Comments Add Comment

चीनबाट फर्केपछि गण्डकीका मुख्यमन्त्रीले भने : विकास त आफैंले गर्ने रहेछ

१६ असोज, पोखरा । चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई नियालेर फर्किएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘विकास गर्ने त आफैंले रहेछ ।’

मंगलबार पोखरा आइपुगेका गुरुङले आफैंले नगर्दासम्म केही नहुने बुझेको बताए । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको पाइएको भन्दै उनले भने, ‘१९८८ मा प्रान्त बनेको हाइनान हाम्रो कणर्ालीजस्तै रहेछ । ३० वर्षको अन्तरमा हाइनानले ठूलो प्रगति गरेको छ, विकास गर्ने त आफैं रहेछ ।’

‘अब हाम्रो युग हो’ भन्ने बुझेर चिनियाँहरु विकासमा लागेको पाएको मुख्यमन्त्री गुरुङले सुनाए । स्थिर राजनीति, स्रोत साधनको व्यवस्थापन र केन्द्रिकृत शासन प्रणालीको महत्वपूर्ण भूमिकाले हाइनानले फड्को मारेको उनले बताए ।

आफूले गण्डकी प्रदेशको पोलिसी र लगानीका क्षेत्र बताउने काम मात्रै गरेर फर्किएको उनले जानकारी दिए । ‘मैले केही ल्याएको छैन, हाम्रो पोलिसी र हाम्रा लगानीका क्षेत्रहरुबारे कुरा राखेर फर्किएको छु’ मुख्यमन्त्री गुरुङले भने ।

गण्डकी प्रदेश सरकारको तर्फबाट हाइनान प्रान्तका गर्भनरलाई नोभेम्बर ११/१२ मा भ्रमण गर्न निम्तो दिइएको छ । हाइनानमा नभई पोखरामै सम्झौता गर्न चाहेको भन्दै मुख्यमन्त्री गुरुङले भने ‘मैले केही सम्झौता गरेको छैन । नोभेम्बरमा त्यहाँका गर्भनर आउँदै हुनुहुन्छ । जेजे सम्झौता हुन्छ, पोखरामै हुन्छ ।’

हइनानका गर्भनर पोखरा आएका बेला हाइनान र गण्डकी प्रदेश, दुई प्रदेशको राजधानीबीच मितेरी साइनो गाँस्ने सहमति भएको उनले जानकारी दिए ।

चीनका राष्ट्रपति सी जिनपिङले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ले विकासमा भूमिका खेलेको मुख्यमन्त्री गुरुङले बताए । ‘समुन्द्र र पहाड जोड्ने हो भने हामी पहाडमा छौं, तपाईंहरुसँग समुन्द्र छ । हामीले मितेरी गाँस्नुपर्छ भन्यौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘त्यसैले हामीबीच मितेरी साइनो लाउने सहमति भएको छ ।’

टेक्निकल इन्स्टिच्युट, औषधिको कारखाना, ऊर्जातर्फ सोलारमा लगानी गर्न चासो देखाएको उनको भनाइ थियो । नेपाली विद्यार्थीलाई भोकेसनल र टेक्निकल अध्ययनमा छात्रवृति उपलब्ध गराउने विषयमा पनि कुराकानी भएको उनले बताए ।

होटल व्यवसायमा पनि चिनियाँ पक्षले चासो देखाएको मुख्यमन्त्री गुरुङले बताए । ‘पूर्वाधारमा हाम्रो प्राथमिकताहरु भन्यौं । जलमार्गको सम्भावना छैन, त्यसैले रेल, सडक र हवाई यातायातमा प्रदेशको पोलिसी बतायौं’ उनले भनेका छन् ।

पहिलो प्रदेश सरकार भन्दा अचम्म माने

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ भ्रमणका संघीयतासँगै पहिलो पटक प्रदेश सरकार बनेकोभन्दा अचम्म मानेको बताए ।

प्रदेश सरकार बनेको ६ महिनामात्रै भयो भन्दा उनीहरुले नौलो मानेको उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले संघीयता लागु भइसकेपछि गण्डकी प्रदेशकै इज्जत र प्रतिष्ठा राख्ने अवसर मिलेको बताए । ‘संघीयता लागुपछि गण्डकी प्रदेशको भ्रमणले इज्जत र प्रतिष्ठा राख्ने अवसर मिलेको छ,’ मुख्यमन्त्री गुरुङले भने ।

प्रदेश गठन भइसकेपछि मुख्यमन्त्री गुरुङ पहिलो पटक असोज ९ गतेदेखि १५ गतेसम्मको हाइनान प्रान्तको विशेष भ्रमण गरेर फर्किएका हुन् । हाइनान प्रान्तको नेसनल डेको विशेष कार्यक्रममा उनी प्रमुख अतिथि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment