Comments Add Comment

दशैं मान्न फर्की आए परदेशी (फोटो फिचर)

२४ असोज, काठमाडौं । बुधबार घटनास्थापनासँगै यसवर्षको दशैं औपचारिक रुपमा आरम्भ भएको छ ।

मिठो मसिनो खाने, राम्रो लाउने, रमाइलो गर्ने वर्षदिनको चाड दशैंमा नेपालीहरु जहाँसुकै भए पनि मूलथलोमा भेला हुने गर्छन् । दशैंका लागि भनेर विदेशमा रहेका नेपाली पनि स्वदेश फर्किने क्रम बढेको छ ।

१३ वर्षदेखि बेलायत बस्दै आएकी कुपण्डोलकी उषा ढकाल यसपालि दशैं मनाउन स्वदेश आएकी छन् ।

यसअघिका दशैं उषाले लण्डनमै मनाइन् । तर यसपालि स-परिवार भेला हुने योजनाले उनीहरु स्वदेश फर्किएका छन् ।

आफू पहिल्यै आएकी उषा बुधबार विमानस्थलमा श्रीमानको आगमन कुर्दै थिइन् । अब दशैं मनाएरै लण्डन फर्किने उनले सुनाइन् ।

लमजुङ बेसीसहरका मनोज बस्नेत २ वर्षपछि यसपालि साउदी अरबबाट दशैं मनाउन स्वदेश फर्केका छन् । दशैंको मेसो पारेर घर फर्किन पाउँदा उनको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

उनी रोजगारीका लागि साउदी गएको ७ वर्ष भएछ । पछिल्लो पटक दुई वर्षअघि घर आएका रहेछन् उनी ।

‘साउदी समेत गरेर १२ वर्ष भयो बाहिर बस्न थालेको’, उनले अनलाइनखबरसँग भने, ‘साउदी गएपछि दुई वटा दशैं उतै बित्यो, यसपालि मातृभूमि फर्किन पाउँदा खुशी छु’, उनले भने ।

धेरै थोक नल्याए पनि बालबच्चाका लागि लत्ताकपडा र चकलेट लिएर आएको उनले सुनाए ‘बाँकी किनमेल यतै गर्नुपर्ला’, उनले भने ।
२८ महिना अघि मलेसिया गएका महोत्तरी बर्दिवासका सुमन केसी लगेज र ३२ ईन्चको टिभी राखेर ट्रली गुडाउँदै बाहिर आउँदा परिवारका सदस्य खुशीले भक्कानिए ।

वर्ष दिनको चाडकै मौका छोपेर स्वदेश फर्किएको छोरोलाई बाबु रामचन्द्रले विमानस्थलमै अंकमाल गरेर खुशी साटे ।

सुमनकी श्रीमती इन्दिरा पनि श्रीमानसँगको दुई वर्षभन्दा लामो बिछोडपछिको मिलनमा खुशीको आँशु झार्दै थिइन् ।

‘धन कमाउन परदेश गएकाहरु नफर्किएसम्म के हो के हो’, सुमनका बाबु भन्दै थिए, ‘दशैंमै आयो खुशी लाग्या छ ।’

रोजगारीका लागि विदेश गएका धेरै नेपाली युवा दशैं, तिहारको मौका पारेर घर फर्किने गर्छन् ।

चाडबाड पर्वका बेला घर, गाउँमा आफन्तदेखि साथीभाइको समेत जमघट हुने भएकाले धेरै यही समयलाई स्वदेश फर्किन उत्तम बेला ठान्ने गर्छन् ।

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment