Comments Add Comment

कुलमान भन्छन् : एलपी ग्यासभन्दा बिजुली सस्तो !

७ कात्तिक, काठमाडौं । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली ‘घर-घरमा ग्यासको पाइप लाइन’ पुर्‍याउने घोषणा गर्दा मजाकको पात्र बने । दोस्रोपटक प्रधानमन्त्री भएका बेला गोबरग्यासको उदघाटन गरेपछि झनै हँसिमजाकको पात्र भए ।

तर, तीन वर्षपछि आफ्नो भनाइलाई सच्याउँदै सोमबार प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले ग्यासको पाइपभन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, बिजुलीको तारबाट चल्ने चुल्होको युगतिर जाँदैछौं ।’

उसो त २ वर्षअघि नै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ग्यास विस्थापन गर्ने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री स्वयंले पनि यस्तो घोषणा गर्दै एलपी ग्यास विस्थापनको नीतिमा सरकार प्रतिवद्ध रहेको संकेत गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण पनि केही वर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण आइपुग्नेमा विश्वस्त छ । अहिले सबै स्थानमा लोडसेडिङ अन्त्य भइसकेकाले विस्तारै इन्डक्सन चुल्होको प्रयोग बढ्दै गएको प्राधिकरणको भनाइ छ ।

चिन्ता छैनः घिसिङ

अहिले विजुलीका ग्राहकलाई ग्यास नै प्रयोग गरिराख्नुपर्ने बाध्यता नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
थुप्रै निर्माणाधीन आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले अब नेपालमा लोडसेडिङ फर्किने कुनै गुञ्जायस छैन ।

इन्डक्सन चुल्होको प्रयोग बिहान र बेलुकी बढी बिजुलीको माग हुने समयमै हुन्छ । यसो भए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजना जस्ता ‘पिक आवर’ (बिहान र बेलुकी) मा पूर्ण क्षतमामा चलाउन सकिने किसिमका आयोजना ग्यास विस्थापनमा सहयोगी बन्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

यो आयोजना निर्माणको अन्तिम चरणमा छ । अबको एक वर्षभित्र ४५६ मेगावाटको तामाकोशी आयोजना चलिसक्ने अनुमान छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै तामाकोशीसहित ७५५ मेगावाट बिजुली प्रसारण लाइनमा थपिने अनुमान छ । त्यसैले प्राधिकरण अब देशभित्रै विद्युत् उपयोग बढाउँदै लैजानुपर्ने बताइरहेको छ ।

‘तामाकोशी आयोजना सुख्खायाममा पनि पिक आवरमा ४५६ मेगावाटमै चलाउन सकिन्छ,’ कार्यकारी निर्देशक घिसिङले भने,’त्यसैले यो आयोजना आएपछि देशभर नै ग्यास विस्थापन भयो भने पनि हामीलाई लोड व्यवस्थापनमा समस्या पर्दैन । ग्यास विस्थापनको योजना जरुरी छ । यसमा हामीलाई चिन्ता छैन ।’

सबैतिर सरल बनेको ग्यासको प्रयोगलाई हटाउन एकैपटक सकिने अवस्था पनि छैन । त्यसैले अहिलेदेखि नै उपभोक्तालाई विस्तारै इन्डक्सनको प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने घिसिङ बताउँछन् ।

यसो हुँदा प्राधिकरणलाई माग व्यवस्थापनमा असहज नहुने प्राधिकरणको विश्लेषण छ । आजको भोलि नै सबैले ग्यास छाडेर इन्डक्सन नचलाउने भएकाले विस्तारै यसको प्रयोगलाई प्रवर्द्धन गर्दै लैजानुपर्ने अवस्था छ ।

‘एकैपटक सबैले बिजुलीको चुल्हो प्रयोग गरे अहिले सुख्खायाममा केही समस्या हुन सक्छ । तर, तामाकोशी नै आएपछि हामीलाई कुनै चुनौति हुँदैन,’ उनले भने, ‘पिक आवरको म्यानेजमेन्टकै लागि हामीले बेगनास-रुपामा पम्प स्टोरेज आयोजना बनाउन खोजेका छौं । अन्य समयमा पानी तानेर राखेर पिक आवरमा बिजुली निकाल्दा ग्यास चुल्हो विस्थापन लगायतका कारणले सिस्टममा समस्या आउन पाउँदैन ।’

घिसिङका अनुसार एलपी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पनि पर्छ । भारतबाट आयातित ग्यासभन्दा विद्युतबाट खाना पकाउँदा उपभोक्तालाई आर्थिक रुपमा फाइदा हुन्छ

ग्यासभन्दा सस्तो इन्डक्सन

उपभोक्ताले ढुक्कसँग इन्डक्सन चुल्होसहित विद्युतीय कुकर मेसिनहरु खरिद गरेर प्रयोग गर्न सक्ने घिसिङ बताउँछन् । ग्यासभन्दा सस्तो र भरपर्दो हुन्छ । अब निरन्तर विजुली आउने प्रत्याभूति भएकाले उपभोक्ताले ग्यासलाई छाड्दै जानुपर्ने उनको भनाइ छ ।

ग्यास चुल्होभन्दा इन्डक्सन चुहो इफिसियन्सी ८० प्रतिशत बढी हुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । अब यसको प्रयोग बढ्दा उत्पादित विजुली स्वदेशभित्रै सक्दो खपत गराउन र त्यसबाट पर्याप्त राजश्व उठाएर प्राधिकरणलाई समृद्ध बनाउन यसले सघाउनेछ ।

ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्युतीय सवारी साधनका साथमा इन्डक्सन चुल्होको प्रवर्द्धन गर्न जरुरी रहेको प्राधिकरण बताउँछ ।

घिसिङका अनुसार एलपी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पनि पर्छ । भारतबाट आयातित ग्यासभन्दा विद्युतबाट खाना पकाउँदा उपभोक्तालाई आर्थिक रुपमा फाइदा हुन्छ ।

‘एलपी ग्यासबाट १० लिटर पानी उमाल्न १६ रुपैयाँ खर्च हुन्छ, विद्युत् प्रयोग गर्ने हो भने १० रुपैयाँमै पानी उमाल्न सकिन्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ’ कार्यकारी निर्देशक घिसिङ भन्छन् ।

विद्युतीय सवारीको सञ्चालन खर्च पनि उस्तै सस्तो छ । उनकाअनुसार पेट्रोल कारलाई प्रतिकिलोमिटर ७ रुपैयाँको इन्धन खर्चिनुपर्छ भने विद्युतीय कारलाई २ रुपैयाँ मात्रै ।

यस्तै डिजेल बसहरुलाई प्रतिकिलोमिटर इन्धन लागत १७ रुपैयाँ पर्दा विद्युतीय बसलाई मात्रै १३ रुपैयाँ खर्चिए पुग्छ । विद्युतीय स्कुटरको प्रतिकिलोमिटर लागत ५० पैसा हो भने पेट्रोल इञ्जिनवाला स्कुरको प्रतिकिलोमिटर २ रुपैयाँ रहेको घिसिङ बताउँछन् ।

त्यसैले अब इन्डक्सन र विद्युतीय सवारीको प्रयोग बढ्दै गएमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने प्राधिकरणको विश्लेषण छ ।

आधार बनिसक्यो

अहिले १ हजार ४७ मेगावाट ‘पिक डिमान्ड’ छ । विद्युत प्राधिकरणका आयोजनाले ३ सय ८ मेगावाट बिजुली उत्पादन गरिरहेका छन् भने निजी क्षेत्रका आयोजनाबाट ३ सय ७० मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । भारतबाट ३३४ मेगावाट बिजुली भारतबाट आयात हुँदैछ । ३५ मेगावाट बिजुजीको प्रसारणमा अवरोध रहेको प्राधिकरणको तथ्यांक छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै देश वर्षायाममा बिजुलीमा आत्मनिर्भर हुनेछ । र, केही बिजुली भारतमा ‘इनर्जी बैंकिङ’का लागि निर्यात गर्न सकिनेछ ।

तर, सुख्खायाममा पनि भारतसँग बंकिङ गरेको बिजुली फिर्ता लिने योजना बनेको छ । पिक आवरमा माग बढ्दा भारतबाट बिजुली आयातको बाटो खुल्ला नै छ ।

यसका कारण अब ऊर्जा संकटको डर मान्नुनपर्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् ।

प्राधिकरणले पीपीए गरेका थुप्रै आयोजनाहरू धमाधम निर्माणको चरणमा छन् । बरु अहिले पेट्रोलियम पदार्थको आयात अत्यधिक भइरहँदा व्यापार घाटा उच्च छ । इन्धन आयात घटाएर विद्युत् खपत बढाउँदा व्यापार घाटा कम गर्न ठूलो योगदान पुग्ने घिसिङको तर्क छ ।

इन्डक्सन चुल्होको प्रयोग बढ्नुपर्ने गरी आधार तयार भइसकेकाले उपभोक्तालाई ग्यासको विकल्पबारे सोच्न प्राधिकरणको अपील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment