Comments Add Comment

मेची क्षेत्र पर्यटन महोत्सवको तयारी तीव्र

२१ मंसिर, काठमाडौं । इलाममा पुस ५ गते देखि १६ गतेसम्म हुन लागिरहेको ‘मेची क्षेत्र पर्यटन महोत्सव’को नेपाल र भारतका विभिन्न सहरहरुमा प्रचारलाई तीव्र बनाइएको आयोजकले जनाएको छ ।

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सवबारे नेपाल, भारतलगायतका स्थानहरुमा प्रचार प्रचार भइरहेकोले ५० हजार पर्यटक इलाम पुग्ने दावी गरेको छ ।

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिकी कोषाध्यक्ष दिब्या भट्टराईले महोत्सवको तयारी र प्रचार नेपाल तथा भारतका विभिन्न सहरहरुमा पनि भइरहेकोले अपेक्षा गरेअनुरुपको पर्यटक इलाम घुम्न र महोत्सव अवलोकन गर्न आउने बताइन् ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले समृद्धीको आधार भनेकै पर्यटन रहेकाले महोत्सव साविक मेची अन्चलका पाँचथर, ताप्लेजुङ, झापामा पनि क्रमिक रुपमा आयोजना गरिने जानकारी दिए ।

उनले काठमाडौं नजिकका पोखरा, चितवनजस्तै मेची क्षेत्रभित्र पनि आकर्षक पर्यटन गन्तब्यहरुको रहेकाले प्याकेजकै रुपमा पर्यटकहरुलाई घुम्न आउन निम्ता गरे ।
महोत्सवको प्रचार तथा प्रवर्द्धन भारतको सिक्किम, दार्जिलिङ साथै पश्चिम बंगाल क्षेत्र र नेपालमा विभिन्न स्थानहरुमा भइरहेकाले अपेक्षा गरेअनुरुपकै पर्यटक भित्रने उनले बताए ।
महोत्सवको अन्तिम दिन अर्को वर्ष यस्तै महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।  महोत्वको प्रचारका लागि मेची क्षेत्रका ५० बढी ब्यवसायी कलकत्ता जाने पनि उनले जानकारी दिए ।

साहित्यकार राधेश्याम लेकालीले प्राकृतिक सुन्दरताका हिसाबले इलाम उत्कृष्ट गन्तब्य भएकाले साहित्यक सिर्जन र घुमफिरका लागि उपयुक्त गन्तब्य भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधव चौंलागाईले सिमित स्थानको मात्र पर्यटन प्रवर्द्धन भइरहेकाले कुना कन्धराका गन्तब्य स्थलहरुको पहिचान गरी महोत्सव आयोजना गर्न सुझाव दिए ।

महोत्सवको अवसरमा इलाममा स्थानीय उत्पादन र व्यावसायिक संस्थाका उत्पादनको एक सयवटा स्टल राखिने आयोजकले जनाएको छ ।  सो अवसरमा साहित्यिक कार्यक्रम, खेलकुद, स्थानीय पर्यटकीय स्थलको भ्रमण, मेची क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गर्न सकिने प्रयासका बारेमा पनि बहसहरु संचालन गरिने आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

करिब तीन करोड रुपैंयाँ बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सवमा ५० लाख बढी खर्च हुने आयोजक समितिले जनाएको छ । महोत्सवको प्रवर्द्धकका रूपमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति छन् ।

मेची क्षेत्रमा झापा जिल्लाभित्र केचनकवल, अर्जुनधारा, सतासीधाम, जामुनखाडी सिमसार क्षेत्रलगायतका पर्यटकीय स्थल छन् भने इलाममा सानी पाथिभरा, कन्याम, अन्तुडाँडा, माइपोखरी, गजुरमुखी, लारूम्वा, सिद्धिथुम्का, सलकपुर, छिन्टापु, टोड्के झरनालगायतका पर्यटकीय गन्तब्यहरु चर्चामा छन् ।

त्यस्तैगरी पाँचथरमा जोरपोखरी, सिलौती, हिलिहाँङ दरबार, छिन्तापु, तिम्बुङ पोखरी, पौवा भञ्ज्याङलगायतका गन्तब्यहरु छन् । ताप्लेजुङमा भने प्रसिद्ध धार्मिकस्थल पाथिभरा देवी मन्दिर, कंचनजंघा हिमश्रृंखला, तिम्बुङपोखरी, मिल्के जलजले क्षेत्रलगायतका स्थानहरु पर्यटकीय गन्तब्यका रुपमा चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment