Comments Add Comment

भारतीय भात ! भैरहवाबाट भित्रिन्छ जौ, जुनेलो, कोदो र फापर

एकै वर्षमा बेलहिया नाकाबाट ११ अर्बको चामल आयात


२९ साउन, बुटवल । कृषि प्रधान मुलुक भनिए पनि नेपालमा चामलको परनिर्भरता बढ्दो छ । रुपन्देहीको बेलहिया नाकाबाट आयात हुने चामलको तथ्यांक मात्रै हेर्ने हो भने पनि हामी भारतीय भातमा कति धेरै भर पर्न थालेछौं भन्ने प्रमाणित हुन्छ ।

चामलको मात्रै के कुरा, नेपालका पाखापखेरामा प्रशस्तै फल्ने जुनेलो, फापर, जौ र कोदोसमेत विदेशबाटै भित्रिने गरेको छ । मकै पनि भारतबाटै आइरहेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा मात्रै बेलहिया नाकाबाट पौने ११ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । अघिल्लो वर्ष १० अर्ब ८० करोड ५४ लाख बराबरको खाद्यान्न आयात भएको थियो । दुई वर्षअघि वर्ष १० अर्ब ६२ करोड ३१ लख ७० हजार बराबरको खाद्यान्न आयात भएको थियो ।

बेलहिया नाकाबाट अन्य खाद्यान्नको तुलनामा चामल र कनिकाको आयात ह्वात्तै बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार चामल र कनिकामात्रै गतवर्ष एक लाख ९९ हजार ३ सय ३२ मेट्रिक टन आयात भएको छ । यो परिमाणको मूल्य करिब ९ अर्ब २७ करोड ९० लाख १४ हजार हुन आउँछ । र, यो अघिल्लो वर्षभन्दा २१.२३ प्रतिशत अर्थात् ३० हजार ४ सय ९५ मेट्रिक टनले बढी हो ।

चामलको मात्रै के कुरा, नेपालका पाखापखेरामा प्रशस्तै फल्ने जुनेलो, फापर, जौ र कोदोसमेत विदेशबाटै भित्रिने गरेको छ

अघिल्लो वर्ष ७ अर्ब ६५ करोड ३९ लाख २१ हजार मूल्य बराबरको एक लाख ६८ हजार ८ सय २८ मेट्रिक टन आयात भएको पौडेलले जानकारी दिए ।

किन बढ्दैछ चामलको आयात ?

खेतीयोग्य जमिनको जथाभावी प्लटिङ गरिनु, किसानले समयमै मलबिउ नपाउनु, कृषि जनशक्तिको अभाव हुनु अनि कृषि पेशाप्रति अरुचि बढ्नु जस्ता कारणले खाद्यान्न उत्पादनमा ह्रास आउँदा आयात बढेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले अनलाइनखबरलाई बताए ।

खेतीयोग्य जमिनको खण्डीकरणलाई कडाईका साथ नियन्त्रण गरी कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण र सम्मानित पेशाकारुपमा विकास गर्न राज्यले प्राथमिकता नदिए खाद्यान्न आयात झनै बढ्ने सापकोटा बताउँछन् । कृषिमा सुधार ल्याउने भन्दै सरकारले अघि सारेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ले पनि उत्पादनमा खासै सुधार ल्याउन नसकेको सापकोटाले बताए ।


मकै, कोदो, गहुँ, जौ र फापरलाई खानाको परिकारका रुपमा कम प्रयोग गर्ने जीवनशैलीका कारण चामलको आयात बढेको व्यवसायीहरु बताउँछन् ।

‘बढ्दो वैदेशिक रोजगारीका कारण खेती गर्ने जनशक्तिको कमी हुनु र ज्येष्ठ नागरिक तथा महिलाको भरमा गरिने निर्वाहमुखी खेतीले पनि आयातलाई बढवा दिइरहेको छ’

धानको उत्पादन तराईमा मात्रै हुनु र खेतीयोग्य जमिन प्लटिङ गरेर बाँझो हुनुले चामलको आयात सबैभन्दा धेरै बढेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए ।

‘बढ्दो वैदेशिक रोजगारीका कारण खेती गर्ने जनशक्तिको कमी हुनु र ज्येष्ठ नागरिक तथा महिलाको भरमा गरिने निर्वाहमुखी खेतीले पनि आयातलाई बढवा दिइरहेको छ’–अध्यक्ष भण्डारीले भने ।

यस्तो छ बेलिहया नाकाको तथ्यांक

चामल आयात बढे पनि अन्य खाद्यान्नको आयात भने खासै बढेको छैन । तर, कोदो फापरसमेत विदेशबाटै आउने क्रम भने यथावत छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष चामल बाहेक अन्य खाद्यान्न एक अर्ब ५२ करोड ६३ लाख ८६ हजार बराबरको आयात भएको छ । अघिल्लो वर्ष २ अर्ब ९६ करोड ९२ लाख ४९ हजारको आयात भएको थियो ।

 

तथ्यांक अनुसार गत वर्ष गहुँ, जौ र जुनेलो १४ हजार ३ सय २३ मेट्रिक टन अर्थात् ३९ करोड ८ लाख बराबरको आयात भएको छ । यो अघिल्लो वर्षभन्दा ३३ हजार ९ सय ७७ मेट्रिक टन कम हो ।

अघिल्लो वर्ष ४८ हजार ३ सय मेट्रिक टन अर्थात् १ अर्ब २३ करोड ९८ लाख २९ हजार बराबरको आयात भएको थियो । यस्तै धान २ हजार २ सय ५६ मेट्रिक टन अर्थात् ५ करोड ४१ लख ३५ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षभन्दा १ हजार ३९ मेट्रिक टन कमी हो ।

अघिल्लो वर्ष ३ हजार २ सय ९५ मेट्रिक टन अर्थात् ८५ करोड ९७ लाख ६ हजार मल्य बराबरको आयात भएको थियो । मकै ४० हजार १५ मेट्रिक टन अर्थात् एक अर्ब ८ करोड १० लाख ५२ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षभन्दा १५ हजार ३ सय ९८ मेट्रिक टन कमी हो । अघिल्लो वर्ष ५५ हजार ४ सय १३ अर्थात् १ अर्ब ६४ करोड २३ लाख ६५ हजार बराबर हो ।

यस्तै फापर, कोदोलगायतको खाद्यान्न ६ हजार ७ मेट्रिक टन अर्थात् ३ लाख ९९ हजार बराबरको आयात भएको छ । जुन अघिल्लो वर्षभन्दा १३ हजार ७ मेट्रिक टन कमी हो । अघिल्लो वर्ष २० हजार ४ मेट्रिक टन अर्थात् १० लाख ७९ हजार बराबरको आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment