनीतिक लगानी छैन भनेर कसरी भन्ने ?

राजनीतिक लगानी भएको भए त्यसको खर्च देखिइहाल्न पर्‍यो नि । मालिकमा पनि त्यो देखिँदैन र कर्मचारीमा पनि त्यस्तो सामान्य त देखिएको छैन । अर्को, मलाई डर कुरा के हो भने उद्योगधन्दा बढ्दै गएर मिडिया राम्रो हुने कुरामा म आशावादी छैन । उद्योगधन्दा बढ्दै गए र प्रभाव बढ्दै गयो भने त हामीले उसको त लेख्नै सक्दैनौं । अहिले पनि संस्था नभनौं तर फलानाले फलानोको लेख्दैन, फलानाले फलानाको लेख्दैन भनेर दिन चाहिँ सक्छ्ु म । उनीहरु दह्रो हुँदै गए भने उनको हितमा बाहेक त हामी लेख्दै लेख्दैनौं ।

हुतराम वैद्यले बागमती सफा गर्न विदेशी डोनर पनि ल्याउनु हुँदैन र राज्यको करबाट पनि गर्नु हुँदैन मान्यतालाई सापटी लिएर लेख्नुभयो । एडीबीले लगानी गर्न खोज्दा ढिलाई गरियो भन्ने लाग्दैन ?

मलाई यो गलत हो भन्ने लाग्छ । त्यसरी बागमती सफा हुने म देख्दिनँ । बिहान म बागमती सफा गर्न जान्छु र फर्केर आएपछि दिसा पिशाब गर्छु अनि बागमतीमा पुर्‍याउँछु । पहिले त बागमती सफा छ मात्रै भन्थ्यौं हामीले अहिले त के भन्छौ भने शीर ठाडो पारेर मैले बागमती सफा गरें ।

जतिबेला बागमती सफा गरेर फर्केर चर्पी दिशापिसाब गरेर फ्लस गरी बागमती पठाएर अनि मैले सफा गरें भन्छौं । यो त नैतिक हिसाबले खत्तमै भयौं त । हुत्तरामजीजस्तो म विदेशी पैसा ल्याउनै हुँदैन भन्ने मान्यता त राख्दिन । किनकी त्यसमा त हाम्रो अधिकार हो । त्यो हामीले नै पाउनु पर्ने पैसा हो । मिसयुज गर्नुपर्छ ।

यहाँले तेह्रथुमको स्कुलमा गएर हाम्रा विद्यालय ब्याडमात्रै भए भनेर मतन्य दिनुभयो र त्यो किताबमा पनि राख्नुभएको छ । यहाँका थुप्रै विद्यालय ब्याडजस्तै भएका छन् । ब्याडबाट बिरुवा अन्त रोपिएका छन् । सहरकेन्दि्रत छन् । यसको दुश्परिणाम कस्तो देख्नुहुन्छ ?

त्यही भएर मैले लेखेको हुँ । किताबमा थोरै काल्पनिक कुरा पनि छ । हाम्रो हेडसर स्कुल ५० वर्ष पुगेको अवसरमा काठमडौं आएर सहयोग माग्दै भन्नुभएको थियो । उहाँले के भन्नुभयो र मैले के सम्झिएँ भनेदेखि ‘तिमीहरुले स्कुल उत्रिर्ण गर्दा चारित्रिक प्रमाणपत्र दिएका थियौं हामीले । त्यो दिएर गल्ती गरेछ स्कुलले । किनभने राम्रो चरित्र भएका मान्छेले गर्नुपर्ने एउटा काम पनि तिमीहरुले गरेनछौं । त्यसकारण स्कुलले जारी गरेका चारित्रिक प्रमाणपत्रहरु आजका मितिबाट रद्द गरिएको छ । र तपाईंहरु पढेका हिसाबले कुनै प्रमाणपत्र चाहानुहुन्छ भने चरित्रहीन प्रमाणपत्र दिन सक्छौं ।’ हेडसरले भनेका थिएनन् तर सुन्नेले यसो सुने भनेर मैले लेखेको छु । चरित्र राम्रो भएको मान्छेले आफुले पढेको स्कुल राम्रो पो बनाउँछ त आफू हुर्केको समाज राम्रो बनाउँछ त । खासमा हामीले गर्न नसकेको सबैभन्दा ठूलो कुरा आफु पढेको स्कुल र समाजका लागि गर्न नसक्नु हो ।

शिक्षाको निजीकरण पछिल्लो क्रममा बढी तीव्र भइरहेको छ । यस शिक्षा स्वास्थ्यजस्तो आधारभूत कुरामा निजीकरण गरिँदाखेरी गरिखानेे वर्ग चपेटामा पनि परेको छ । यसलाई यहाँले किताबमा समस्याको रुपमा औंल्याउनु पनि भएको छ । यसको उपाय के होला ?

मसँग उपाय छ तर म गर्न सक्दिनँ । म प्रधानमन्त्री भएको भए शिक्षामा संकटकाल लगाउँथे र टिचरले पढाएन भने ठाउँका ठाउँ निकालिदिन्थें । त्यो टिचरले पढाउनका लागि वातावरण भएन भन्छ भने त्यो जिम्मेवारी पूरा गर्ने थिएँ ।

प्रस्तुतिः अमृत सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment