Comments Add Comment

न्युजिल्याण्डकी प्रधानमन्त्री तीन महिने छोरीसहित राष्ट्रसंघ महासभामा आएपछि…

काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा एर्डेन आफ्नो तीन महिने छोरी नेभे ते अरोहालाई साथमै लिएर संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भएको विषयले संसारभर चर्चा पाएको छ ।

तीन महिनाअघि प्रधानमन्त्री पदमा रहेको अवस्था मै छोरीलाई जन्म दिएकी ३८ वर्षीया एर्डेनले नेल्सन मण्डेला शान्ति सम्मेलनमा आफूले सम्बोधन गर्नुअघि नेभेलाई चुम्बन गर्दै गरेको र खेलाइरहेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

एर्डेनले सभालाई सम्बोधन गर्दै गर्दा बाबु क्लार्क गेफोर्डको काखमा रहेकी नेभेले आमातर्फ हेरिरहेकी थिइन् । राष्ट्रसंघ महासभामा कुनै बच्चाले प्रवेश पाएको यो पहिलो घटना हो ।

एर्डेन प्रधानमन्त्री पदमा रहँदा सन्तानलाई जन्म दिने जन्माउने दोस्रो निर्वाचित नेता हुन् । उनीभन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री बेनजीर भुट्टोले सन् १९९० मा प्रधानमन्त्री रहेको बेलामा छोरी बख्तावरलाई जन्म दिएकी थिइन् ।

न्युजिल्याडकी प्रधानमन्त्री एर्डेनले संयुक्त राष्ट्रसंघको सभालाई सम्बोधन गर्दै आफ्नो देशमा दक्षिण अफ्रिकी नेता मण्डेलाको गहिरो प्रभाव रहेको बताएकी थिइन् ।

जम्मा ६ हप्ता मात्रै सुत्केरी बिदा लिएकी एर्डेनले छोरी नेभेलाई नियमित स्तनपान गराइरहेकी छिन् र आफ्नो बच्चालाई ६ दिने अन्तर्राष्ट्रिय भ्रमणमा ल्याउनु ‘व्यवहारिक निर्णय’ भएको बताएकी छिन् ।

एर्डेन व्यस्त भएको बेलामा धेरै जसो समय गेफोर्डले छोरीको हेरचाह गर्ने गरेका छन् ।

टेलिभिजन कार्यक्रम सञ्चालक समेत रहेका गेफोर्डले छोरीको संयुक्त राष्ट्रसंघको परिचयपत्र पोस्ट गरेका छन्, जसमा बच्चालाई ‘फस्ट बेबी’को रुपमा चिनाइएको छ ।

बच्चालाई लिएर संयुक्त राष्ट्रसंघको सभामा गएपछि सामाजिक सञ्जालमा धेरैले एर्डेनको प्रशंसा गरेका छन् भने केहीले भने महासभामा बच्चालाई लैजानु ठीक नभएको बताएका छन् ।

एजेन्सीकाे सहयाेगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment