Comments Add Comment

रूपन्देहीमा ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना

७ असोज, बुटवल । रुपन्देहीका अग्रज पत्रकार नारायण सापकोटाले ५० हजार राशीको पर्यटन पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । यो पुरस्कार जिल्लामा निजी क्षेत्रको सबैभन्दा ठूलो पत्रकारिता पुरस्कार हो ।

आफ्नी आमा भुवन कुमारीको स्मृतिमा सापकोटाले यो पुरस्कार स्थापना गरेका हुन् ।

लुम्बिनी प्रेस क्लबको सहकार्यमा स्थापना भएको उक्त पुरस्कार सम्बन्धी सम्झौतापत्रमा आइतबार क्लबका अध्यक्ष माधव ढुंगाना र पुरस्कार सँस्थापक सापकोटाले हस्ताक्षर गरेका छन् ।

पत्रकार सापकोटाले आफू अध्यक्ष रहेको नेपाल चीन मैत्री समाज लुम्बिनीमार्फत विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन र चिनिया पर्यटकलाई लुम्बिनी भ्रमणका लागि आकषिर्त गर्न निरन्तर भूमिका खेल्दै आएका छन् । ‘लुम्बिनीको पर्यटन प्रबर्द्धन सही ढंगबाट गर्न सके यसैबाट रुपन्देही र प्रदेशले मात्र हैन सिंगो देशले नै समृद्धि हासिल गर्न सक्छ,’ सम्पादक समाज नेपालका निवर्तमान केन्द्रीय उपाध्यक्ष रहेका सापकोटाले भने, ‘लुम्बिनीको पर्यटन प्रबर्द्धनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन आवश्यक छ ।’

उक्त पुरस्कार प्रत्येक वर्ष असोज २२ गते प्रदान गरिने छ । २०३१ सालदेखि रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता सुरु गरेका पत्रकार सापकोटाले यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा वाषिर्क २५ हजार नगद राशीको वातावरण पत्रकारिता पुरस्कार पनि स्थापना गरेका थिए ।

पत्रकार सापकोटाले भैरहवाबाट प्रकाशित मुक्ति सन्देश दैनिक, लुम्बिनी सन्देश, यथार्थ दैनिक लगायत पत्रिकामा सम्पादक र प्रकाशक भइ काम गरेका थिए । तर, हाल ती सबै पत्रिका बन्द छन् ।

पत्रकारिताकै क्रममा सापकोटा पटकपटक जेलसमेत परेका थिए । पत्रकार महासँघका पूर्वकेन्द्रीय सदस्य रहेका सापकोटा बागलुङ बजारबाट बसाइसराइँ गरी रुपन्देही आएका हुन् ।

जिलाकै ठूलो राशीको पुरस्कारले रुपन्देहीको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान मिल्ने लुम्बिनी प्रेस क्लबका अध्यक्ष ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment