Comments Add Comment

बाह्रबिसेका अवैध टहरा हटाउने विषयमा विवाद

२ असोज, सिन्धुपाल्चोक । सडक अतिक्रमण गरी बाह्रबिसेमा अवैध रुपमा निर्माण गरिएका अस्थायी टहरा हटाउने बाह्रबिसे नगरपालिकाको योजनामा स्थानीयले अवरोध गरेका छन् ।

बाह्रबिसे नगरपालिकाको नगर कार्यपालिकाको बैठकले बाह्रविसे बजारलाई व्यवस्थित गर्नका लागि केही समयअघि बजारको सडक छेउमा निर्माण गरिएका टहरा, मोटर ग्यारेज, गोदाम घर हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले गरेको निर्णयमा बजारबासीको साथ रहे पनि टहरा निर्माण गरेकाहरुले यसमा अवरोध गर्दै आएका छन् ।

नगरपालिकाका मेयर मिनफुञ्जो शेर्पाले राजधानीमा बसेर अवैध टहराको भाडा असुल्दै आएकाहरु नगरपालिकाको अभियानविरुद्ध उत्रिएको मेयर निमफुञ्जो शेर्पाले आरोप लगाए ।

सडक अतिक्रमण गरेर बनाइएको अस्थायी संरचना हटाउन नगरपालिकाले चिह्न लगाएर काम शुरु गरिरहेका बेला काठमाडौंमा बस्ने केही घरधनीहरुले विरोध गरेको मेयर शेर्पाको भनाइ छ ।

‘बजारलाई व्यवस्थित बनाउन अवैध टहरा हटाउने निर्णय गरेका थियौं’, मेयर शेर्पाको आरोप छ, ‘तर टहरोबाट मासिक भाडा उठाएर खानेहरु यो अभियान अवरुद्ध गर्ने प्रयास गरिरहेका छन् ।

मेयर शेर्पाले खोर्सानीबारीमा रहेको आफ्नै कम्पाउण्ड हटाएर बाह्रबिसे बजारलाई व्यवस्थित गर्ने अभियान शुरु गरेका थिए ।

विकास देख्न नचाहने र बजारलाई सधैं दुर्गन्ध राख्न चाहनेहरुले अभियानमा अवरोध गरेको भन्दै मेयर शेर्पाले आक्रोस पोखे ।

बाह्रविसे नगरपालिका–४ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठसहित भएर गरेको निर्णयमा अहिले वडाध्यक्ष आफैं विरोधमा उत्रनु दुःखद् भएको शेर्पाले बताए । नगरपालिकाले शुरु गरेको अयिभानविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका स्थानीय हरिशरण श्रेष्ठको अगुवाइमा सोमबार बाह्रबिसेमा विरोध प्रदर्शन समेत भएको थियो ।

अवैध टहरो यथावत राख्नुपर्ने समूहको नेतृत्व गरेका कांग्रेस नेता हरिशरण श्रेष्ठले भने नगरपालिकाले समान मापदण्ड नबनाई हचुवामा संरचना भत्काउन लागेकाले आफूहरुले त्यसको विरोध गरेका बताए । ‘समान मापदण्ड बनाएर सडक फराकिलो बनाऊ, कसैको बास नै उठ्ने गरी सडक बिस्तार गर्नु हुन्न’, श्रेष्ठले भने ।

तर नगरपालिकाले भने समान मापदण्ड नै बनाएर बजारलाई व्यवस्थित गर्न खोजेको दाबी गरेको छ । ‘हामीले कसैलाई बास उठाउने गरी सडक बिस्तार गर्न लागेको होइन, अवैध रुपमा निर्माण गरिएका अस्थायी संरचना मात्रै हटाउन लागेको हो’, उपमेयर सुशीला पाख्रिनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment