Comments Add Comment

दुर्घटनाले उजाडिएका जिन्दगी !

२० असोज, डोटी । श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै गरेको, कोखमा छोरी, डडेल्धुरा जिल्ला सदरमुकामको बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देखेकी थिइनन् डडेल्धुरा अमरगढी नगरपालिका-४ की कल्पना बिष्टले । तर, उनको सुखी र खुशी परिवारमात्रै खोसिएन, उनी आफैँ पनि अर्काको सहाराविना बाँच्न नसक्ने भइन् ।

आजकै दिन अर्थात ०७१ साल असोज २० गते डोटी जोरायल गाउँपालिका-२ (त्यतिवेलाको छतिवन गाबिस-५) कट्पत्तेमा भएको बस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी गुमाइन् । उनी आफू पनि कहिल्यै निको नहुने गरी घाइते भइन् ।

दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्रै सँगै जीउने र सँगै मर्ने बाचासहित डडेल्धुराका लक्ष्मण ठकुराठीसँग विवाह गरेकी कल्पनाले न त सँगै जीउन सकिन्, न सँगै मर्न नै सकिन् । उनी अहिले काभ्रेको स्पाईनल इन्जुरी पुनस्थापना केन्द्रमा छिन् ।

माइतीघर जोरायलमा आमाबुवाका हातबाट दशैंको टीका थापेर स-परिवार घर फर्किरहेका बेला भएको दुर्घटनाले कल्पनाको जीवन उजाड बनायो । मेरुदण्डमा चोट लागेपछि पक्षघात भएर बाँचिरहेकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको शवसमेत हेर्न पाइनन् ।

दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जीउनेे आश मारिसकेकी थिइन् । तर, उपचार गर्ने चिकित्सकले निको हुने भनेपछि उनी पहिलेजस्तै हिँड्डुल गर्न सक्ने आशमा थिइन् । ‘सात महिनासम्म भारत लखनउको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठीक भइहाल्छ भनेर पठाए’ कल्पना भन्छिन् ‘तर घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसेँ ।’

एक महिनासम्म विभिन्न अस्पतालहरुमा जाँच गराउँदा मात्रै कल्पनालाई थाहा भयो, अब उनी कहिल्यै हिँड्न सक्दिनन् ।’ मेरुदण्डको पक्षघातको उपचार सम्भव नभएको कुरा उनलाई दिल्लीमा थाहा भयो ।

नयाँ दिल्लीबाट फर्केपछि कल्पना काभ्रे गइन् । दिसा पिशाब भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पुरै निस्कृय भएकी कल्पनालाई पुनस्थापना केन्द्रमा मेरुदण्ड पक्षघात भएकाहरुले कसरी जीउने भन्ने कला सिकाइयो । र, अहिले उनी त्यही पुनस्थापना केन्द्रमा परामर्शकर्ताका रुपमा काम गरिरहेकी छिन् ।

कल्पना भन्छिन् ‘यो अवस्था होला भन्ने सोचेकी थिइनँ । हाँसीखुशी जीवन बित्छ भन्ने लागेको थियो । तर, भयो यस्तो ।’

परिवार गुमाए पनि कल्पनाले हिम्मत भने हारेकी छैनन् । उनी भन्छिन्, ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ । जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’

अर्को दुर्दान्त बिछोड

कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो- ३५ वर्षीया कृष्णा शाहीको ।

कैलालीको तेघरीमा बस्दै आएको कृष्णाको परिवार दशैं मनाउनका लागि जोरायल आएको थियो । दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आएका श्रीमान-श्रीमतिलाई उक्त घटनाले कहिल्लै मिलन नहुने गरी बिछोड गरायो ।

कृष्णाका श्रीमान राजेन्द्र शाहीको दुर्घघटनास्थलमै मृत्यु भयो । कृष्णा पनि कल्पनाजस्तै मेरुदण्ड पक्षघात भएर बाँचिरहेकी छिन् ।

‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनौं’ कृष्णाका भतिजा शेरबहादुर शाही भन्छन् ‘काकाहरुको जीवन हाँसीखुशी बितेको थियो । तर, दैबले उजाडिदियो ।’

मेरुदण्ड पक्षघात भएर दिशापिसाव भएको समेत थाह नपाउने कृष्णालाई उनका नाबालक छोराछोरीहरु र भतिजा-बुहारीहरुले जीउने सहारा दिइरहेका छन् ।

दशैंको भोलिपल्ट ना ३ ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाइते भएका थिए । बसमा १२५ भन्दा बढी यात्रुहरु रहेको प्रहरीको भनाइ थियो । यात्रुहरु बढी भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो ।

दुर्घटनापछिका घटनाहरु

जीवनै अर्काको सहारामा बाँच्नुपर्ने अवस्थामा पुगेका कल्पना र कृष्णाले उपचारमा लागेको खर्चसमेत पूरापूर पाएनन् । ‘लखनउ बस्दासम्मको खर्च त दिएको हो’ कल्पना भन्छिन् ‘दिल्लीको खर्च मैले आफैले गरेँ, यातायात समितिले गाडी भाडामात्रै दिएको थियो ।’

कल्पना पहिले बैंकमा सञ्चित गरेर राखेको आफ्नो पैसाले उपचार गरेको बताउँछिन् । उनी थप्छिन् ‘औषधी उपचारका लागि पनि भीनदिने र बोलिदिने मान्छे चाहिने रहेछ, आफ्नो त्यस्तो कोही भएन ।’

कृष्णाको पनि उस्तै व्यथा छ । सरकारी कार्यालयमा अस्थायी जागिर भएका राजेन्द्रको दुर्घटनामा मृत्यु भएपछि कार्यालयबाट प्राप्त भएको रकम उनले औषधी उपचारमा खर्च गरिन् ।

कृष्णा पुरानै अवस्थामा फर्किन सक्लिन् भन्ने आशमा उनको परिवारले पनि दिल्ली र काभ्रे पुर्‍यायो । तर, पैसामात्र खर्च भयो, उपलब्धी भएन ।
कल्पना र कृष्णाले जस्तै अन्य घाइतेहरुले पनि लामो समयसम्म उपचार गराए । यसक्रममा उनीहरुको जायजेथासमेत चौपट भयो ।

दुर्घटनामा आफन्त गुमाएकाहरु आजको दिनलाई कालो दिनका रुपमा सम्झन्छन् । उक्त दुर्घटनामा बजै, आमा र छोरी गरी तीन पुस्ताका तीन सदस्य गुमाएका चर्चित गायक सौगात ओझाले शनिबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘आज असोज २० गते म र मेरो जोरायलबासीका लागि कालो दिन । आजकै दिन मैले मेरी जन्मदिने आमा, सात बर्षकी छोरी र हजुरआमा गुमाएँ । २९ जनाको अकालमा ज्यान गयो ।’

दुर्घटनामा सौगात, उनकी श्रीमती र एक छोरी पनि घाइते भएका थिए ।

दुर्घटनाको बेदान्तले वियोगान्त साहित्यसमेत जन्मायो । उक्त घटनाको स्मरणमा सौगातले गाएको गीतमा भनिएको छ-

‘न त मैले जन्म दिने आमाको लास हेर्न पाएँ
न दागबत्ति दिन पाएँ
अस्पतालको शैयाबाट आँशु मात्रै झारेंँ ।’

दुर्घटनाको विषयमा दुई गीत, एक कविता र एक सम्झनाको संगालो प्रकाशन भएको बताउँछन् स्थानीय तीर्थराज भट्ट ।

भट्ट भन्छन्, ‘मृतकहरुको बीमा रकम पाउनका लागिसमेत हामीले आन्दोलन गर्नुपर्‍यो । घाइतेहरुको उपचारमा पनि त्यस्तै समस्या भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment