Comments Add Comment

गण्डकी प्रदेशले माग्यो गोरखा दरबार र मनकामना मन्दिर

२५ कात्तिक, पोखरा । संघ र प्रदेशवीच अधिकार बाँडफाँडको सौदाबाजी चलिरहेका बेला अब प्रदेश सरकारले ऐतिहासिक, धार्मिक एवं पुरातात्विक स्थलहरु आफ्नो मातहतमा रहनुपर्ने माग गर्न थालेका छन् । यसैक्रममा गण्डकी प्रदेशले ऐतिहासिक गोरखा दरबार र मनकामना मन्दिरलाई प्रदेशको मातहत राखिनुपर्ने औपचारिक निर्णय नै गरेको छ ।

यसअघि प्रदेश ५ को सरकारले लुम्बिनीजस्तो ऐतिहासिक स्थललाई प्रदेशको मातहत ल्याउन अनौपचारिक रुपमा केन्द्रसँग माग गरिरहेको थियो । तर, पोखरामा आइतबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय नै गरेर गोरखाको गोरखा दरबार र संग्रहालयका साथै ऐतिहासिक मनकामना मन्दिरलाई प्रदेश मातहत राख्न संघ सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

प्रदेशका महत्वपूर्ण ऐतिहासिक तथा धार्मिकस्थलको रेखदेख, निगरानी र स्वामित्व प्रदेश सरकारलाई दिन संघसँग माग गरिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

‘गोरखा दरबार, संग्राहलय र मनकामना मन्दिर प्रदेशको गौरव र महत्वपूर्ण स्थल हुन्, यिनलाई प्रदेश मातहत दिनुपर्छ भन्ने संघ सरकारसँग हाम्रो माग हो,’ मन्त्री बस्नेतले भने ।

यसैवीच आइतबारको मन्त्रिपरिषद बैठकले मनाङको नार्पाभूमि गाउँपालिकाको वडा, केन्द्र, सीमाना हेरफेर गर्ने निर्णय गरेको छ ।

त्यसैगरी गण्डकी प्रदेशले ल्याएको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनका निम्ति बनेका कार्यविधिलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । यसअघि वजेट कार्यान्वयनका लागि सातै मन्त्रालयले कार्यविधि तयार पारेका थिए । कार्यविधि पारित भएसँगै वजेट कार्यान्वयन छिटो र सजिलो हुने प्रवक्ता बस्नेतको भनाइ छ ।

बैठकले यही नोभेम्बर महिनामा चीनमा हुने चाइना एकेडेमी अफ गभर्नेसमा भाग लिन प्रदेशका मुख्यसचिवलाई पठाउने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment