Comments Add Comment

प्रचण्ड निवासमा तयार भएको थियो रामवीरको राजीनामा

२४ असोज,काठमाडौं । काठमाडौं-७ का नेकपा सांसद रामवीर मानन्धरको राजीनामा पत्र प्रचण्ड निवास खुमलटारमा तयार भएको खुलेको छ ।

असोज २२ गते विहान नेकपा सचिवालयको बैठक बस्नु केहीबेर अघिसम्म अध्यक्ष तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओली र महासचिव विष्णु पौडेललाई समेत आफ्नै सांसदको राजीनामाबारे कुनै जानकारी थिएन ।

जब प्रचण्डको हातबाट ओलीले रामवीरको पत्र पाए, त्यसबाट नेकपाका शीर्ष नेताहरुबीच नै अविश्वासको शुरुवात समेत भयो । २१ राति आफ्नो निवासमा रामवीरले सही गरेको पत्र प्रचण्डले २२ गते विहान बालुवाटारमा अर्का अध्यक्ष ओली र महासचिव पौडेललाई देखाएका थिए ।

आफू निकट सांसद रामवीरको राजीनामापत्र प्रचण्डबाट पाउँदा ओली आश्चर्यमा परेको स्रोतले जनाएको छ । वामदेवको सांसद बन्ने चाहना बुझेका र अनुकुल अवस्था पर्खिनुस् भनिरहेका महासचिव विष्णु पौडेलका लागि पनि रामवीरको राजीनामा सरप्राइज नै थियो ।

प्रचण्ड र बामदेवबाहेक पार्टीका अन्य नेताहरुलाई जानकारी नदिई र परामर्श समेत नगरी रामवीरलाई राजीनामा गराउने कुराले पार्टीमा अविश्वास सिर्जना भएको एक सचिवालय सदस्यले बताए । प्रचण्डमार्फत आएको रामवीरको राजीनामाको जानकारी सचिवालयमा जानकारी गराउनु बाहेक अन्य कुनै छलफल नभएको नेताहरुले बताए ।

प्रचण्ड निवासमा राति हस्ताक्षर

नेकपा स्रोतका अनुसार वामदेवका लागि रामवीरको राजीनामा गर्न तयार रहेको सम्बन्धी पत्रको व्यहोरा २१ गते राति अवेर प्रचण्ड निवास खुमलाटारमा तयार भएको थियो । पत्र रामवीरले लेखेका होइनन् । सो पत्र तयार हुँदा प्रचण्ड, वामदेव, रामवीर र तत्कालिन नेकपा एमालेका प्युठानका नेता भोजविक्रम बुढामगर मात्र थिए ।

रामवीर पछिल्लो समय ओलीसँग असन्तुष्टमात्र होइन, सार्वजनिक रुपमै आलोचक बनेका थिए । उनको ओलीसँग मन्त्री अपेक्षा गरेका थिए । दुईपटक चुनाव जितेर पनि ओलीले मन्त्री नबनाएकोमा असन्तुष्ट भएका उनी राज्यमन्त्री पनि नपाउँदा खिन्न थिए ।

त्यसपछि पार्टी एकताको बेला उनले आफ्नै निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्य जितेका बसन्त मानन्धरलाई केन्द्रीय सदस्य नबनाउन पार्टीमा लबिङ गरेका थिए । रामवीर आफैं केन्द्रीय सदस्यका दाबेदार थिए । तर, बसन्त केन्द्रीय सदस्य बन्दा रामवीर परेनन् । ओलीसँग मोहभंग हुनुमा दोस्रो कारण थियो यो ।

मन्त्री र केन्द्रीय सदस्य बन्न नपाए पनि ओलीले संसदीय समितिको सभापतिसम्म बनाउँछन् भन्ने रामवीरको आशा थियो । अघिल्लो पटक संसदीय समितिमा हुँदा आयल निगमको जग्गा काण्ड छानविनमा भूमिका खेलेका रामवीरले सभापति पनि नपाएपछि सार्वजनिक रुपमै ‘अब ओलीको काम छैन’ भन्न थाले ।

उनले आफू निकट केही नेता कार्यकर्तासँग ‘अब ओलीबाट केही हुँदैन, प्रचण्डतिर लाग्नुपर्छ’ भनेका थिए । उनले सांसदबाट राजीनामा दिने घोषणा गरिरहँदा अब ओलीलाई प्रधानमन्त्रीबाट हटाएर वामदेवलाई बनाउनुपर्छ भनेपछि नेकपामा रामवीर कार्ड कसरी प्रयोग हुँदैछ भन्ने आशंकाले आकार लियो ।

संसदीय दलको नेता तथा पार्टी अध्यक्ष ओलीलाई समेत जानकारी नदिई रामवीरको राजीनामा छापामार शैलीमा आएपछि नेताहरुबीचमा विश्वासको संकट शुरु भएको एक नेतनले बताए ।

कोही आश्चर्यमा, कोही आक्रोशित

सचिवालय बैठकअगाडि प्रचण्डले रामवीरको पत्रबारे जानकारी गराएपछि ओलीले रामवीरसँग छलफल गर्ने बताएका थिए । दुवै अध्यक्षलाई सम्बोधन गरिएको पत्र बैठकमा जानकारीका लागि पेश भयो । प्रस्तावमा खासै छलफल नभए पनि ईश्वर पोखरेलले भने किन अपारदर्शी ढंगले गरियो भन्ने प्रश्न उठाएका थिए ।

रामवीरको राजीनामाबारे प्रचण्ड र वामदेवबाहेक अरु कोही नेतालाई पनि जानकारी नरहेको बैठकमा प्रष्ट भयो । माधव नेपाल आश्चर्यचकित भए । नेताहरुको अवस्था बुझेका ओलीले रामवीरसँग छलफल गरेर टुंगो लगाउने भनेर बैठक टुंगिएको थियो ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले बैठक लगतै रामवीरसँग कुरा गर्दा उनी असामान्य ढंगले प्रस्तुत भएको स्रोतले जनाएको छ । आफू शक्तिकेन्द्रसँग नजिक रहेको र राजीनामा गर्ने सन्दर्भमा पनि शक्तिकेन्द्रसँग सल्लाह गरेको जस्ता असामान्य कुरा गरेका रामवीरले अचानक पत्रकार सम्मेलन गरेपछि वातावरण बिगि्रएको स्रोतको दाबी छ ।

आफूलाई केन्द्रीय सदस्य, मन्त्री र राष्ट्रियसभा सदस्य बनाउने प्रचण्ड र वामदेवको आश्वासनपछि राजीनामा दिन तयार भएको भन्ने उनको अभिव्यक्तिले पार्टीमा खैलाबैला मच्चाएको छ । यसमा ठूलो आर्थिक प्रलोभनले पनि काम गरेको नेताहरुको आशंका छ ।

तर, रामवीरकै कारण वामदेवको सांसद बन्ने बाटो नै बन्द हुने अवस्थामा पुगेको टिप्पणी पनि नेकपा नेताहरुले गरेका छन् । ‘जननिर्वाचित सांसदको राजीनामाजस्तो कुरामा पार्टीका सबै नेताहरुसँग परामर्श नगरिनु र स्वयं प्रधानमन्त्रीलाई जानकारीसमेत नदिनु आफैंमा अपारदर्शी मात्र होइन, अविश्वासको कारक पनि हो । यो स्वयं रामवीरको अनुशासनको विषय पनि हो’ नेकपाका एक वरिष्ठ नेताले अनलाइनखबरसँग भने, ‘उनले राजिनामाको जानकारी प्रचण्डलाई होइन ओलीलाई पहिले दिनुपर्ने हो ।’

नेताहरुबीच अविश्वास

रामवीर प्रकरणले पार्टीमा पारस्परिक अविश्वास र आशंका सिर्जना गरेको र किन गोप्य रुपमा रामवीरको राजीनामापत्र तयार भयो भन्ने प्रश्नले नेकपाको आसन्न सचिवालय र स्थायी कमिटी बैठक तताउने निश्चित छ ।

सचिवालय बैठक पटक पटक सारेर कात्तिक ४ गते पुर्‍याइएको छ भने स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गते बस्ने तय भएको छ ।

वामदेवका लागि रामवीरले छाड्ने भनेर पत्रकार सम्मेलन गरेपछि काठमाडौं-७ मा उपचुनाव हुने सम्भावना बढेको छ । बुधबारका मिडियामा आएका समाचार, विचार र सामाजिक सन्जालमा वामदेव विरुद्धको जनमतले नेकपा नेतृत्व संकटमा परेको छ । ओली र प्रचण्डले वामदेव हार्ने अवस्थामा चुनावमा जान नहुने पक्षमा देखिएका छन् ।

बुधबार विहानै काठमाडौं ७ को क र ख निर्वाचन क्षेत्रबाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्यद्वय बसन्त मानन्धर र प्रकाश श्रेष्ठले प्रधानमन्त्री ओली लगायतका नेतालाई भेटेका थिए ।

स्रोतका अनुसार उनीहरुले यो माहौलमा बामदेवलाई चुनाव जिताउन नसकिने र रामवीरको बार्गेनिङले पार्टी कार्यकर्ता आक्रोशित भएको भन्दै कारवाहीको माग ष्रेका छन् । उनीहरुले बामदेवलाई अनुकुल अवस्था नरहेको बताएका छन् ।

नेकपा केन्द्रीय सदस्य सूर्य थापाले अनुशासन उल्लंघन गरेर जथाभावबी बोल्दै हिडेको र दलको नेतालाई जानकारी नदिई राजीनामा दिएकाले उनीमाथि कारबाही हुनुपर्ने बताएका छन् । वामदेव चुनाव लड्ने नलड्ने कुरा पार्टीले निर्णय गर्ने भन्दै उनले रामवीरको क्रियाकलाप स्वीकार्य नभएको टिप्पणी गरेका छन् ।

के भन्छन् महासचिव पौडेल ?

वामदेव चुनाव लड्ने र त्यसका लागि काठमाडौं-७ बाट रामवीरले स्थान खाली गर्ने सन्दर्भमा नेकपाको आधिकारिक धारणा को हो ? यसबारेमा अनलाइनखबरले महासचिव विष्णु पौडेलसँग कुरा गर्दा उनले सचिवालय बैठकमा रामवीरले राजीनामा दिन तयार रहेको पत्र पेश भए पनि कुनै निर्णय नभएको बताए ।

रामवीर राजीनामा गर्न तयार रहेको पत्र भने सचिवालय बैठकको बेला मात्र आफूले थाहा पाएको पौडेलले बताए । पार्टीभित्र परामर्श भएर राजीनामा विषय नआएको भन्दए उनले आगामी बैठकमा यसबारे थप छलफल हुने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment