Comments Add Comment

साहित्यवार्ताः मभन्दा जुनियरहरु कुलपति भइसके

कुनैबेला नेपाली विद्यार्थीले आफ्नो माध्यमिक शिक्षा पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नैपर्ने बाध्यता थियो । हास्यव्यङ्ग्यमा लाग्नेहरूका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन ।

शिक्षा संकायतर्फ पाँडे भूगोलका प्रथम प्राध्यापक पनि हुन् । उनैले विश्वलाई पहिलोपटक ‘उचाइ भूगोल’को विषय दिए । नेपाली भूगोलका विज्ञ टोनी हेगेनले उनलाई नेपाली भूगोलका अद्वितीय प्रतिभा भनेर सांर्वजनिक प्रशंसा गरेका थिए ।

एक सयभन्दा बढी पुस्तक लेखेका पाँडे अंग्रेजी भाषामा धेरै पुस्तक लेख्ने नेपाली पनि हुन् । ९ महिना जापान बस्दा विदेशीहरूका लागि त्यहाँको भूगोल बुझाउने पुस्तक नभेटेपछि उनले जापानी भूगोलको पुस्तक लेखेका थिए । अमेजन डट कम मार्फत धेरै रोयल्टी पाउने नेपाली हुनुमा यही पुस्तकको योगदान छ । उनका ८ वटा अंग्रेजी पुस्तक अहिले अमेजनले बिक्रीमा राखेको छ ।

हास्यव्यङ्ग्य क्षेत्रलाई संगठित गरेर पहिलो पटक गाईजात्रा कार्यक्रम गर्ने पनि पाँडे नै थिए । उनैको हात समाएर अघि बढेका हास्यव्यङ्ग्य क्षेत्रका धेरै कलाकार अहिले नेपाली कला क्षेत्रमा चर्चित भएका छन् । मदनकृष्ण र हरिवंश आचार्यले धेरै पटक सार्वजनिक मञ्चमा पाँडेले हास्यव्यङ्ग्य क्षेत्रमा गरेको योगदान सम्झने गरेका छन् ।

अहिलेसम्म प्राज्ञ त बनाएनन्, कुलपति त धेरै टाढाको कुरा । अब त मभन्दा धेरै जुनियर पनि कुलपति भइसके । अनि कसरी जानु ?

साहित्यका विभिन्न किसिमका संस्था गठन गर्ने पाँडेको भागमा सानाठूला गरी १ सय ११ वटा विषयमा ‘पहिलो’हुने सौभाग्य प्राप्त छ । बाल साहित्य, किशोर साहित्य, प्रौढ साहित्य, लोक साहित्य, हाइकु, सिजोजस्ता फरक विषयमा कलम चलाएका पाँडे आज पनि एक दर्जन संस्थाको नेतृत्व तहमा छन् । नयाँ विषय देख्नेबित्तिकै हात हाल्ने र त्यस विषयमा कलम चलाउने व्यक्तिलाई संगठित गरिहाल्ने प्रवृत्तिका कारण उनी ‘अस्थिर स्वभावका क्रियाशील विद्वान्’का रूपमा कवि समाजमा चर्चित छन् । यद्यपि उनी यसलाई समयको बाध्यता मान्छन् ।

विश्वविद्यालयबाट सेवानिवृत्त भएर घरमै अध्ययनअध्यापनमा लागिरहेका ७२ वर्षे उमेरमा पनि हट्टाकट्टा पाँडेसँग यसपटक अनलाइन खबरका लागि अश्विनी कोइरालाले उनको ५० वर्ष लामो साहित्यिक व्यक्तित्व खोतल्ने प्रयास गरेका छन् ।

भोलिपर्सि नै प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा गठन हुँदैछ । तपाईंलाई कुलपति वा त्यस्तै केही प्रस्ताव आएको छैन ?

आए पनि जान्नँ ।

किन ?

प्रस्तावै आउँदैन, अनि कसरी जानु ? गाँठी कुरा के भने म कुनै पनि दलमा छैन । अहिलेसम्म प्राज्ञ त बनाएनन्, कुलपति त धेरै टाढाको कुरा । अब त मभन्दा धेरै जुनियर पनि कुलपति भइसके । अनि कसरी जानु ?

बूढो भयो भनेर हो कि ?

म एक्लैले झण्डै प्रज्ञा प्रतिष्ठान जत्तिकै काम गरिरहेको छु । मानिस उमेरले बूढो हुने हो र ? एक सातापछि जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन हुँदै छ । अहिले नेपालबाट त्यसको सम्पूर्ण तयारी गरिरहेको छु । म आफैं कवि–लेखकलाई लिएर उता जाँदै छु । एकसाथ दर्जनौं पुस्तकमा काम गरिरहेको छु । झण्डै दर्जन संस्था हाँकेको छु । बूढो मानिसले त काम गर्नै सक्तैन नि !

मनोज गजुरेल, मह जोडीहरूले सार्वजनिक समारोहमा तपाईंको प्रशंसा गरेको सुनेको छु । तपाईं उहाँहरूको गुरु हो ?

होइन, पटक्कै होइन । प्रशंसा गर्नु उहाँहरूको महानता हो । प्रतिभाशाली मानिस आफ्नो मूल बिर्सदैनन् । उहाँहरूले आफ्नो मूलघर सम्झनु भएको हो । भएको के थियो भने नेपालमा गाईजात्रा त मनाइन्थ्यो तर त्यो बौद्धिक र संगठित थिएन ।

२०३३ सालको कुरा हो, शताब्दी पुरुष सत्यमोहन जोशी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँलाई दरबारबाट परम्पराबाट चलिआएको गाईजात्रालाई प्रज्ञा प्रतिष्ठानले संयोजन गरेर चलाउनू भन्ने आदेश आएछ । त्यति मात्र होइन, त्यस विषयमा रामकुमार पाँडेसँग सल्लाह गर्नू भन्ने पनि आदेश भएछ । अब त्यो बेलाको शक्तिशाली दरवार, त्यसमाथि राजाका निजी सचिवले नै पाँडेसँग सल्लाह गर्नू भनेपछि म सुरुदेखि नै गाईजात्रासँग जोडिएँ ।

राजा र प्रधानमन्त्रीका अघि हास्यव्यङ्ग्यकारहरूले प्रदर्शन गर्ने भएपछि नेपालभरिबाट प्रतिभाशाली मानिस आए । त्यसमध्ये नेपाली संस्कृतिलाई समेटेर बनाएको एउटा प्रहसनले नेपाली संस्कृतिको बेइज्जत गर्‍याे भनेर केही निर्णयकहरूले त्यसलाई हटाउन चाहेका थिए । मैले चाहिँ नेपालीपन भएका कारण त्यो देखाउनै पर्छ भन्ने अड्डी लिएँ । दुईजना सामान्य केटाहरूको त्यो प्रदर्शन वास्तवमा सिर्जनशील थियो । पछि पो थाहा भयो, ती जोडी अरू कोही नभएर मदनकृष्ण र हरिवंश पो रहेछन् !

हास्यव्यङ्ग्य कार्यक्रम गर्न दरबारले तपाईंलाई नै किन खोज्यो । राजावादी भएर हो ?

खासमा व्यङ्ग्यकार कहिल्यै कुनै सत्ताधारीको हुँदैन । नत्र कसरी व्यङ्ग्यकार हुने ? खासमा म पाटन कलेज पढ्दा हाम्रो अंग्रेजी शिक्षक हुनुहुन्थ्यो, नारायणप्रसाद श्रेष्ठ । त्यो बेला म कलेजमा स्टाण्डबाइ कमेडियन थिएँ । त्यो बेला टेलिभिजनहरू थिएनन्, त्यसैले टोल—टोलमा हँसाउने युवाहरू सक्रिय हुन्थे, तीमध्ये एक म थिएँ । त्यही बेला म पत्रपत्रिकामा हास्यव्यंग्य पनि लेख्न थालेको थिएँ । यी दुवै प्रतिभा नारायण सरले देख्नुभएको थियो । संयोगवश उहाँ राजा वीरेन्द्रको निजी सचिव हुनुभयो । कलेज छँदा म विद्यार्थी युनियनको सचिव थिएँ र मैले गर्ने सिर्जनात्मक काम उहाँले देख्नुभएको थियो । यही कारण प्राज्ञ नभए पनि गाईजात्राको कमिटीमा मलाई राख्ने गरिएको थियो ।

म आफू पनि हास्यव्यङ्ग्य लेख्ने र अभिनय पनि गर्ने भएकाले यसमा मेरो चासो थियो । सरकारी स्तरबाट गरिने र राजारानीले नै हेर्ने भएकाले कतिपय राम्रा कुरा पनि सेन्सरसीपमा पर्दथे । तैपनि त्यो बेला गाईजात्राको निहुँमा धेरै नै काम भएको थियो । मलाई लाग्छ, हास्यव्यङ्ग्यका लागि त्यो स्वर्ण युग थियो । त्यही दह्राे परम्पराका कारण आज हास्यव्यङ्ग्य कलाकार यो देशका सबैभन्दा बिकाउ कलाकार भएका हुन् ।

तर, प्रजातन्त्र प्राप्तिपछि अचानक प्रज्ञा प्रतिष्ठानले गर्ने हास्यव्यङ्ग्य कार्यक्रम गर्न छाड्यो ? तपाईंहरूले विद्रोह पनि गर्नुभयो । त्यसको पृष्ठभूमि के थियो ?

प्रजातन्त्रपछि नेपाली कांग्रेसले ईश्वर बराललाई उपकुलपति बनायो । उहाँ भारतमै पढ्नुभएको, जवाहरलाल नेहरू विश्वविद्यालयमा प्राध्यापक भएर उतै बस्नुभएकाले हुनसक्छ, उहाँलाई गाईजात्राको महत्व थाहा भएन । यो मल्लकालदेखि चलिआएको विशुद्ध नेपाली परम्परा थियो तर यसलाई उहाँले केवल प्रजातन्त्र प्राप्त गर्ने हतियार मात्रै भएको बुझ्नुभयो । उहाँले ‘एकेडेमीले यस्तो सस्तो र भद्दा खालको कार्यक्रम गर्न मिल्दैन’ भनेर एकेडेमीको कार्यक्रमबाट हटाइदिनुभयो । पहिले हामीले धेरै अनुनय विनय गर्‍याैं । अन्त्यमा हामी आफैं भए पनि निजी रूपमा काम गरेर सरकारलाई देखाइदिन्छौँ भनेर हासने भन्ने संस्था खोल्यौँ । त्यही संस्थामार्फत हामीले गाईजात्रा देखायौं । वास्तवमा गाईजात्रा कार्यक्रम एउटा ब्राण्ड भइसकेको थियो । त्यसमाथि निजी व्यवस्थापनमा सुरु गर्दा यो धेरै माथि गयो ।

यो विद्रोह एक प्रकारले कलाकार आफ्नो खुट्टामा आफैं उभिने कामको सुरुवात थियो । त्यसपछि नै तीतो सत्य, मेरीबास्सै कार्यक्रम एकातिर सुरु भयो । अर्कोतिर मह जोडीको छुट्टै कार्यक्रम भयो । टेलिभिजनहरूमा हास्यव्यङ्ग्य कार्यक्रमलाई निजी क्षेत्रले प्रायोजन गर्न थाल्यो । मह जोडीको मह सञ्चार खुल्यो । सबैले प्रगति गरे ।

आज तपाईंले जुटाउनु भएका कलाकारहरू छरिएका छन्, के कारणले यस्तो भयो ?

मेरो प्रस्ताव थियो, हास्यव्यङ्ग्य समाज नेपाल (हासने) दह्राे हुनुपर्छ । कार्यक्रमबाट उठेको आधा पैसा कलाकारले पाउनुपर्छ । अनि आधा पैसा संस्थामा आउनुपर्छ । यसो गर्दा कलाकारलाई अप्ठ्यारो पर्दा संस्था काम लाग्छ भन्ने मेरो अभियान थियो । तर नयाँ कलाकारहरूले संस्थालाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत कुरामा बढी ध्यान दिन थाले । संस्थामा भद्रगोल भएपछि मैले संस्था नै छाडिदिएँ ।

तपाईंको विचारमा हास्यव्यङ्ग्य विधाको कमजोरी के हो ?

विश्वभरि नै हास्यव्यग्यकारहरू कमेडियन पनि हुन्छन् र लेखक पनि हुन्छन् । उनीहरूका कृति गम्भीरतापूर्वक पढिन्छ र स्टेजमा पनि उनीहरूलाई पछ्याइन्छ । नेपालमा भने केही अपवाद बाहेक कमेडियन लेखक हुन सकेनन् । किनभने उनीहरूले साहित्य अध्ययन गरेनन् । जब कि मानिस जति अध्ययनशील भयो, उति गहिरो व्यङ्ग्य गर्न सक्छ । पञ्चायतकालमा एकेडेमीले गाईजात्राको सुरुवात गर्नुको कारण पनि यसलाई साहित्यको मूलविधा मानेकैले हो । आजका कमेडियनहरू साहित्यकार त परको कुरा साहित्यका पाठक पनि हुन सकेनन् । यही कारण व्यङ्ग्य केवल राजनीतिमा मात्र सीमित भयो । नेताको हाउभाउ र समाचार पढेर व्यङ्ग्य गर्ने चलन बढेर गयो । जसमा बौद्धिकता एकदमै कम हुन्छ । हुन त अरू क्षेत्रमा पनि साहित्यको अध्ययन गर्ने चलन छैन । स्वयं साहित्यकारहरू अध्ययनशील छैनन्, अरूको त के कुरा गर्नु र ?

तपाईं लेखेकै भरमा धेरै देश घुम्ने लेखकमा दरिनुभएको छ । विदेशमा साहित्य वा कलाको अवस्था कस्तो पाउनुभएको छ ?

चाहे पूर्वीय समाजमा होस् वा पश्चिमा समाजमा, एउटा कुरा समान छ । त्यो के भने मानिसले सम्पत्ति कमाएपछि साहित्यकार र कलाकारको संगत गर्छन् । पुराना दरवारमा कवि र संगीतकर्मीहरू अनिवार्य रहन्थे । अंग्रेज आउनुअघि भारतमा भएका सयौं राज्यमा त्यहाँका दरवारमा कवि कलाकार राखेर उनीहरूका कुरा सुन्ने गर्दथे । संस्कृत साहित्यहरूमा पनि राजाले योगी र कविको निर्णय सुनेर मात्र फैसला गरेको पाइन्छ ।

फ्रान्स पुगेका बेला मैले त्यहाँको भव्य दरवार घुम्ने मौका पाएको थिएँ । लुई चौधौंको दरवारको भित्तामा जसरी कला सजिएका छन्, त्यसबाट पनि त्यो दरवारमा कलाकार र कविले सिर्जनाको उपल्लो तहमा पुगेर ती भित्ता सजाएको सजिलै महसुस गर्न सकिन्छ । अर्थात् धन कमाएपछि मानिसले आनन्दका लागि गर्ने भनेकै कला साहित्यको अध्ययन र लेखक कविको संगत हो ।

त्यस्तै कोरियामा आज पनि सरकारी जागीर खाने मानिसले अन्य कुराको अतिरिक्त त्यहाँको परम्परागत कविता ‘सिजो’ सिर्जना गर्न जानेको हुनुपर्छ । किनभने साहित्य सिर्जना गर्ने कर्मचारीले नै जनताको पीरमर्का बुझ्छन् भन्ने मान्यता छ ।

नेपालमा भने मानिसले सम्पत्ति कमाउनुपर्छ भन्ने बुझे तर सम्पत्ति कमाएर आनन्दित हुने शैली पनि सिक्नुपर्छ भन्ने जानेनन् । किनभने उनीहरूले साहित्य र कलाभित्र विद्यमान आनन्दको रहस्य बुझेकै छैनन् ।

नेपालमा यो कुरा थाहा नहुनुको कारण के होला ?

विदेशीहरूले नेपालीहरूलाई यो कुरा बुझाउन चाहन्छन् । त्यसका लागि विदेशका विभिन्न कार्यशालामा पनि बोलाउँछन् । त्यहाँको साहित्य, संगीत कलाले त्यो देशलाई कति माथि पुर्‍यायो भन्ने कुरा बुझाउन पनि चाहन्छन् । तर यस्ता कुरा सरकारी च्यानलमार्फत आउँछ । विदेश घुम्ने भनेपछि कर्मचारी र नेता–कार्यकर्ता नै यस्ता काममा अघि सरेर जान्छन् । त्यही क्षेत्रको संवेदनशील व्यक्तिलाई पठाए पो त्यो कुरा टपक्क टिपेर लेखक–कलाकारले ती कुरा बोकेर आउँछ र यहाँ त्यससम्बन्धी बहस हुन्छ । विषयसँग परपरसम्म सम्बन्ध नै नभएको मानिस गएपछि उसले के बुझ्छ र के ल्याउँछ ? मैले धेरै पटक यस्ता कार्यशालाहरूमा सरकारी कर्मचारीलाई भेटेको छु । एकपल्ट युएनडिपीले संस्थाको तर्फबाट मलाई र सरकारका तर्फबाट कुनै दुई जना विज्ञलाई पठाउन अनुरोध गरेको थियो । त्यहाँ पुगेपछि मात्रै मैले त्यो विषयसँग साइनो नभएका दुईजना सरकारीलाई भेटेँ । उनीहरू कार्यशालमा बस्दै नबसी घुमेर समय बिताए, मेरो थाप्लोमा सबै जिम्मेवारी छाडेर । खोज्ने हो भने यस्ता गैर विषयका मानिस सरकारी खर्चमा वा सरकारी कोटामा विदेश गएको पाउनु हुन्छ । यसैबाट थाहा हुन्छ, हामी सिकेर नयाँ काम गर्न चाहदैनौँ । केवल कमाउन र घुम्न चासो दिन्छौँ ।

एक पटक नेपाली पत्रिकामा कार्टुनको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा तपार्ईंका बहस सुन्न पाइन्थ्यो । कार्टुनमा तपाईं कसरी जोडिनुभयो ?

२०२१ सालतिर ‘मायालु’ नामक सिनेप्रधान पत्रिका छापिन्थ्यो । त्यसमा म व्यङ्ग्य लेख लेख्थेँ । लेखमा कार्टुन राख्दा राम्रो हुन्छ भन्ने कुरा आयो । त्यो बेला कार्टुन छाप्ने चलन भर्खर सुरु भएको थियो । यही कारण ‘मायालु’मा पनि कार्टुन राख्ने कुरा भयो । म चित्र बनाउने हुँदा मैले नै एकपटक प्रयास गरेँ । त्यो सायद राम्रो भयो । त्यसपछि ‘कार्टुन संवाद’ नामक स्तम्भ नै सुरु गर्न सम्पादकले आग्रह गरे । यसरी म कार्टुनिस्टका रूपमा समेत परिचित भएँ ।

जब प्रजातन्त्र आयो, कार्टुनहरू लोकप्रिय त भए तर कार्टुनिस्टलाई पत्रकार मान्न सम्पादकहरूले आनाकानी गर्न थाले । मैले कार्टुनिस्टहरूको एउटा संस्था गठन गरे । यहि संस्थामार्फत हामीले पत्रकार महासंघसँग कार्टुनिस्टलाई पनि पत्रकारको मान्यता दिनुपर्ने लविङ गर्‍याैं । त्यही लविङले कार्टुनिस्टलाई पनि पत्रकारको मान्यता दिलायो । पछि कार्टुनिस्टहरूको संस्था पुनर्गठन भएर दुर्गा बराल (वात्सायन) अध्यक्ष हुनु भएपछि यसले अझ इज्जत पायो ।

साहित्यको क्षेत्रमा चर्चित भए पनि तपाईंले भूगोल विषय पढ्नुभयो । यसको कुनै कारण छ ?

साहित्यमा लागेर भोकभोकै परेका मानिस देख्दै हुर्केको केटो हुँ । त्यसैले आर्थिक भरथेगका लागि मैले भूगोल पढ्ने निर्णय गरेको थिएँ । उति बेला भूगोल नेपालका लागि नयाँ विषय थियो । यो मेरो दानापानी चलाउने भाँडो बन्यो । विदेशीहरूसँग काम गर्न पाइन्थ्यो । भूगोल बृहत क्षेत्र भएकाले ज्ञानको दायरा फरकाकिलो भयो । कारणस्वरूप युएनडिपी, युनिसेफ, युनेस्को जस्ता संस्थामा काम गर्न पाइयो । यसले आर्थिक अभाव हुन दिएन ।

साहित्य त मेरो नसामै थियो । जुनसुकै क्षेत्रमा गए पनि म साहित्यकै लागि जन्मिएको थिएँ । यसका लागि अतिरिक्त परिश्रम गर्नुपर्ने अवस्था थिएन । भूगोल विषय नै किन छानेँ भन्ने कुरा पनि रमाइलो छ । त्यो के भने भूगोलभित्र २ सय भन्दा बढी विषय पढ्नु पर्छ । पृथ्वीसँग जोडिएका हरेक कुरा भूगोलका विषय हुन् । भूगोल पढेकै कारण मैले हरेक विषयमा व्यङ्ग्य गर्न सिकेँ । मलाई धेरैले भन्छन्, यति धेरै विषयको जानकारी कसरी राख्नुहुन्छ ? यसको श्रेय म भूगोललाई नै दिन्छु । अझ जुन बेलादेखि ‘उचाइ भूगोल’ को विषयमा विश्वमा परिचित भएँ, त्यसपछि त संसारको बाटो पनि खुल्यो, ज्ञानको बाटो पनि खुल्यो ।

तपाईंलाई ‘उचाइ भूगोलविज्ञ’ भनेर विदेशीले निकै प्रसंसा गरेको लेखहरू पढ्न पाइन्छ । विशेषगरी नेपाल विज्ञ टोनी हेगेनको प्रशंसाले तपाईंको व्यक्तित्व अन्तर्राष्ट्रिय हुन पुग्यो । के हो यो उचाइ भूगोल भनेको ?

उचाइका कारण मानिसको सभ्यता कसरी विकास हुन्छ भन्ने अध्ययन गर्ने विषयलाई उचाइ भूगोल भनिन्छ । नेपाली भूगोल अध्ययन गर्दै जाँदा मैले के थाहा पाएँ भने एउटा निश्चित उचाइमा नेपाली बस्ती बसेको रहेछ । धेरै तल औलो लाग्ने र धेरै माथि जाडो हुने कारणले नेपाली पहाडी बस्तीहरूको विकाससँगै भाषा, संस्कृति र रहनसहन एकै किसिमको भएको रहेछ । यसअघि कुनै पनि भूगोल विज्ञले यसरी अध्ययन नगरेका कारण यसलाई छुट्टै विषय मानियो । पश्चिमाहरूले यस्ता अनुसन्धानका विषयलाई निकै महत्व दिने भएकाले अलिअलि प्रशंसा भएको हो ।

तैपनि तपाईंले विद्यावारिधि गर्नुभएन ? किन होला ?

साहित्यमा लागेका कारण समय भएन । फेरि मैले नयाँ विषय पहिल्याएँ । यो आफैमा विद्यावारिधि भन्दा ठूलो कुरा हो भन्ने लाग्यो । विदेशीहरू पनि यही भन्छन् । एउटा मानिसले सबै कुरा कहाँ गर्न सक्छ र ?

तर तपाईंमाथि नै सुकदेव राईले विद्यावारिधि गरिदिए, कस्तो लाग्छ ?

खुसी लाग्छ । ममाथि भन्दा पनि म र मजस्ता चार जना हास्यव्यग्यकारमाथि भन्दा राम्रो होला । कहिलेकाहीँ आफूले विद्यावारिधि नगरे पनि म पनि विद्यावारिधिको विषय भएँ भन्ने कुराले सन्तुष्टि दिन्छ ।

तपाईंका नाममा पहिलो पटक १ सय ११ विषयमा नयाँ काम गरेको रेकर्ड भएको छ भन्ने गरिन्छ । नयाँ—नयाँ काम गर्न किन मन लाग्छ ? कि नयाँ रेकर्ड राख्ने सोख हो ?

नेपालमा नयाँ जे काम गरे पनि पहिलोपल्ट हुन पुग्छ । किनभने नेपालमा भएकै केही छैन । विदेशमा देखेर आउँछु, यहाँ भएको देख्दिन, गर्न मन लाग्छ । त्यसपछि त्यो काम पहिलो हुन पुग्छ । अरूले दुई–चारवटा मात्र नयाँ काम गर्ने हिम्मत गर्छन् । मलाई भने एउटा कुरा स्थापित भएपछि अर्को विषयमा हामफाल्न मन लागिहाल्छ । सोख होइन, आइपर्छ र गर्न मन लाग्छ । कुरा त्यत्ति हो ।

नयाँ के गर्दै हुनुहुन्छ ?

नेपालमा जे कुरा पनि विदेशीले बुद्धि दिने र हामीले त्यसैलाई महत्व दिएर लागू गर्दा हामीले राजनीतिक, सामाजिक र सांस्कृतिक धेरै कुरा गुमायौं । खासमा विदेशीले नेपाललाई कति बुझेको छ र ? उनीहरूको कुरा हामीले लागू गर्नु ? केही वर्ष यता बल्ल मेरो दिमाग यो कुरा घुस्यो । त्यसैले विदेशीलाई नेपाल बुझाउन अंग्रेजी भाषामा एउटा बृहत्तर नेपाल परिचय पुस्तक लेख्दै छु । यो निकै मोटो पुस्तक हुन्छ जस्तो छ । मुख्यतः त्यसैमा लागेको छु ।

अर्को सहायक तर महत्वपूर्ण काम पनि गर्दै छु । खासमा नेपालमा विश्वमा भन्दा धेरै कुरा नयाँ छन् । केवल हिमाल, बुद्ध र गोर्खालीले मात्र नेपाललाई चिनाउने होइन, हाम्रो देशमा सयौं कुरा अरू देशभन्दा फरक छन् । त्यसलाई मैले गिनिज बुक अफ वल्र्ड रेकर्ड जस्तै नेपालका आफ्ना किसिमका कीर्तिमानहरूको दर्जनौं स–साना पुस्तक निकाल्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु । एक दर्जन जति तयार भएका छन्, अरू एक दर्जन जति तयार पार्न सकिन्छ ।

सयभन्दा बढी पुस्तक लेखिसक्नुभयो, अरू सयवटा लेख्ने योजना हो ?

समयले साथ दिए मैले जम्मा गरेका धेरै विषय तयारी अवस्थामा छन् । त्यसैले सयले मान्दिनँ, हजार पुस्तक पुर्‍याऔं भन्ने पो सोच्दै छु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment