Comments Add Comment

सेप्सिस किन र कसलाई लाग्छ ? डा. अजय कुमार झाको लेख

सेप्सिस तपाईंले सुनिरहनु भएकै शब्द हुनसक्छ । खासगरी शरीरमा कुनै पनि प्रकारको संक्रमण भएमा त्यसलाई सेप्सिस भन्ने गरिन्छ । यस्ता संक्रमण शरीरको कोषिका, टिस्यु वा शरीरका कुनै पनि अंगमा हुन सक्छ ।

यस्ता संक्रमण विशेषगरी, व्याक्टेरिया, भाइरस, फंगस वा प्यारासाइट्सका कारण हुने गर्दछ । तर व्याक्टेरियाका कारण शरीरमा हुने संक्रमणलाई सामान्यतया सेप्सिस भन्ने गरिन्छ । यस्ता सेप्सिस सानो घाउ, खटिरा देखि ठूलो घाउ तथा संक्रमणसम्म हुनसक्छ, जसलाई चिकित्सकीय भाषामा सेप्टेसिमिया भन्ने गरिन्छ । सामान्यतया यस्ता सेप्टेसिमिया वा सेप्सिस दुई प्रकारका हुन्छन्, लोकल सेप्सिस र जेनेरलाईज्ड सेप्सिस ।

लोकलाइज्ड सेप्सिस

यदी शरीरको कुनै भाग विशेषगरी हात, खुट्ट , टाउको, ढाड वा शरीरको कुनै भागमा संक्रमण भएमा त्यसलाई स्थानीय अर्थात लोकलाइज्ड सेप्सिस भनिन्छ । लोकलाइज्ड सेप्सिस भएमा शरीरमा कुनै अंगमा संक्रमण भई पिप निस्कने गर्दछ । त्यस्तै, हड्डीमा संक्रमण (सेप्सिस) भएमा पनि त्यसलाई बोन सेप्टिक आर्थराइटिस भन्ने गरिन्छ । लोकलाईज्ड सेप्सिस भएमा यी लक्षण देखा पर्ने गर्दछ । ः

लोकलाईज्ड सेप्सिसका लक्षण

-ज्वरो आउने

-शरीरमा रातो दाग देखिने

-शरीर दुख्ने

-अंग चलाउन नसक्ने

जेनेरलाइज्ड सेप्सिस

जबकी उक्त संक्रमण शरीरको कुनै एउटा भागमा नभएर पूरै रगतमार्फत धेरै ठाउँमा फैलिएमा त्यसलाई जेनेरलाईज्ड सेप्सिस भनिन्छ । सामान्यतया रगतमा रातो रक्तकोषिका, सेतो रक्तकोषिका तथा प्लेटलेट्स हुने गर्दछ ।

त्समध्य सेतो रक्तकोषिकामा रहेको न्युट्रोफिल नामक तत्वले संक्रमणसित लड्न मद्दत गर्दछ । सामान्य अवस्थामा न्युट्रोफिलले रोगसित लडेर शरीरमा संक्रमण हुने सम्भावनामा कमी ल्याउने गर्दछ ।

त्यसैले पनि प्रतिरोधी क्षमतासित न्युट्रोफिलको सम्बन्ध प्रत्यक्ष हुने गर्दछ ।

तर , जब सेतो रक्तकोषिकामा न्युट्रोफिलको मात्रा कम हुने गर्छ, तब शरीरमा रोगको संक्रमण हुने संभावना उच्च हुने गर्दछ । जसका कारण शरीरमा जेनेरलाईज्ड सेप्सिस हुने गर्दछ ।

जेनेरलाइज्ड सेप्सिस भएमा यी लक्षणहरु देखा पर्दछ ।

जनरलाईज्ड सेप्सिसका लक्षण

-ज्वरो आउनुका साथै चिसो महसुस हुनु

-शरीर बेस्सरी दुख्ने

-निमोनिया हुने

-सेप्सिसका कारण मिर्गौलामा असर भएमा पिसाब कम हुनु

-टाउकोमा असर भएमा व्यक्तिको सेन्स हराउँदै जानु

-सेप्सिसका कारण मुटुमा असर भएमा मुटुको चालमा गडबडी हुनु, मुटुले राम्ररी काम नगर्नु

-शरीरमा अक्सिजनको कमी हुनु

-शरीरका मुख्य अंगहरुलाई प्रभावित पारेमा ती अंगहरुले विस्तारै काम गर्न छोड्नु ।

क्यान्सरका रोगीहरुमा प्रतिरोधी क्षमता कम हुने गर्दछ । जसका कारण उनीहरुमा रोगको संक्रमण हुने सम्भावना उच्च रहने गर्दछ ।

त्यस्तै, एचआईभी एड्स, हेपाटाइटिस लगायतका रोगहरुमा समेत प्रतिरोधी क्षमता कम हुने गर्दछ । जसका कारण उनीहरुमा सेप्सिस हुने सम्भावना अधिक हुने गर्दछ ।

तर जो मानिस स्वस्थ छ, तथा उसलाई कुनै रोग छैन, त्यस्ता व्यक्तिलाई लोकलाईज्ड सेप्सिस हुने सम्भावना धेरै हुने गर्दछ । जबकी जो मानिसको प्रतिरोधी क्षमता कमजोर छ, उसलाई जेनेरलाईज्ड सेप्सिस हुने गर्दछ ।

सेप्सिसको सम्बन्ध इम्युनोग्लोव्युलिनसित पनि हुन्छ । शरीरमा इम्युनोग्लोव्युलिनको मात्रा तलमाथि भएमा सेप्सिस हुने गर्दछ ।

कसरी थाहा पाउने ?

