Comments Add Comment

‘लैंगिक हिंसाको मुख्य कारण वैदेशिक रोजगार’

९ मंसिर, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले लैंगिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्स भएको औंल्याएका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सका केही सकारात्मक पक्ष भएपनि नकारात्मक पक्ष धेरै भएका र त्यसमध्ये लैंगिक हिंसा प्रमुख रहेको तर्क गरे । ‘वैदेशिक रोजगारीले हाम्रो समाज र परिवार छिन्नभिन्न भएको छ’-मन्त्री बरालले भने-वैदेशिक रोजगारीले परिवारमा श्रीमान श्रीमतीलाई अलग बनाएको छ,यसकै जडबाट विवाह इतरका सम्बन्धहरु स्थापित हुन जाने र पछि गएर घरेलु हिंसा,झैझगडा आदि निम्तिने गरेको छ ।’

विदेशमा गएर पसिना बगाएर पठाएको रेमिट्यान्सको रकम घरमा रहने श्रीमान वा श्रीमतीहरु मध्ये कैयौंले परिवारलाई ढांटेर मोजमस्तीमा दुरुपयोग गर्ने गर्दा समाजमा लैंगिक हिंसा बढेको मन्त्री बरालले तर्क गरे ।

वैदेशिक रोजगारीका कारण महिला मात्र नभई कैयौं पुरुषहरु पनि हिंसामा परेको उल्लेख गर्दै मन्त्री बरालले लैंगिक हिंसा अन्त्यका लागि वैदेशिक रोजगारीमा जाने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

रेमिट्यान्समा आधारित अर्थतन्त्र भरपर्दाे पनि नहुने बरु जोखिमयुक्त हुने भएकाले युवा युवतीलाई विदेश जानबाट रोकेर स्वदेशमै रोजगारी सिर्जना गर्न संघ, प्रदेश र स्थानीय सरकारले साझा एजेण्डा बनाउनुपर्नेमा जोड दिए ।

सबैभन्दा बढी रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका विश्वका ५ मुलुकभित्र नेपाल पनि परेकाले यो अवस्थामा सुधार गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मन्त्री बरालले बताए ।

परिवारमा हुने लैंगिक हिंसाको अर्को कारण आर्थिक पक्ष भएको औंल्याउंदै मन्त्री बरालले आर्थिक रुपमा महिला र पुरुष दुबै आत्मनिर्भर बन्न जरुरी रहेकोमा जोड दिए । आर्थिकरुपमा आत्मनिर्भर र स्वतन्त्र हुनसक्ने मात्र हिंसाको प्रतिवाद हुन सक्ने उनले बताए ।

मन्त्री बरालले गोष्ठी, सेमिनार र र्‍याली गरेर मात्रै हिंसाको अन्त्य हुन नसक्ने भन्दै धार्मिक मान्यतामा आधारित परम्परागत रुढिवादी सोंच बदल्न आग्रह गरे । उनले शिक्षा, सीप र सशक्तिकरणका माध्यमबाट जुनसुकै हिंसाको अन्त्य गर्न सकिने सुझाए ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले १६ दिने अभियानले मात्रै लैंगिक हिंसा अन्त्य गर्न नसकिने स्पष्ट पार्दै सबैले आफ्नो घरबाटै हिंसा अन्त्यको सुरुअात गर्नुपर्ने बताए ।

उनले महिला र पुरुष दुबैमाथि हिंसा भएकाले दुबैले साझा प्रतिवद्धता गर्नुपर्नेमा जोड दिए । सामाजिक विकास मन्त्रालयले सुरु गरेको १६ दिने अभियानको उद्घाटनका अवसरमा गैर सरकारी संस्था महासंघ प्रदेश ५ का सचिव गोविन्दप्रसाद रेग्मी,पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम लगायतले लैंगिक हिंसाको अन्त्यले मात्रै समाज सभ्य र सुसंस्कृत बन्नसक्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment