Comments Add Comment

कुरा अर्नाकाः चितवनमा वंश विस्तार, विदेश कति छन् ?

२३ असोज, चितवन । सन् १९६१ सम्म चितवनको घना जंगलमा अर्ना पाइन्थ्यो, तर एकाएक अर्नाहरु यहाँबाट लोप भए । सन् १९७३ मा नेपालमा नै पहिलो राष्ट्रिय निकुञ्जका रुपमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो । निकुञ्ज स्थापना हुनुभन्दा करीव ११ वर्षअघि नै अर्ना यहाँका जंगलबाट लोप भए ।

चितवनबाट अर्ना लोप हुनुको कारणका बारेमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकाल भन्छन्, ‘चितवनमा पहाडी भेगवाट वसाईसराई हुने क्रम बढ्यो, बासस्थानको विना भयो, उसैपनि प्राकृतिक कारणबाट घट्दै गएका अर्नाको चोरी शिकारी भयो । बाघले पनि आक्रमण गर्‍याे र त्यसलाई जोगाउन सकिएन ।’

चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि २०७३ माघमा कोशी टापु बन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट ३ गरी १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइए । निकुञ्जमा यसरी ल्याइएका अर्ना राख्न पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरियो । दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पीसीसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको छ । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएकाले अन्य जनावर खोरभित्र पस्न सक्दैनन् । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान छ ।

सदर चिडियाखानाबाट ल्याइएका ३ अर्ना ४ महिनामा नै मरे । २०७४ साउन २८ र २९ गते आएको ठूलो बाढीमा परेर थप २ अर्ना मरे । अर्को एक अर्नालाई बाघले मार्‍याे । १५ वटा अर्ना घटेर ९ वटामा झरे । अर्नाको श्रृंखलावद्ध मृत्युपछि थप चिन्तित बने संरक्षणकर्मीहरु । कतै निकुञ्जको इन्क्लोजर भित्र अर्ना हुर्काउन सकिँदैन की भन्ने चिन्ता भयो । मार्नका लागि नै ल्याएको जस्तो सन्देश पो जाने हो की भनेर चिन्तित बने संरक्षणकर्मी । यसपछि निकुञ्जले थप सतर्कता अपनाउन थाल्यो । अर्ना राखिएको खोरमा दैनिक निरीक्षण, उनीहरुको अवस्थाका बारेमा पशु चिकित्सकसहितको टोलीले अनुगमन गर्‍याे । त्यसपछि भने अर्ना मर्ने क्रम रोकियो ।

जब पाडापाडी जन्मिए

इन्क्लोजर भित्र राखिएका ९ जीवित अर्ना मध्ये ७ वटा पोथी र दुई भाले छन् । ७ पोथी मध्ये ३ वटा गर्भिणी भए । गएको साउन ३१ पहिलोपटक अर्ना ब्यायो । भदौ ७ र भदौ २३ गते थप दुई अर्नाहरुले पाडापाडी पाएपछि पुरानो पदमपुरको खुल्ला चौरमा खुसी फर्किएको छ । २०३२ सालमा कोशीटप्पु वन्यजन्तु आरक्षको घोषणासँगै अर्नाको संख्या वृद्धि हुने क्रममा छ ।

अर्नाले दुई पाडा र एक पाडी पाएका छन् । अर्नाका साना–साना तीन पाडापाडी उफ्रिएको, नाचेको देख्न सकिन्छ अचेल । माउसँग रमाउँदै दूध चुस्दै हिँडेको देख्दा संरक्षणकर्मीहरु खुसी भएका छन् । निकुञ्जबाट दैनिक हुने अनुगमनमा जाने अधिकारीहरुका अनुसार ति पाडापाडी माउसँगै रमाइरहेका छन् । उनीहरु क्रमशः बढ्दै गएका छन् । तीनवटै निरोगी छन् । पाडापाडीले आफ्नै आमाको दूध खाने भएकाले अन्य अतिरिक्त खाना दिइएको छैन ।