यी जाँचहरुद्धारा पनि सेप्सिस भए नभएको थाहा पाउन सकिन्छ । जुन यस प्रकार छः

-कम्पिट व्लड काउन्ट (सिबिसी)

-इएसआर (इराईथ्रोसाइट सेडिमेन्टेसन रेट)

-सि- रियाक्टिभ प्रोटिन (सिआरपी) जाँच

-व्लड कल्चर

-पिबिएस (पेरिफेरल व्लड स्मेयर टेष्ट )

-अल्ट्रासाउण्ड

-एक्सरे

-पिसाबको कारण

किन हुन्छ सेप्सिस ?

सेप्सिस दुईवटा कारणले हुन्छ । यदी कुनै रोग तथा समस्याका कारण शरीरको प्रतिरोधी क्षमता कमजोर भएमा पनि व्यक्तिलाई सेप्सिस हुने गर्दछ ।

त्यस्तै, शरीरको  प्रतिरोधी क्षमता कमजोर भएमा पनि व्यक्तिलाई सेप्सिस हुने गर्दछ । यस्ता व्यक्तिमा कुनै किसिमको संक्रमण भएमा यसले गम्भीर समस्या निम्त्याउने गर्दछ ।

उपचार विधि

कुनै पनि व्यक्तिमा सेप्सिस देखिएमा विभिन्न जाँचहरु गरेर रोगको पहिचान गर्न जरुरी छ । एकपटक रोगको पहिचान भैसकेपछि एन्टीबायोटिक, एन्टी फंगल , इम्युनोग्लाव्युोलिन , ल्यूकोसाइट इन्फ्युजन  तथा एन्टी भाइरस औषधीद्धारा पनि यस्ता संक्रमणको उपचार गर्न सकिन्छ । तर सेप्सिसको समस्याबाट पिडित मानिसलाई एन्टीबायोटिक दिदा विशेष सजगता अपनाउन जरुरी छ ।

बोन म्यारो  ट्रान्सप्लान्ट गरेका विरामीमा फंगसको संक्रमण हुने सम्भावना धेरै हुने गर्दछ । त्यस्ता विरामीमा संक्रमण घटाउन एन्टी फंगल औषधीको प्रयोग गरिन्छ । यस्ता औषधी विरामीको अवस्था हेरी ५ देखि ७ तथा १० दिनसम्म दिन सकिन्छ । जबकी म्यानेन्जाइटिसका विरामीलाई भने यस्ता औषधी दुई देखि तीन हप्तासम्म औषधीको प्रयोग  गराइन्छ ।   कुन विरामीलाई कस्तो औषधी दिने भन्ने कुरा विरामीको अवस्थामा भर पर्ने गर्दछ ।

को-को पर्छन्, संक्रमणको जोखिममा ?

-ससाना बच्चा (विशेषगरी कुपोषणमा रहेका)

-नवजात शिशु

-वृद्धवृद्धामा

-प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने औषधीको सेवन गर्नेमा

-मधुमेहको विरामी

-मिगौलाको डायलासिस तथा मिगौला प्रत्यारोपण गरेका विरामीमा

-स्वास प्रस्वास लगायत फोक्सो सम्बन्धि गम्भीर क्यान्सर समस्या भएमा

-एप्लाष्टिक एनिमिया, क्यान्सर, रक्तक्यान्सर,

-बोनम्यारो प्रत्यारोपण गरेका विरामीहरुमा

-हेपाटाइटिस भएका विरामीमा

-एचआईभी एड्स संक्रमित व्यक्तिहरु

-आईभी ड्रग्स प्रयोगकर्ताहरु

-आणुवंशिक रोगका कारण प्रतिरक्षा प्रणाली कमजोर भएमा

-अस्पताल भर्ना भएका विरामी  तथा जटिल शल्यक्रिया गरिएका विरामीहरु पनि यसको उच्च जोखिममा रहने गर्छन् ।

जोखिम तत्व

-खानपान,  हस्पिटलको संक्रमण, कैथेटरको प्रयोग, आईभी क्यानुला को प्रयोगले पनि यस्ता संक्रमण हुने गर्दछ । त्यस्तै, समुदायमा हुने निमोनिया, हावा पानीको स्तर तथा जो व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर छ, उनीहरुमा पनि यसको संक्रमण हुने सम्भावना उच्च हुने गर्छ ।

त्यसैले , यस्ता व्यक्तिहरुलाई हामी विशेष सुझाव दिने गर्छौ । जुन यस प्रकार छ ः

-धुलो धुवामा नहिड्ने

-भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने

-खाना राम्ररी पकाएर खाने

-हरियो साजसब्जी राम्ररी पखालेरमात्र खाने

-सरसफाईमा विशेष ध्यान दिने

– ताजा तथा स्वस्थ खानेकुराको सेवनमा विशेष जोड दिने

(भक्तपुर क्यान्सर हस्पिटलका रक्त क्यान्सर रोग विशेषज्ञ डा. अजय कुमार झासँग अनलाइनखबरका लागि ऋचा अर्यालले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment