Comments Add Comment

प्रदेश २ मा प्रधानमन्त्रीको सम्बोधन, मिथिला भोजन र पान खुवाउने तयारी


२ भदौ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दैछन् ।

प्रदेश २ का सभामुख सरोजकुमार यादवले शनिबार ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ ।
७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले विभिन्न प्रदेशमा सम्बोधन गरिसकेका छन् ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तथापि, विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ ।

त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

मिथिला भोजन र पान खुवाइने

प्रदेशसभामा सम्बोधनपश्चात प्रधानमन्त्री ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन खुवाउने तयारी छ ।

सभामुख यादवले सम्बोधनपछि प्रधानमन्त्रीलाई दाल, भात, तरुवा, तरकारी, करही बरी र माछालगायतका मिथिला भोजन खुवाइने जानकारी दिए । खानापश्चात मिथिला विशेष पानसमेत खुवाइने तयारी छ ।

प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपश्चात तत्कालीन नेकपा माओवादीका दशवर्षे जनयुद्धका सहिद रामवृक्ष यादवको २४ औं स्मृतिसभालाई प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभामा हुने कार्यक्रममा प्रम ओली र प्रचण्ड संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment