Comments Add Comment

नवाज सरिफको सजाय स्थगित, रिहा गर्न अदालतको आदेश

३ असोज, काठमाडाैं । भ्रष्टाचार अभियोगमा दुई महिनाअघि जेल परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । सरिफ र उनका छोरी-ज्वाईंलाई तल्लो अदालतले दिएको सजाय पनि स्थगित गरिएको छ ।

सरिफलाई १० वर्षको जेल सजाय तोकिएको थियो । यसविरुद्ध उनले इस्लामावाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदनमा सुनवाई गर्दै अदालतले उनीहरुलाई छोड्ने आदेश दिएको हो ।

सरिफकी पत्नी कुल्सुम नवाजको एक हप्ता अगाडि मात्र लन्डनमा निधन भएको थियो । रावलपिन्डी कारागारमा राखिएका सरिफलाई लाहोरमा आयोजित श्रीमतीको अन्त्यष्टिमा सहभागी हुन दिइएको थियो ।

लन्डनमा रहेको प्रपर्टीको स्वामित्वलाई लिएर सरिफ विवादमा छन् । उनले भने आरोप अस्वीकार गरेका छन् । इस्लामावाद अदालतले पनि उक्त प्रपर्टी सरिफसँग सम्वन्धित नभएको निश्कर्ष निकालेको छ ।

सात वर्षको सजाय तोकिएकी सरिफकी छोरी मरियम र ज्वाई सफदार अवान पनि छुट्ने भएका छन् । अदालतले सरिफको मुद्दामा उनीहरु अनावश्यकरुपमा तानिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment