Comments Add Comment

अनुगमनको विरोधमा तरकारी व्यवसायी आन्दोलित, विक्री रोक्ने चेतावनी

४ भदौ, काठमाडौं । सरकारी अनुगमनको विरोधमा तरकारी फलफूल व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको छ । उसले भोलिदेखि काठमाडौंको कालिमाटी तरकारी बजारमा विक्री वितरण रोक्ने निर्णय नै गरेको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागको टोली सोमबार विहानै अनुगमनका लागि कालिमाटी पुगेको थियो । त्यसक्रममा विल विजक नभएको भन्दै दुई वटा गाडीलाई नियन्त्रणमा लियो । तर, व्यवसायीहरुले अनुगमन टोलीलाई तरकारी बजार विकास समितिको कार्यालयमै थुनेको थियो ।

बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव समेत फिल्डमा पुगेपछि तरकारी फलफूल व्यवसायी महासंघका महासचिव भरत खतिवडा लगायतलाई पक्राउ गर्‍यो । व्यवसायीहरु तितरवितर भएपछि अनुगमन टोली पनि फर्किएको छ ।

तर, सरकारले तरकारी बजारमा हस्तक्षेप गरेको भन्दै महासंघले आन्दोलन घोषणा गरेका छन् । भोलिबाट काठमाडौंको कालिमाटी तरकारी बजारमा विक्री वितरण रोक्ने निर्णय भएको महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

काठमाडौं बाहिर भने व्यवसायीले हातमा कालोपट्टी बाँधेर काम गर्ने महासंघले बताएको छ ।

मंगलबार विहान ७ बजेसम्म कालिमाटी बजारमा तरकारी विक्रीवितरण गरेर त्यसपछि सबै पसलहरु बन्द गर्ने निर्णय भएको महासंघका अध्यक्ष घिमिरेले जानकारी दिए । व्यवसायीले सोमबार स्टकमा रहेका तरकारी भोलि विहानसम्म बिक्री गरेर काठमाडौंमा तरकारीको बिक्री वितरण रोक्ने निर्णय गरेका हुन् ।

‘हामी तरकारी बजारलाई शान्ति क्षेत्र बनाउनुपर्छ भन्ने पक्षमा छौं । तर, सरकारले कुनै नियम, विधिक र मापदण्ड नबनई हाम्रा व्यवसायी साथीलाई विनाकारण धरकपड गर्‍यो,’ अध्यक्ष घिमिरेले अनलाइनखबरसँग भने, ‘अब तरकारी बजार व्यवस्थापनको खाका सरकारले नल्याएसम्म पसहलरु खोल्दैनौं ।’

उनले होलसेल र खुद्रा बजाारमा कतिसम्म मार्जिन राख्न पाउने हो भन्ने मापदण्ड सरकारले तय गर्नुपर्ने बताए । कालिमाटी बजारमा तरकारी बेच्न आएका कृषकसँग पनि बिलबिजक माग्नु गैरजिम्मेवारपूर्ण काम भएको महासंघको दाबी छ ।

महासंघले सोमबार पक्राउ परेका आफ्ना महासचिव खतिवडाको रिहाईको पनि माग गरेको छ । माग पुरा नभए देशभर तरकारीको विक्री वितरण ठप्प पार्ने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment