Comments Add Comment

चिठ्ठा पर्‍यो भन्दै ठगी गिरोहमा भारतीय पत्रकार !

३० कात्तिक, मोरङ । भारतबाट सामाजिक सञ्जाल भाइबर, ह्वाटसपमार्फत चिठ्ठा पर्‍यो भन्दै नेपाली नागरिकलाई ठगी गर्ने गिरोहका सदस्यसँग पत्रकार परिचयपत्र भेटिएको छ ।

सामाजिक सञ्जालमार्फत २० भन्दा बढी नेपाली नागरिकलाई चिठ्ठा पर्‍यो भन्दै १६ लाख ५७ हजार रुपैयाँ ठगी गर्ने गिरोहका सदस्यको साथबाट पत्रकारको परिचय पत्र भेटिएको हो ।

चिठ्ठाका नाममा ठगिएको गुनासो आएपछि प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहमा संलग्न ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन जना भारतीय छन् । पक्राउ परेका भारतीय नागरिक चन्दनकुमार भगतको साथबाट पत्रकार परिचय पत्र भेटिएको हो । भगतको साथबाट न्यूज क्राइम २४ डटकमबाट जारी भएको परिचय पत्र पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ष्ठले जानकारी दिए ।

न्यून क्राइम बिहारबाट सञ्चालित अनलाइन हो । पत्रकार परिचय पत्र बनाए पनि बगतले नियमित काम नगरेको अनुसन्धानका क्रममा खुलेको छ ।

सामाजिक सञ्जालमार्फत सम्पर्क गरी चिठ्ठा पर्‍यो भन्दै ठगी गरेको आरोपमा प्रहरीले भारत विहार अररिया जिल्लाको फारबेसगञ्जका २३ बर्षका भगतसहित, २५ बर्षका मनोजकुमार ठाकुर र २८ बर्षका पंकजकुमार साहलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सहयोग गरेको आरोपमा मोरङको कटहरी गाउँपालिका ४ का २० बर्षका खगेन्द्रप्रसाद रौनियार, २२ बर्षका प्रेमकुमार साह २५ बर्षका रमेशकुमार साह र जहदा गाउपालिका ७ का २० बर्षिका टुनटुन साहलाई पनि पक्राउ गरेको हो ।

भारतमा बसेर भगतसहितको समूहले चिठ्ठा पर्‍यो भन्दै सम्पर्क गरी ठगी गर्ने गरेको थियो । पक्राउ परेका नेपाली युवाले भने कर प्रयोजनकालागि भन्दै गिरोहले मगाएको पैसा बुझेर भारत पूर्‍याउने भरियाको काम गर्दै आएका थिए ।

‘भारतमा बसेर चिठ्ठा पर्‍यो भन्दै ठगी गर्नेहरुले चिट्ठाबापतको रकम प्राप्त गर्न कर प्रयोजनका लागि भन्दै पहिले पैसा पठाउन लगाउथे’ मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने ‘भारतबाट गिरोह चलाएकाले पक्राउ परेका नेपाली युवालाई रकम बुझ्न लगाउथे ।’ मनि ट्रान्स्फर एजेन्सीमार्फत पैसा पठाउन लगाएर विराटनगरबाट निकाल्दै भारत पुर्‍याएवापत नेपाली युवाले १ हजार रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म कमिसन पाउँथे ।

पक्राउ परेकाहरुले भारतबाट पैसा पर्‍यो भन्दै सम्पर्क गर्ने र कर र बैंक खाता खोल्ने प्रयोजनका लागि पहिले पैसा पठाउनुपर्ने भन्दै २५ हजार देखि ७५ हजार रुपैयाँसम्म माग्ने गरेका थिए ।

ठगीमा परेकाहरुको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले पाँच भारतीयसहित ९ जनालाई पक्राउ गरेको थियो । तर दुई भारतीय नागरिकको संलग्नता नदेखिएपछि प्रहरीले तीन भारतीयसहित ७ जनालाई मात्र मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानका क्रममा बुधवार पक्राउ परेका भारतीय नागरिक अमित कुमार, रविन कुमारसाहलाई संलग्नता नदेखिएपछि बिहीबार छाडिएको छ ।

कसरी समातियो गिरोह ?

केही महिनायता चिठ्ठा पर्‍यो भन्दै ठगी गर्नेहरुको सञ्जालको अनुसन्धान गरिरहेको प्रहरीले बुधबार दिउँसो आइएमईमार्फत रकम निकाल्ने व्यक्तिलाई पिछा गर्दै विराटनगर हाटखोलाबाट पक्राउ गर्‍यो ।

चिठ्ठा पर्‍यो भन्दै ठगी गरेको ३५ हजार रुपैयाँ निकालेर भारत पुर्‍याउन गएका युवाको पिछा गर्दै पुगेको प्रहरीले सीमावर्ती क्षेत्र विराटनगरको रानीस्थित होटल हयातबाट पाँच भारतीयलाई नियन्त्रणमा लिएको थियो ।

गिरोहका नाइके अरु नै छन् या तीन भारतीय मात्र हुन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीन भारतीय नागरिक नै एउटा गिरोह भएको प्रहरीको दाबि छ । नेपाली युवालाई भने सम्बन्धका आधारमा साथी बनाउदै पैसा निकाल्न प्रयोग गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment