+
+

विकासे आयोजनामा ड्रोन : समय र खर्च घटाउने युवा जुक्ति

दिवाकर प्याकुरेल दिवाकर प्याकुरेल
२०७५ कात्तिक ७ गते ११:०४

७ कात्तिक, काठमाडौं । संवत् ०७२ को वैशाख २५ मा ७.६ रेक्टर स्केलको भूकम्प गएपछि मृतकको शव सङ्कलन गर्ने र घाइतेको उद्धार गर्ने काम हप्तौँसम्म जारी रह्यो । समग्रमा उद्धार कार्यको गति जति हुनुपर्ने हो, त्यति पटक्कै थिएन ।

हुन त उद्धारकर्मीलाई पनि छिटोछिटो काम गरौँ, अनि सकेसम्म धेरै ज्यान जोगाऔँ भन्ने थियो होला, तर उनीहरूसँग पनि विकल्प थिएन । कामलाई तीव्रता दिन भनेजस्ता उपकरणहरू उपलब्ध थिएनन् ।

दैनिक जीवनका विभिन्न क्रियाकलापमा रोबोटको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा चासो राख्ने इन्जिनियर दर्पण पुडासैनी भुईँचालोपछिको उद्धार क्रियाकलापलाई नजिकबाट नियाल्दै थिए । अवलोकनका क्रममा उनले निष्कर्ष निकाले कि ड्रोनको प्रयोग गर्ने हो भने उद्धारको काम अहिलेको भन्दा एकदमै छिटो हुन सक्छ । तर, उनको निष्कर्ष पनि उनीभित्रै सीमित रह्यो, कार्यान्वयनका लागि उनीसँग न उपकरण थिए, न सहयोगी साथीहरूको समूह ।

तर, पनि आफूले सङ्कटका बेला सिकेको ज्ञान खेर नगएको पुडासैनीको बुझाइ छ । भुईँचालोले नै उनलाई ‘ड्रोनेपाल’ नामको कम्पनी स्थापना गर्न घच्घच्यायो । आज उनको कम्पनीले ड्रोनको प्रयोग गरेर विकास आयोजनालाई थप प्रभावकारी बनाउन सहयोग गरिरहेको छ ।

ड्रोनेपाल आफूलाई नेपालको अग्रणी ड्रोन सेवा प्रदायक कम्पनी दाबी गर्छ ।

‘त्रुटीपूर्ण’ विकासलाई सच्याउने प्रयास

हुन त संवत् २०७३मा ड्रोनेपाल स्थापना गर्नुभन्दा तीन वर्ष अगाडि नै पुडासैनी र उनका सहपाठी मिलन कार्की मिलेर ‘इन्जिनियरिङ् अड्डा’ नामको एक समूह खोलेका थिए । त्यति बेला उनीहरू पोखरा विश्वविद्यालयको नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए । इन्जिनियरिङकै अन्य विधा अध्ययनरत साथीहरूले आफ्नो विषयको ‘स्कोप’ नभएको भनेर खिसी गरेपछि आफूहरू अड्डामा जमेको पुडासैनी सुनाउँछन् ।

अड्डाले विभिन्न सरकारी र गैरसरकारी निकायका कामका रोबोट प्रयोग गर्न प्रोत्साहन प्रदान गरेको थियो ।

“इन्जिनियरिङ अड्डामा हुँदा नै हामीलाई ड्रोनबारे थप चासो लाग्यो किनकि यसको प्रयोग एकै क्षेत्रमा मात्र सीमित थिएन । त्यसैले हामीले ड्रोन चलाउन मात्र होइन, नयाँ ड्रोन बनाउन पनि सिक्यौँ,” पुराना दिन सम्झँदै पुडासैनी भन्छन्, “तर लगत्तै हामीले के बुझ्यौँ भने नेपालमा नयाँ ड्रोन बनाएर, तिनलाई बेचेर बाँच्ने स्थिति छैन किनकि यसका प्रयोगकर्ता थोरै छन् । त्यसैले हामी यसको प्रयोगमा मात्र केन्द्रित भयौँ । बरु सकेसम्म धेरै क्षेत्रमा यसको प्रयोग गर्न लाग्यौँ ।”

स्थापनापछिका सुरुवाती दुई वर्षमा यो कम्पनीले पूर्वाधार निर्माण आयोजनाको सर्वेक्षणमा आफूलाई केन्द्रित गरेको छ । यसको कारणबारे स्पष्ट पार्दै पुडासैनी भन्छन्, “हाम्रो देशका भएका विकास निर्माणका काम खासै टिकाउ नहुनुको एक कारण गलत सर्वेक्षण पनि एक हो । भौगोलिक कठिनाइका कारणले सबै ठाउँमा स्थलगत सर्वेक्षण गरेर वास्तविक सूचना सङ्कलन गर्नु सम्भव हुँदैन । अनि गलत सर्वेक्षणमा आधारित आयोजना पनि त्रुटिपूर्ण नै हुन्छन् ।”

“यति सर्वेक्षणमा ड्रोनको प्रयोग गर्ने हो भने यस्ता त्रुटिहरू हटाउन सकिन्छ ।”

देशमा सानाठुला गरी दर्जनौ जलविद्युत् आयोजनाहरू सञ्चालन भइरहेकाले ड्रोनेपालको पहिलो प्राथमिकतामा जलविद्युत् आयोजना नै परे । हालसम्म यसले आठ विद्युत् आयोजनाका लागि सर्वेक्षण गरिदिएको छ भने दुई आयोजना कार्यान्वयनको चरणमा छन् । निकट भविष्यमै थप तिन आयोजनामा काम गर्ने गरी सम्झौता गरिएको छ ।

सही तथ्याङ्कको उपलब्धतापछि, ड्रोन सर्वेक्षणको दोस्रो फाइदा भनेको यसको गति हो । “इन्जिनियरले सर्वेक्षण गर्दा एक ठाउँदेखि अर्को ठाउँमा हिँडेर जानुपर्छ, तर ड्रोन उड्न सक्छ,” पुडासैनी बताउँछन्, “त्यसैले एउटै काममा मान्छे र ड्रोनले लगाउने समय धेरै फरक हुन्छ । त्यसै अनुसार खर्च पनि नियन्त्रण गर्न सकिन्छ ।”

स्थानीय निकायलाई प्रविधि मैत्री बनाउने अभियान

तीन वर्ष अगाडि नयाँ संविधान जारी भएसँगै स्थानीय विकासको मूल दायित्व स्थानीय सरकारमा सरेको छ । गत वर्ष देशैभरि चुनाव सम्पन्न भएपछि संविधान कार्यान्वयनको वातावरण पनि तयार भएको छ ।

यस परिस्थितिलाई विश्लेषण गर्दै ड्रोनेपालले पनि आफूलाई स्थानीय तहमै केन्द्रित गरेको छ । आफ्नो पहुँचमा भएका स्थानीय सरकारलाई यसले विभिन्न गतिविधिमा ड्रोन प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । स्थानीय निकाय नयाँ प्रविधिको प्रयोगमा अभ्यस्त भए भने समग्र देशकै रूपरेखा बदलिने कम्पनीको विश्वास छ ।

त्यसैले कम्पनीले विभिन्न नगरपालिकालाई सित्तैमा सेवा प्रदान गर्ने प्रस्ताव गर्दै आएको छ । “काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको समष्टिगत सहरी योजना निर्माण गर्न हामीले निःशुल्क सर्र्वेक्षण गरिदियौँ । हाल हामी स्थलगत काम टुङ्ग्याएर प्रतिवेदन हस्तान्तरण गर्ने चरणमा छौँ,” मख्ख परेका पुडासैनी जानकारी दिन्छन्, ‘गोकर्णेश्वरको हाम्रो काम थाहा पाउने बित्तिकै विराटनगर महानगरले हामीलाई सम्पर्क गरेको छ । स्याङ्जाको वालिङ्मा पनि ड्रोन सर्वेक्षणको काम हुँदै छ ।’

स्वयंसेवी रूपमा सेवा प्रदान गर्दा अहिले समयको बर्बादीजस्तो देखिए पनि दीर्घकालीन रूपमा यसले आफूलाई लाभ हुने कम्पनीले बुझेको छ । सुरुमा प्रविधिबारे जानकारी दिने उद्देश्यले निःशुल्क सेवा प्रदान गरिएको पुडासैनीको भनाइ छ । यो प्रविधिको प्रयोग बढ्ने बित्तिकै आफूसँग भएका सेवा र सामाग्रीको माग बढ्ने र त्यस बापत आफूले पैसा कमाउने कुरामा कम्पनी ढुक्क देखिएको छ ।

हुन त स्थानीय सरकारका अधिकारी र कर्मचारीलाई ड्रोन चलाउन मनाउनु त्यति सजिलो काम भने होइन । ‘प्रायः उनीहरू इन्जिनियरले गर्ने सर्वेक्षणभन्दा ड्रोनले गर्ने सर्वेक्षण किन बढी वास्तविक हुन्छ भन्ने कुरा नै बुझ्दैनन् । त्यो कुरा बुझाएर हाम्रो योजनामा उनीहरूलाई सहमत गराउन हप्तौँ, कहिले त महिनौँ पनि लाग्छ ।’

अबको योजनामा ड्रोन स्कुल

त्यस बाहेक कम्पनीले भोगिरहेको अर्को चुनौती भनेको मानवीय स्रोतको अभाव हो । सरकारी अधिकारी प्रविधि मैत्री नहुनु छुट्टै कुरा, हाल बजारमा उपलब्ध इन्जिनियरिङ जनशक्ति पनि ड्रोनले सङ्कलन गर्ने तथ्याङ्क विश्लेषण गर्नमा खासै दक्ष छैन ।

तर यिनै चुनौतीका बीच पनि नेपालमा ड्रोनको प्रयोग बढ्दै जाने निश्चित छ । त्यसैले आगामी दिनहरूमा ड्रोन प्रविधिमा दक्ष धेरैभन्दा धेरै जनशक्तिको खाँचो पर्दछ । यसलाई सम्बोधन गर्नका लागि कम्पनीले काठमाडौँमा एक ड्रोन स्कुल स्थापना गर्न लागेको छ । यो स्कुलले बजार माग पूर्ति गर्नका लागि विविध प्रकारका जनशक्ति उत्पादन गर्नेछ ।

‘हाम्रो स्कुलले विद्यार्थी र बजारबीचमा पुलको काम गर्नेछ,” पुडासैनी बताउँछन्, “सबभन्दा मुख्य रूपमा यसले ड्रोनको उत्पादन, मर्मतसम्भार र सञ्चालनका लागि आवश्यक प्राविधिक तालिम उपलब्ध गराउनेछ । त्यस बाहेक सरोकारवाला तथा आम समुदायबीचमा ड्रोनले कसरी मानव जीवनलाई सहयोग गर्छ भनेर चेतना जगाउनु पनि यसको उद्देश्य हुनेछ ।’

आगामी तिन महिनाभित्रै यो स्कुल सञ्चालनमा आइसक्ने पुडासैनीको दाबी छ ।

त्यसपछि झनै फराकिलो बाटो

ड्रोन स्कुल कम्पनीले तत्काल सुरु गर्न तयार गरेको परियोजनाको एउटा पाटो मात्र हो ।

‘हाम्रो काम गर्ने क्षेत्र फराकिलो छ । काठमाडौँमा हावाको गुणस्तर अनुगमन गर्नका लागि वातावरण विभागले एउटा नयाँ कार्यक्रम सुरु गर्दै छ । त्यस प्रक्रियामा हाम्रो ड्रोन प्रविधि समावेश हुँदै छ,’ उनी जानकारी दिन्छन्, ‘उता सशस्त्र प्रहरी बलले पनि गस्तीमा ड्रोनको प्रयोग कसरी गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै छ । हामीले बललाई पनि परामर्श प्रदान गर्दै आएका छौँ ।’

पुडासैनीको कुरा सुन्दा लाग्छ आगामी केही वर्षमा कम्पनी मालामाल हुनेवाला छ ।

‘तर हाम्रो सफलता हेर्न तपाईँले भोलि कुर्नै पर्दैन,’ हौसिएका युवा उद्यमी सुनाउँछन्, ‘हाम्रो सफलता र सम्भाव्यता पुष्टि भइसकेको छ । म, मिलन, उपेन्द्र ओली र प्रवीण लम्साल गरी चारजना मिलेर चार लाख रुपैयाँ जम्मा गरेर कम्पनी खोलेको एक वर्षमै लगानी फिर्ता आइसकेको छ ।’

कम्पनीले गत वर्ष एक अन्तर्राष्ट्रिय ड्रोन प्रतियोगिता जित्यो । उक्त प्रतिस्पर्धाको पहिलो पुरस्कार बापत आठ हजार अमेरिकी डलर बराबरको हार्डवेयर र सफ्टवेयर सहयोग प्राप्त भयो । उक्त सहयोग पनि कम्पनीलाई अगाडि बढ्नका लागि अमूल्य निधि साबित भएको छ ।

आगामी दिनमा आफ्नो व्यापार अझ बढ्नेमा पुडासैनी र उनका साथीहरू ढुक्क देखिएका छन् ।

‘सन् २०१०मा अमेरिकी सेनासँग मात्र ड्रोन रहेको मानिन्थ्यो । आठ वर्षको छोटो अवधिमा संसारका कुनाकाप्चामा ड्रोन देखिन थालेका छन्,’ उनी सुनाउँछन्, ‘अर्कातिर, ड्रोनका लागि नेपालजस्तो उपयुक्त बजार अर्को छैन । यहाँको भौगोलिक विविधताले गर्दा यहाँ सफल हुने परीक्षणलाई संसारका जुनसुकै कुनामा पनि प्रयोग गर्न सकिन्छ । त्यसैले यस क्षेत्रमा वैदेशिक लगानी भित्रिने पनि सम्भावना छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?