+
+
Shares

पर्व सुधारका नाममा एक महिना अगाडि नै दशैं मनाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३ गते २२:०४

३ असोज, गोरखा । पर्व सुधार भन्दै जिल्लाका विभिन्न ठाउँमा बुधवार टीका र जमरा लगाएर दशैं मनाइएको छ । सिरानचोक गाउँपालिकाको छोप्राक, गाखुँ, चोरकाटे लगायतका स्थानमा दशैं मनाइएको हो ।

पर्व समय सुधार राष्ट्रिय समितिको परामर्श अनुसार एक महिना अघि दशैं मनाइएको छोप्राक स्थित धर्मावती मावि चोरकाटेका प्रधानाध्यापक भरत पोखरेलले बताए ।

विगत चार बर्षदेखि बिद्यालयले दशैं आउनु एक महिना अगाडि नै दशैं मनाउँदै आएको उनले जानकारी दिए । ‘यो एउटा अभियान हो, त्यही अभियान अनुसार भदौ २४ गते घटस्थापना मानेर जमरा राखेका थियौं’ उनले भने ।

दशैं मनाउन समितिले बाषिर्क पाँच हजार रकम दिने गरेको छ । ‘खगोल विज्ञानलाई आधार मान्ने हो भने २४ घण्टाको एक दिन भनिएपनि ३ दशमलव २७ सेकेण्ड समय अपुग हुन्छ’ पर्व सुधारका अगुवा हरि मल्लले भने, ‘दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुने भएकाले दशैं अघि सरेको हो ।’

पर्व सुधार भन्दै एक महिना अघि नै दशै मनाउनेमा अधिकांश विद्यार्थी र शिक्षक थिए । बुधबार सार्वजनिक बिदा भएपनि पर्व सुधार अभियानमा साथ दिने विद्यालयले दशैं मानाउन सबै बिद्यार्थीलाई अनिवार्य उपस्थित हुन भनिएको थियो ।

दिउँसोको चर्काे घाममा एकदेखि दश कक्षमसम्मका बालबालिकाहरु टीका र जमरा थाप्न लाइनवद्ध थिए । पर्व सुधारको अर्थ नबुझेका बालबालिकाहरुलाई शिक्षकहरुले टीका र जमरा थमाइदिइरहेका थिए, जेरी पुरीको साथमा ।

विद्यालयमा दशैं मनाउन आएका धर्मावती मावि चोरकाटेको कक्षा १० मा अध्ययनरत छात्र अशोककुमालले पर्व सुधारको अर्थ थाहा नभएको बताए । ‘दशै मनाउन सबै आउनुपर्छ भन्नुभयो अनि आएको हो, आधा साथीहरु त अझै आएनन्’ उनले भने ।

कतिसम्म भने दशैं मनाउने स्कुलका अधिकांश शिक्षकहरु समेत पर्व सुधारको अर्थ र आवश्यकताबारे अनविज्ञ देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?