पूर्वको कोशी टापु बन्यजन्तु आरक्षबाट फरक भूगोलमा अर्नाको वंश बिस्तारका लागि ल्याइएका अर्नाको पहिलो पुस्ता जन्मिएकोमा संरक्षणकर्मीहरु खुसी भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । अर्यालका अनुसार अहिले अर्नाहरु इन्क्लोजरको घासे मैदान र पोखरीमा रमाइरहेका छन् । एक वर्षभन्दा बढी उमेरको अर्नाको बच्चा खैरो र रातो हुन्छ भने एक वर्षको बच्चाको रौं सेतो हुन्छ ।

अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछ । गाईभैंसीको जस्तै साइकल अर्नाको हुने गर्दछ । अहिले ब्याएका अर्नाहरु १ बर्षपछि मात्रै बाली जाने गर्दछन् । अब बाँकी ४ वटा पोथी अर्ना गर्भिणी हुने क्रममा रहेको सूचना अधिकारी अर्यालले बताए ।

तिनीहरुको चौबीसै घण्टा निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेनाले रेखदेख गरिरहेका छन् । रातको समयमा पनि मचानमा राखेर नेपाली सेनासहितको टोलीले अर्नाको रेखदेख गरिरहेको छ । हात्तीको सहयोगमा दैनिक ५ देखि ७ जनाको टोलीले रेखदेखमा खटिएको छ । ‘दैनिक २–३ वटा हात्तीको सहयोगमा सेनासहित निकुञ्जका कर्मचारी, रेञ्जर, पशु चिकित्सकसहित नियमित अनुगमनमा खटिएका हुन्छौं,’ निकुञ्जका सूचना अधिकारी अर्यालले भने ।

अर्नाको सरदर आयु २५ वर्षको हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा ५ ओटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखि ३ वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुन्छ ।

२० पोथी अर्ना आवश्यक

कोशी टापु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले ‘लोप’ हुने सक्ने भएकोले पहिलो पटक नेपालमा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । २०७३ माघ १४ गते चितवन राष्ट्रिय निकुन्जमा पहिलोपटक अर्ना स्थानान्तरण गरिएको थियो ।

यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैंडा र बाघको मात्रै स्थानान्तरण गरिएको थियो । कोशीटापुको जस्तै हावापानी र आहार चितवन राष्ट्रिय निकुञ्जमा मिल्ने भएकाले यहाँ ल्याइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताए ।

अर्नाको वंश विस्तारमा सफलता पाउन पोथी अर्नाको संख्या कम्तीमा पनि २० वटा हुनुपर्ने र तिनीहरुले जन्माएका पाडापाडीले समेत दोस्रो पुस्ता जन्माउन थालेपछि मात्रै सफलता पाइएको मानिने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्याल बताउँछन् । अहिले पोथी संख्या प्रयाप्त छैन । जम्मा ७ वटा मात्रै प्रजननयोग्य पोथी अर्ना छन् । अब थप १३ वटा पोथी अर्ना थप्नुपर्ने निकुञ्जका सूचना अधिकारी आर्यालले बताए । अहिले अर्नाले पाडापाडी जन्माउनुलाई चितवनमा अर्ना हुर्काउन सकिने देखिएको उनले बताए ।

वि.सं. २०७१ मा नै सरकारले पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । १५ वटा ल्याइयो, थप ५ वटा ल्याइएन । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अब भने अनुकुल वातावरण बनेको छ । निकुञ्जले अहिले भएको केजलाई बढाउने सोच बनाएको छ ।

‘अर्नाको संख्या थपिने भएपछि केजलाई पनि बढाउनुपर्दछ, कम्तीमा पनि बाहिर प्राकृतिक रुपमा छाड्दा बाघसँग भिड्नसक्ने जमात तयार पार्नुपर्दछ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘थप अर्ना ल्याउनेबारे निकुञ्जले विभाग मार्फत प्रदेश नम्वर एकको सरकारसँग कुरा अघि बढाएको छ ।’

अर्नाको ‘स्टाण्डर्ड साइज’ भनेको ४० देखि ५० वटासम्म मानिन्छ । दीर्घकालिन लक्ष्य बनाएर काम गरे, अबको ५ देखि ७ वर्षमा निकुञ्जको खुल्ला क्षेत्रमा छाड्न सकिने प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

वंश बिस्तार हुने क्रमसँगै यिनीहरुलाई चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक वातावरणमा स्वतन्त्र रुपमा छोडिने उद्देश्य छ निकुञ्जको । त्यसले बाघको आहार प्रजाती पनि बढ्ने छ । कोशी टप्पुमा अर्नाको बाघसँग पनि देखभेट नभएकाले बाघको संगत बुझेका छैनन् तर यहाँ भने बाघ छ । बाघले एक अर्ना समेत मार्‍याे । एउटा भाले अर्नाले बाघलाई घाइते पनि बनायो । बाघका गतिविधि यहाँका अर्नाले पनि नियालेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए ।

कसरी चिन्ने अर्ना र भैंसी ?

अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ । यसको उचाइ १५० देखि १९० सेन्टिमिटरसम्म हुन्छ । खरानी खैरोदेखि कालो छाला हुने र घाँटी, मुख, आँखा, कान र खुट्टामा सेता धर्का हुन्छन् । घरपालुवा भैंसीको पूर्वज मानिने अर्नालाई भैंसीको हुलमा मिसाइदियो भने चिन्न निक्कै समस्या हुन्छ । हेर्दा उस्तै देखिन्छन् । उस्तै रङ, उस्तै शारीरिक बनोट र कराउँदाको आवाज पनि उस्तै हुन्छ । तर, भैंसी र अर्नामा सामान्य फरक छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार अर्नाको कानको रौं र घुँडाको घेरा सेता हुन्छन् । आँखी भौं पनि केही सेतो र खैरो हुन्छ । जुन घरपालुवा भैंसीमा हुँदैन ।

एक्लो भाले र बच्चासँगको पोथी आक्रामक स्वभावको हुन्छ । अर्ना चिनिने आधारहरूमा खुट्टा, घाँटी, पुच्छर, थुतुनोमा सेतो धर्सा हुन्छ । सिंगको आधारमा पोथीको फेदमा सामान्य तर लामो, टुप्पो सिन्दुरे रातो हुन्छ ।

कुन देशमा कति अर्ना ?

अर्ना ‘बोभिडेई’ परिवार अन्तर्गत पर्ने लोपोन्मुख जंगली जनावर तथा घरपालुवा भैंसीको पूर्वज हो । यो जंगली बोभिडेई जाती दोस्रो ठूलो जनावर हो, जुन गौरीगाई भन्दा केवल थोरै सानो हुन्छ । अर्ना अहिले (पश्चिमदेखि पूर्वतिर) नेपाल, भारत, भूटान, म्यानमार र थाइल्याण्डमा बचेका छन् । अर्ना पाकिस्तान, बंगलादेश, लाओस, भियतनाम लगायतका देशबाट चाहिँ विलुप्त भइसके ।

दक्षिण एसियामा अर्ना नेपाल र भारतमा पाइन्छ । नेपालको कोसी टप्पुमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा समेत पाइने गरेको छ । अर्ना उत्तरी अस्ट्रेलियामा पनि पाइन्छन् ।

विश्वभरी अर्नाको कुल संख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ । पछिल्लो गणना अनुसार कोशीटप्पुमा ४३२ वटा अर्ना रहेका छन् । काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस प्रमुख चरनका रूपमा अर्नाले उपयोग गर्ने गरेको छ । केही वर्ष पहिले कोसी नदीमा आएको ठूलो बाढीमा परी दुई दर्जन अर्ना मरेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तु सूचीमा राखेको छ । अर्ना मार्ने वा घाइते बनाउनेलाई बढीमा एकदेखि १० वर्षसम्म कैद वा ५० देखि ७५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment