Comments Add Comment

सवारी दुर्घटनामा दैनिक ७ जनाको मृत्यु

२६ असोज, काठमाडौं । सवारी दुर्घटनामा नेपालमा हरेक वर्ष दुई हजार बढी मानिसको मृत्यु हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।

पछिल्लो तथ्याङ्क बमोजिम सवारी दुर्घटनामा प्रत्येक दिन औषत ७ जनाको मृत्यु हुने गरेको छ भने ३१ जना घाइते हुन्छन् । यो संख्या घढ्नुको साटो बढ्दै गएको छ ।

सवारी दुर्घटना न्यूनीकरणका लागि अनेकन उपाय अवलम्बन गरिएको भएपनि सवारीको चाप र सवारी दुर्घटनामा कमी आउन नसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले स्वीकार गरे । पन्तका अनुसार सवारी दुर्घटनामा परि मृत्यु हुने मध्य करिब ८० प्रतिशत ३० वर्ष मुनीका छन् ।

एसएसपी पन्तले सवारी दुर्घटनाको कारणहरुमध्य करिब ८४ प्रतिशत दुर्घटना मानवीय त्रुटीलाई औंल्याएका छन् । शुक्रबार राजधानीमा भएको उपत्यकाव्यापी ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतना एवम अन्तर्क्रियामा उनले करिब ५४ प्रतिशत सवारी दुर्घटनामा २५ देखि ४० वर्ष उमेरका चालकहरु रहेको जानकारी दिए ।

दुर्घटनामा परेका सवारी चालकहरुमा ३१.७९ प्रतिशत २० वर्ष मुनीका चालक रहेको, ४९.६७ प्रतिशतमा २१ देखि ४० वर्षका चालक रहेको उल्लेख गरिएको छ ।

पन्तले प्रस्तुत गरेको तथ्याङ्कमा ४१ वर्षमाथिका चालकहरु रहेका सवारी साधन तुलनात्मक रुपमा सुरक्षित रहेको उल्लेख छ । १८.६२ प्रतिशत सवारी दुर्घटनामा ४१ वर्ष भन्दा माथिका चालकको संलग्नता रहेको देखाइएको छ ।

पन्तका अनुसार हरेक वर्ष सवारी दुर्घटना र मानवीय क्षती बढ्दो छ । आर्थिक वर्ष ०७३/७४ मा नेपालभर १० हजार १७८ सवारी दुर्घटना हुँदा उपत्यकामा पाँच हजार ५३० सवारी दुर्घटनामा परेका थिए ।

दुर्घटनामा परी देशभर दुई हजार छ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/०७५ सवारी दुर्घटना र मानवीय क्षती दुबै बढेर गएको तथ्याङ्क छ ।

पन्तका अनुसार ०७४/०७५ देशभर दश हजार नौ सय ६५ सवारी दुर्घटनामा परि दुई हजार तीन सय ८४ जनाको मृत्यु भयो । सो अवधिमा उपत्यकामा ६ हजार तीन सय ८९ सवारी दुर्घटना हुँदा एक सय ८२ जनाको मृत्यु भयो ।

चालु आर्थिक वर्ष २०७५/०७६ को हालसम्मको अवधिमा पनि सवारी दुर्घटना र मानवीय क्षती विगतको तुलनामा बढेको तत्थ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरी महाशाखाका एसएसपी पन्तले प्रस्तुत गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षर्को भदौ महिनासम्मको अवधिमा देशभर दुई हजार ७४ सवारी दुर्घटनामा परेका छन् ।

सो दुर्घटनामा परेर तीन सय ९७ जनाको मृत्यु भइसकेको छ । उपत्यकामा पनि भदौ मसान्तसम्म एक हजार दुई सय ८४ सवारी दुर्घटनामा परेको छ भने, सो दुर्घटनामा परि ३७ जनाले ज्यान गुमाए ।

सवारी दुर्घटनामा परि मृत्यु हुनेहरुमा औषतमा महिला २४ प्रतिशत रहेका छन् भने पुरुष ७६ प्रतिशत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment